free website hit counter

रोगभन्दा ठूलो चिन्ता नपालौं

beemaadmin
२०७६ चैत्र २५, मंगलवार

नारायण गाउँले

इटाली, स्पेन, अमेरिका र फ्रान्समा हजारौं व्यक्तिको ज्यान गयो । बेलायतमा पनि पाँच हजार बढ़ीले ज्यान गुमाइसके । झट्ट सुन्दा यो चित्र निकै डरलाग्दो हुँदो रहेछ । मलाई चीन र इटालीको खबरले यस्तै डर लाग्थ्यो । विशेष गरी हस्पिटल र स्वास्थ्यकर्मी कसरी जुध्दै होलान् भन्ने कल्पनाले मनमा त्रास उत्पन्न गर्थ्यो ।
खबर पढेर जति डर लाग्छ, लौ सबै थोक सकियो कि जस्तो लाग्छ, तर वास्तविक जीवन भने त्यति नै डरलाग्दो चाहिँ हुँदैन रहेछ । हामी दुबै संयोगले बेलायतको हस्पिटलमा काम गर्छौं । जीवन पहिलेजस्तो त अवश्य छैन तर बाहिरबाट देखिने जस्तो कहाली लाग्दो पनि छैन । लकडाउन छ तर दिनमा एकपल्ट हिँड्न, दौड़िन या एक्सरसाइज गर्न बाहिर निस्किन पाइने हुनाले सड़कमा मान्छेहरू आफ्नै गतिमा हिँडेका देखिन्छन् । किनमेल गर्न या घरबाटै गर्न नसकिने कामका लागि आवत जावत गर्न पाइन्छ । अलि भीड़भाड़ बाहेक अरूलाई पुलिसले रोकेर फाइन गर्ने अभ्यास यहाँ छैन, सम्भव पनि छैन । अत्यावश्यक काममा जानेहरूलाई असुविधा नहोस् भनेर बस र रेलहरू चलेका छन् । खाद्यान्न, तरकारी र औषधि बेच्ने सबै पसल खुला छन् । ब्याङ्क, हुलाक र कुरियरहरू चलेका छन् । यहाँ प्रायः सरकारी काम टेलिफोन या हुलाकबाट हुन्थ्यो, अहिले पनि हुन्छ । हुलाकबाट हुने काम झन छिटो हुँदो रहेछ । प्रायः किनमेल अनलाइन नै हुन्थ्यो, त्यो आज पनि जारी छ । ताजा फलफूल, दूध, तरकारी, खाद्यान्न बरु शुरूका केही दिन नपाइने हो कि भन्ने थियो, अहिले जताततै पाइन्छ । मैले शुरुमा पूरा मूल्य तिरेर तीन बोरा चामल किनेँ, अहिले आधा मूल्यमैं ुसेलुमा छ । सड़कमा मान्छेले बाक्लै मास्क लगाएको पनि देख्न पाइन्न । फेसबुकमा जस्तो त्रास देखिन्छ, घरबाहिर निस्किँदा त्यो कत्ति महसुस हुँदैन ।
यहाँ स्वास्थ्यसेवा निःशुल्क भएकाले परीक्षण र उपचार सरकारको दायित्व हो । लक्षण देखिए एक कल फोन गरेपछि कामबाट सजिलै बिरामी बिदा पाइन्छ । कम्पनी सानो भयो र तलब दिन सकेन भने सरकारले दिन्छ । घरमैं आइसोलेशनमा बसेकाहरूले एक कल फोन गरेपछि स्वयंसेवकहरूले आवश्यक खाद्यान्न पसलबाट घर ल्याइदिन्छन् । प्रायःले इष्टमित्रबाट यो काम चलाएका छन् ।
सरकारी अधिकारीहरू पक्कै आत्तिएका होलान् तर हस्पिटलदेखि सड़कसम्म आम नागरिकमा त्यस्तो अत्याहट अनुभव हुँदैन । यस्तो लाग्छ, मान्छेलाई केही थाहै छैन । कति मान्छे भाइरसबाट सङ्क्रमित भएर पनि निको भइसके । ती काममा फर्किसके । केही लक्षण देखिएर अहिले घरभित्रै छन्, हामी दुईजस्तै ।
जति समृद्ध देश भए पनि एकैपल्ट हजारौँ मान्छे बिरामी भएपछि सेवा पुऱ्याउन सजिलो नहुने रहेछ । भएको यत्ति हो । अरू बेला प्रयोग नै नहुने सङ्ख्यामा भेन्टिलेटर र आइसियु बेड कसैले बनाएको हुँदैन । भेन्टिलेटरमात्रै भएर भएन, बेड(स्पेस चाहियो, जनशक्ति चाहियो । औसतमा आवश्यक पर्ने जति यहाँ पनि थियो । तर अहिले आवश्यकता ह्वात्तै बढ़ेपछि अप्ठेरो भएको छ, यत्ति हो । सङ्क्रमण दर सुस्त हुने हो भने स्वास्थ्य संस्थाले यसलाई सजिलै म्यानेज गर्न सक्छन् ।
विश्वभर सत्तरी हजार मान्छेको मृत्यु हुनु पक्कै दुःखद हो तर यो तीन महिनाको जोड़ सङ्ख्या हो । त्यसै पनि हरेक दिन विश्वमा सरदर एक लाख पचास हजार मान्छेको मृत्यु हुने रहेछ । निमोनिया वर्शौंदेखि त्यसै पनि मृत्युको ठूलो कारण हो । सर्पले टोकेर मात्रै एक वर्षमा एक लाख पैंतीस हजार मान्छेको मृत्यु हुँदो रहेछ । कोभिड़(१९ बाट मृत्यु हुनेको सङ्ख्या बढेको छ तर अन्य कारणबाट हुने मृत्युको सङ्ख्या घटेको पनि छ । विश्वमा सरदर मृत्यु उस्तै छ ।
उपचार र रोकथामका लागि अनुसन्धान र परीक्षण जारी छ । धनी देशले ठूलो रकम विश्वविद्यालयका लागि छुट्याएका छन् । ठूला पब्लिक कम्पनीले पनि रिसर्च गर्दै छन् । भ्याक्सिन या कुनै औषधि आउँदा त्यसमा खर्च जोडिने भएकाले अलि महँगो होला तर त्यो धनी देशले नै महँगोमा किन्नेछन् । नेपालजस्तो देशसम्म जाँदा यसको लागत उठिसकेर यो सस्तो हुन्छ या तिनै धनी देशले अनुदान दिन्छन् । किनकि आफ्नो देशमा मात्रै निर्मूल भएर यो समस्या समाधान हुँदैन ।

(फेसबुकबाट)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार