कोरोना भाइरस (कोभिड–१९)नेपालको मात्रै होइन, विश्वव्यापीरूपमै समस्या छ । संसारका धेरै उन्नत र विकासशील राष्ट्रहरूले पनि अहिलेसम्म कोरोनाको औषधीय उपचार खोज्न सकेको छैन । बचाउका लागि प्रिभेन्टिभ मेजर्सहरू अपनाउँदा जुन देशले सुरूमा लकडाउनलाई महत्व दिएका थिएनन्, अहिले आएर उनीहरूले पनि अन्ततः लकडाउन नै संक्रमणलाई एउटा निश्चित सीमामा रोक्ने सर्वा्धिक उचित विकल्प हो भनेर स्वीकार गरेर अपनाउन थालेको देखिन्छ । यस अर्थमा भारत जसरी लामो समयको लकडाउन ग¥यो र त्यसैको हाराहारी नेपालले जसरी लकडाउन ग¥यो, यो अहिलेको विकल्पहीन उपाय हो । लकडाउनको पूर्ण परिपालनले नै यो संक्रमणको विस्तारलाई सीमित पार्न सक्दछ ।
संयोगवश हरेक मानिस यतिखेर आफ्नो परिवारसँग बस्न चाह्छन्, परिवारसँग बसेर विश्वव्यापी दुःख र सन्तापको घडीमा जीवन बाँच्ने उपायहरू अपनाउन चाहन्छन् । तर, परिस्थितिगत कारणले म लकडाउन घोषणा हुने बेलामा विराटनगरनजिक एउटा गाउँमा पुगेको थिएँ, जहाँ मेरो एउटा कृषि फर्म छ । म आफ्नो परिवारबाट टाढा यही छु । अहिलेको बेलामा म आफ्ना आफन्तहरूलाई मिस गरिरहेको छु । तर, म लकडाउनको पूर्ण पालन गरेको छु । जे–जे रेकोमेन्डेड कुराहरू छन्, जे–जे नगर्न भनिएको छ ती कुराहरू नगरेरै बसिरहेको छु ।
हेर्नुस्, मेरो कृषि फर्म छ यहाँ । जो चारैतिरबाट घेराबेराभित्र छ । यहाँ पूरै हरियाली छ, केही गाईवस्तुहरू छन्, केही भैंसी छन्, चराचुरूङ्गी छन् । मेरो आफ्नो सवारीको घोडा छ र १०–१२ वटा माछा पोखरीहरू छन् । सागसब्जी, तरकारीका केही क्रियाकलापहरू पनि मैले पहिलेदेखि नै सञ्चालन गरिआएको छु । दैनिक आवश्यकताका सम्पूर्ण कुराहरू मैले आफ्नै उत्पादनबाट उपयोग गरिरहेको छु । मैले खाने चामल, दाल, सागसब्जी, दुध, अण्डा, फलफूललगायत एउटा फर्ममा जेजति उत्पादन हुन्छ, त्यसैको प्रयोग गरेको छु । त्यसले गर्दा मेरो निर्भरता वा आजसम्म बजार जानुपरेको छैन । जे उपलब्ध छ, त्यसैमा मैले आफूलाई सीमित राखेको छु । आफ्ना आवश्यकताहरू त्यसैमा पूरा गरेको छु । बाहिरका मान्छे पनि यहाँ आइरहेका छैनन् र मेरो बाहिर जानुपर्ने कुनै काम पनि छैन । ३–४ जना भाइहरू यहाँ कार्यरत हुनुहुन्छ । उनीहरूसँग पनि सामाजिक दूरी कायम गरेर सबै जना आआफ्नो काम गरिरहनु भएको छ । सारांशमा भन्नुपर्दा मेरो लागि एक प्रकारले मेरो समय बडो प्रोडक्टिभ ढंगले बितिरहेको छ । मौसमी हिसावले अहिलेको दिन लामो भएपनि मेरो व्यवस्तताका कारण दिन छोटो भएको देख्दछु ।
