काठमाडौं । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिले नेपालमा पाइला हाल्दैछन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ आज नेपाल आउँदैछन्। शुक्रवार दिउँसो भारतको चेन्नई पुगेका सी आजै नेपाल आउनेछन्। सीको भ्रमणलाई लक्षित गर्दै काठमाडौं उपत्यकाभर सुरक्षा व्यवस्था कडा पारिएको छ।
चिनियाँ राष्ट्रपति सी दिउँसो करिब ४ः३० मा त्रिभुवन विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । उनले नेपालमा करिब १९ घण्टा समय बिताउनेछन् । भीभीआईपी चिनियाँ प्रतिनिधिमण्डललाई ताहाचलस्थित सोल्टी होटलमा बस्ने व्यवस्था मिलाइएको छ। सोल्टीमा केही समय विश्राम गरेपछि सीले बेलुकी ६ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटघाट गर्ने कार्यक्रम रहेको छ। भण्डारीले चिनियाँ राष्ट्रपति सीको सम्मानमा बेलुकी ७ः३० बजे सोल्टी होटलमा स्टेट डिनर आयोजना गरिएको छ ।
आजै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग सीको भेट हुनेछ भने आइतवार बिहान नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुप्पकमल दाहाल प्रचण्ड सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि करिब ११ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच द्वीपक्षीय वार्ता हुनेछ। त्यसक्रममा केही सन्धी/सम्झौतामा हस्ताक्षर हुने अनुमान गरिएको छ।
सी जिनपिङसँगको वार्तामा नेपालले मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्कलाई मुख्य एजेन्डा बनाउने तयारी गरिरहेको छ। रेल विभागका अनुसार चीनले ५० प्रतिशत अनुदान, २५ प्रतिशत ऋण र २५ प्रतिशत नेपालले लगानी गर्नुपर्ने प्रस्ताव गरेको छ। यो मोडालिटीमा नेपालले अझै आफ्नो जोखिम कम गर्न चाहेको छ। स्रोतका अनुसार ओली र सीबीच हुने बैठकबाट मोडालिटी टुंग्याउन खोजिएको छ। लगानी मोडालिटी तय नभए डिपिआर निर्माणको सम्झौंता हुनेछ। चिनियाँ आर्थिक र प्राविधिक सहयोगमा पूर्व सम्भाव्यता अध्ययन समेत भइसकेको छ। चिनियाँ कम्पनी फष्ट सर्भे एण्ड डिजाइन इन्स्ट्रिच्युटले करिव तीन महिना अध्ययन गर्दा केरुङ–काठमाडौं रेल परियोजना सम्भव देखाएको थियो।
चीनसँग सम्झौता गर्न चारवटा प्रस्तावमा तयार पारिएको बताइएको छ । जसअनुसार स्याफ्रुवेशी–वेत्रावती सुरुङमार्ग, लेगुवाघाट–किमाथांका सडक, टोखा–छहरे सुरुङमार्ग र तातोपानीसम्म पुग्ने सडकको प्रस्ताव तयार पारिएको हो।
नेपालले चीनसँग किमांथाकासम्म पुग्ने सडक स्तरोन्नतिका लागि आग्रह गर्नेछ। लेगुवाघाटदेखि किमाथांकासम्म पुग्ने सडकलाई डबल लेनमा स्तरोन्नती गर्ने प्रस्ताव समेत तयार पारिएको छ।
भ्रमणदलमा को–को ?
भ्रमण दलमा राष्ट्रपति सीसँगै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक ब्यूरोका सदस्य, केन्द्रीय सचिवालयका सचिव, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति कार्यालयका प्रमुख तिङ स्युए स्याङ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक ब्यूरोका सदस्य, केन्द्रीय वैदेशिक मामिला समिति कार्यालयका प्रमुख याङ च्ये छ, राज्य परिषद्का सदस्य एवव् परराष्ट्रमन्त्री वाङ यी, राष्ट्रिय राजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष एवम् राष्ट्रिय विकास तथा सुधार समितिका प्रमुख ह ली फङ लगायत सहभागी रहनेछन् ।
सुरक्षा व्यवस्था कडा
राष्ट्रपति सीको नेपाल भ्रमणको पूर्वसन्ध्या चारवटै सुरक्षा निकायले आफ्नो तयारी तीब्र बनाएको छ । राष्ट्रपति सीको सुरक्षाको लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुुसन्धान विभागका कर्मचारी तैनाथ रहनेछन् ।
गृह मन्त्रालयले तयार पारेको सुरक्षा योजना अनुसार भीभीआईपी सुरक्षाको पहिलो घेरामा नेपाली सेना रहनेछ । दोस्रो घेरामा प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरीको सुरक्षा घेरा रहने बताइएको छ ।