free website hit counter

खाद्य संकटसँग जुध्न यसाे गराैं

beemaadmin
२०७७ बैशाख ९, मंगलवार

विश्वव्यापी कोरोना संक्रमणको कारण हाम्रो देशपनि लकडाउनको अवस्थामा छ | नेपालमा खाध्य आपूर्ति गर्ने भारत, चीन, बंगलादेश लगायतका देशमा समेत खाध्य संकट आउने अवस्था छ | तसर्थ हामीहरुले सम्भावित खाद्य संकटबाट बच्नको लागि पूर्व तयारी आजदेखि नै गर्नु अपरिहार्य छ |
सरकार, प्रदेश तथा स्थानीय निकायले कृषि उत्पादनको लागि बिशेष कार्यक्रम ल्याएर बाँझो जमिनमा अनिबार्य खेती गर्ने प्रबन्ध मिलाउनु पर्दछ | धान, मकै, गहुँ, जौं, कोदो, फापर, तोरी, मसुरो, मास, रहर, चना, केराउ, सिमी, बोडी, चिनो, हरियो सागसब्जीदेखि प्याज, लसुन, अदुवा, हलेदो, फलफुल, मह, मासु तथा दुग्धजन्य पदार्थ उत्पादन गरेर देशलाई आत्मनिर्भर बनाउन जरुरी छ |
सरकारले वडा कार्यालय मार्फत बिउ, मल, किटनाशक औषधि आदिको ब्यबस्था गर्नुपर्दछ | साथै उत्पादन भएका पदार्थलाई बजारमा पुर्याउने योजना हरेक कृषकलाई जानकारी दिनुपर्दछ | कृषि बिमाको अबिलम्ब ब्यबस्था गर्नुपर्दछ |
सहरमा भएको खेतीयोग्य जमिनको खण्डिकरण रोक्ने, घर नबनेका घडेरीमा केहि न केहि खेती गर्नुपर्ने तथा करेसाखेती, कौसी खेती, छत खेती तथा कोठाभित्र समेत गमलामा केहि न केहि लगाउन सुरु गर्नु पर्दछ | यसले खेती गर्न सबैलाई प्रेरणा जगाउने छ |
‘ कौसी खेती कसरी गर्ने ?
कौसी खेतीको लागि विभिन्न प्रकारका भांडाहरूको उपयोग गर्न सकिन्छ । माटोको गमला, विस्कुटका खाली टिन, आधा काटिएका ड्रम, मालसामान प्याक भएर आएका काठका बाकस, पुराना बोरा र प्लाष्टिका थैला | यी भाडाहरूको साइज र आकार फरक हुन सक्दछन् । त्यसैले लगाइने तरकारीको बोटको फैलावटका आधारमा भाडोको छनौट गरिनु पर्दछ । साधारणतया ३० से.मी. देखि ४५ से.मी. ब्यास भएको गमला वा प्लाष्टिकको थैला, बोरा बढी व्यावहारिक देखिन्छ । यी भांडाहरूको पिंधमा पानी निथ्रेर जाने स–साना प्वालहरू हुनु आवश्यक छ । प्लाष्टिकको थैलाको हकमा पंचिङ मेशिनले वा सुइरोले सिसाकलम छिर्ने ४–८ वटा प्वालहरू पार्नुपर्दछ ।
..
कौसीबारीमा बाली संरक्षण :
कौसी खेतीमा रासायनिक बिषादीको प्रयोग सकेसम्म नगर्नु राम्रो हुन्छ । परम्परागत तरिकाबाट तयार गरिएका बानस्पतिक विषादी प्रयोग गर्दा राम्रो हुन्छ । साबुन पानी र सुर्तीको झोलको प्रयोग गर्नु राम्रो हुन्छ । खरानी, साबुन पानी, बकैनो, निम आदिको झोल पनि प्रयोग गर्न सकिन्छ । पशुको मलमुत्र पनि प्रयोग गर्न सकिन्छ । केहि नलागेमा कम समयमै विष उडेर जाने र मानवको लागि सुरक्षित बिषादी सावधानीपूर्वक मात्र प्रयोग गरिनु पर्दछ । यदि बिषादि प्रयोगै गर्ने हो भन विषादी छरेपछि तोकिएको समयसम्म फलपूmल र तरकारी टिपेर खानु हुंदैन । – अरुण काफ्ले, कौसी खेती प्रबिधि

सागसब्जी लगाउँदा २ हप्तामा खान मिल्ने जस्तै तोरी, फापर, सर्स्युं, धनियाँ, बेथे आदिको साग, १ महिनामा खान मिल्ने रायो, चम्सुर, मेथी आदिको साग तथा खुर्सानी, गोलभेंडा, भण्टा, भेडे खुर्सानी, करेला, बोडी, सिमी, भिंडी, मुला, गाजर, चुकन्दर, प्याज, लसुन, लौका, घिरौंला, काँक्रो, रामतोरिया, स्कुस आदि कौसी, छत वा करेसाबारीमा लगाउन सुरु गर्नुपर्दछ | त्यस्तै गुन्द्रुक, मस्यौरा, सोयाबिन, अचार, छोप आदि बनाएर पछिको लागि स्टक समेत स्टक राख्नु बुद्धिमता हुनेछ |
सरकार तथा निजि क्षेत्रले कृषकको खेतबारीमा पुगेर उनीहरुको उत्पादन बजारीकरण गर्न अबिलम्ब सुरु गर्नुपर्दछ | आफ्नो उत्पादन ग्यारेन्टी बिक्रि हुन्छ भन्ने कृषकलाई विश्वास लागेमा उनीहरुले उत्पादन बढाउंदै जान्छन | सरकारले ठोस योजना ल्याउने हो भने नेपाल अन्नबाली, नगदेबाली, तरकारी, दल्हन, फलफुल, तेल, मह, गेडागुडी अण्डा, मासु, दुध तथा दुग्धजन्य पदार्थ आदिमा आत्मनिर्भर हुनसक्छ | कोरोनाले संसार बदल्यो, अब हामी बदलिनु जरुरी छ |

सम्बन्धित समाचार