यो लकडाउन कुनै राजनीतिक पार्टीले गरेको आह्वान होइन अथवा विरोधको कुनै राजनीतिक कार्यक्रम पनि होइन । वास्तवमा राज्यले जनतालाई दिनुपर्ने सुविधाको सन्दर्भमा अथवा औषधोपचारको समुचित व्यवस्थाको सन्दर्भमा अथवा बाहिरबाट आयात गर्ने प्रक्रियाको सन्दर्भमा केही गल्तीहरू गरेको होलान् । जसको व्यापकरूपमा चर्चा परिचर्चा भइरहेको छ । तर, राज्यले जुन लकडाउनको घोषणा ग¥यो, यसको कुनै विकल्प छैन । तसर्थ, सरकारका कमी कमजोरीहरू आफ्नो ठाउँमा छ । तर, यो लकडाउनको घोषणा भनेको हाम्रो जीवन रक्षाका लागि भएकोले सबैले यसको परिपालन गर्नुपर्दछ । किनभने हामी भयावह तस्वीरहरू हेरिरहेका छौं । एक जना संक्रमित मानिसको हेल्चेक्र्याइँले गर्दा सयौंको संख्यामा मानिसहरू संक्रमित हुनसक्छन् । उदाहरणका लागि भारतमा एउटा ठूलो चर्चा देखियो निजामुदिन मस्जिदको । केही मान्छेको हेल्चेक्र्याइँ अथवा अज्ञानताले भारतको २६ वटा राज्य प्रभावित भयो र अर्बौंअर्ब रकम सरकारले अनाहकमा खर्च गनु प¥यो । तसर्थ, सबैले बडो जिम्मेवारीपूर्वक यो अवस्थाको गम्भीरतालाई बुझेर परिपालनका लागि उचित वातावरण बनाउनुपर्दछ ।
एकसे एक हैसियतवाला राष्ट्रहरू मानव बस्ती जसको लागि अपर्याप्त भएर जसले चन्द्रमा र मंगल ग्रहमा बस्ती बसाउने सोच राखेका थिए अहिले तिनीहरू यस प्रकोपका अगाडि पराजित भइसकेका छन् । अमेरिका जस्तो देश जसको अगाडि भारत अथवा भारतजस्ता देशहरू सीमितरूपमा प्रस्तुत हुने गर्दथे, अहिले अमेरिकाले क्लोरोक्विनका लागि भारतलाई सविनय अनुरोध गरेको अवस्था देखियो । हाम्रो देशले यस्तो महामारीसँग कसरी लड्ने भन्ने सोच नबनाएको मुलुक हो । तैपनि सरकारले लकडाउन घोषणा ग¥यो त्यो त ठिक छ । तर, पनि सरकारले अहिले गर्नुपर्ने अत्यावश्यक कामहरू छन्, गर्न सकिरहेको छैन । सरकारले गर्ने साना–साना कुराहरूमा अहिले विवाद उत्पन्न भइरहेका छन् । र यो विवाद एक पार्टीलाई सरकारबाट हटाएर कोही सत्तामा आउनका लागि गरेको जस्तो लाग्दैन । ती विवादहरूलाई हामी सर्वसाधारणको आँखाबाट हेर्दा बडो युक्तिसंगत विवादहरू छन् । सरकारले यी सबै कुराहरूमा गम्भीरतापूर्वक ध्यान दिनुपर्दछ । सरकारले केही राम्रा कामहरू पनि गरिरहेको छ । तर केही छुद्र कामहरूले गर्दा सरकारका सबै राम्रा कामहरूमा कालो पोत्ने काम भइरहेको छ । यस विषयमा सरकार बढी सचेत हुनुपर्दछ ।
पहिलो कुरा त हामीसँग यथेष्ट मेडिकल फेसिलिटिज छैन । अन्य देशहरू पनि यसका लागि कुनै तयारी गरेर बसेको थिएन । तर, सीमित साधनस्रोतबाट हामी सक्षम तयारीहरू जसरी गर्नु पर्दथ्यो त्यो भएन । सारा संसारले अन्तर्रा्ष्ट्रिय आवागमनलाई सरकारले रोक्न थालेकोमा पनि हामीले केही बचकाना हर्कतहरू ग¥यौं । हाम्रो देशलाई कोरोनारहित देश घोषणा गर्नुपर्दछ भन्ने जस्ता कुराहरू जिम्मेवार मन्त्रीहरूले गरे । हाम्रो सौभाग्य यो पनि हो कि यहाँ एउटा मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थल रहेको छ । तैपनि हामीले आवागमनलाई रोक्नका लागि ढिलाई ग¥यौं । जुन जनता भारतसँगको खुला सिमानालाई सिल गर्दा दुःख पाउनेवाला थियो, स्वयम् जनताले नै भन्न थालेका थिए कि सीमा सिल गर्नुपर्छ । तर, सरकार सीमा सिल गर्न ढिलाई ग¥यो । अहिले अचानक लकडाउन गरेपछि ठाउँ–ठाउँमा मान्छेहरू अड्किए । अब दारूण तस्वीर आइरहेको छ कि श्रमिक वर्गका मान्छेहरू ४००–५०० किलोमिटर पैदल हिंडेर आफ्नो घर आउन खोजिरहेका छन् । उनीहरूलाई खाना, समुचित वासको व्यवस्था छैन । सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको छ । सरकारले उद्योगहरूलाई निर्देशन दिएको छ कि तपाइहरूले आफ्ना कामदारहरूको जिम्मेवारी लिनुस् । तर यी कुनै पनि कुराहरू परिपालन भइरहेको देखिँदैन । यी सब कुराहरूलाई हेर्दा सरकारले एउटा पपुलिष्ट कुरा गर्नुभन्दा यसलाई कसरी व्यावहारिकरूपमा कार्यान्वयन गर्ने तर्फ ध्यान गएको छैन । यहाँनिर सरकार चुकिरहेको छ ।
भारतको दिल्लीकै उदाहरण लिउँ । दिल्ली विश्वकै सबैभन्दा ठूलो श्रम बजार हो । जहाँ करोडौं मानिस दैनिक ज्याला गरेर गुजारा गरिरहेका छन् । उनीहरूका लागि त्यहाँको सरकारले व्यवस्था गरेको छ । अस्थायी शिविरहरू बनाइएको छ । लाखौं मानिसहरूलाई बिना श्रम भोजन उपलब्ध गराइएको छ । केही उथलपुथल भएपनि थोरै समयमा यसलाई व्यवस्थित गर्यो । हामीले नेपालको कुरा गर्दा नेपाली जनताले नै दुई अर्बभन्दा बढी रूपैयाँ राहतका लागि दिइसकेको छ । सरकारी निकायहरूको तलब र बजेटबाहेक नेपाली जनताले दुई अर्बभन्दा बढी रकम उपलब्ध गराएका छन् । दुई करोड रूपैयाँ सरकारले दैविक प्रकोप राहत कोषमा राख्ने तर काठमाडौं ५–१० हजार मानिस खान नपाएर बरू मर्छु भनेर भोकभोकै हिंडेका छन् । यी कुराहरू त घोर अव्यवस्थाका कुराहरू हुन् । यी सबै कामहरूमा सरकार संवेदनशील भएर लाग्नुपर्दछ ।
प्रधानमन्त्री एउटा सक्रिय व्यक्ति त हुनुहुन्छ तर उहाँको स्वास्थ्य अवस्था पनि अत्यन्त कमजोर छ । एक त उहाँ आफ्नै रोगका कारण जोखिममा हुनुहुन्छ र यो कोरोनाबाट अझ उहाँ जोगिनुपर्ने अवस्था छ । त्यसले गर्दा प्रधानमन्त्री पूरै निर्भरता उहाँका कलिग मिनिस्टरहरूप्रति छ । कलिग मिनिस्टरहरू डेलिभरी गर्न सक्ने एक्टरको रूपमा प्रस्तुत गर्नुभन्दा पनि उनीहरू पोष्टर ब्वाइज जस्तो भएका छन् । त्यसले गर्दा देशको प्रधानमन्त्री नै फिजिकली इन्क्यापेबल भएको अवस्थामा मन्त्रीहरू जिम्मेवार नहुँदा प्रधानमन्त्रीको देशवासीको नाममा गरिएको सम्बोधन कार्यान्वयनमा यथेष्ट शंका उठ्नु स्वाभाविकै हो ।
हिजो जस्तो अब हामीले सबै कुरा केपी शर्मा ओलीजीलाई मात्रै हेरेर भएन । यो कुराकानीमा हामीले अधिकांश कुरा संघीय सरकारका बारेमा ग¥यौं । तर अहिले नेपालमा प्रादेशिक र स्थानीय सरकार पनि छन् । अब ठूलो जिम्मेवारी प्रादेशिक सरकारहरूको काँधमा पनि छ । तर, अहिले प्रादेशिक सरकार र स्थानीय तह कहीं देखा परिरहेको छैन । एउटा समन्वयात्मक तरिकाबाट प्रादेशिक सरकारहरूले पनि बढीभन्दा बढी भूमिका निर्वाह गर्नुपर्दछ । जनताले पनि यो भयावह परिस्थितिको मूल्यांकन गरेर सहयोगी भूमिका निर्वाह गर्नुपर्दछ ।