free website hit counter

कोभिड १९ बीमालेख : जोखिमको आर्थिक सुरक्षण

beemaadmin
२०७७ जेष्ठ २०, मंगलवार

महामारीको रूपमा देखापरेको कोरोना भाइरस (कोभिड १९)बाट प्रत्यक्ष वा परोक्ष रूपमा सबै क्षेत्र प्रभावित छन् र नेपालमा पनि यसको प्रभाव दिन प्रतिदिन बढ्दै छ । रोगको शङ्का लागेका व्यक्तिलाई हस्पिटलमा तथा क्वारेन्टाइनमा राखी उपचार प्रदान गरिँदै छ । यो रोगबाट सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका जो कोहीलाई पनि यो सर्ने सम्भावना रहेकाले सरकारद्वारा जो जहाँ जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा बस्न बन्दाबन्दी (लकडाउन)को घोषणा गरेको छ । पछिल्ला दिनमा सरकारले रोग सङ्क्रमणको परीक्षणको दायरा विस्तार गर्ने तथा अत्यावश्यक वस्तु तथा सेवाका क्षेत्रमा सावधानी अपनाई सञ्चालन गर्न निर्देशन दिएको छ ।
यसै परिप्रेक्षमा बीमा समिति र नेपाल बीमक सङ्घको संयुक्त प्रयासमा कोभिड १९ बाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्नका लागि कोरोना भाइरस (कोभिड १९) बीमालेख गत वैशाख ४ गतेदेखि लागू गरिसकेको छ ।
यो बीमालेख विशेष गरेर न्यून आय भएका वर्गलाई लक्षित गरी उनीहरूलाई बीमाको वा सामाजिक संरक्षणको दायरामा ल्याउने उद्देश्यका साथ लागू गरिएको हो । यस प्रकारको बीमा लघुबीमा व्यवसायसम्बन्धी निर्देशनबाट निर्देशित हुनेगरी ल्याइएको छ । विभिन्न सङ्घसंस्थामा काम गर्ने कर्मचारी, उद्योग कलकारखानामा काम गर्ने श्रमिक, निजामती कर्मचारी, सैनिक, प्रहरी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा अत्यावश्यक सेवामा संलग्न कर्मचारी एवं आमनागरिकका लागि यो बीमालेख लक्षित छ ।
हालको बन्दाबन्दीको अवस्थामा यो बीमालेख विद्युतीय माध्यम वा अनलाइनबाट पनि सरल र सहज रूपमा खरिद तथा विक्री वितरण गर्नसकिने व्यवस्था गरिएको छ ।
सामान्य अवस्थामा बीमालेख बिक्री वितरणको पहिलो माध्यम बीमा अभिकर्ता हुन्छन् तर यो बीमालेखमा अभिकर्ता कमिसनको अधिक भार पनि छैन । बीमा कम्पनीको मौजुदा लघुबीमा पुलमार्फत यो बीमालेख जारी गरिन्छ । यसमा महŒवपूर्ण कुरा के छ भने बीमितलाई कोरोना भाइरस लागेको पीसीआर परीक्षणबाट पोजेटिभ प्रमाणित भएमा बीमाङ्क बराबरको दाबी रकम भुक्तानी बीमकले गर्नुपर्ने छ । पहिलोपटक सङ्क्रमण देखिएको मितिले सात दिनभित्र दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।
बीमालेख खरिद गरेको मितिले १५ दिन प्रतीक्षा अवधि तोकिएको छ । बीमालेखको सर्तमा बीमित व्यक्ति तीन महिना नाघेको र ९९ वर्ष ननाघेको, नेपालभित्र बसोबास गरेको हुनुपर्ने सर्त राखिएको छ । यदि बीमित नेपालबाहिर गएको अवस्था छ भने त्यस्तो अवस्थामा यो बीमालेख निष्क्रिय हुने प्रावधान छ । बीमित विदेशबाट नेपाल फर्किसकेपछि प्रवेश गरेको १५ दिनपछि स्वतः यो प्रावधान पुनर्जागरण हुने व्यवस्था गरिएको छ । त्यसैले यो बीमा विश्वमा नै नमुना अभ्यासका रूपमा लिनसक्ने अवस्था छ ।
कोरोना भाइरसको जोखिमविरुद्धको बीमा बीमकको सामाजिक उत्तरदायित्व मनन गरी ल्याइएको हो । यो बीमाको दाबी भुक्तानी लिनका लागि बीमितद्वारा कुनै प्रकारको बील पेस गर्नुपर्ने आवश्यकता रहँदैन । त्यसैले यसको दाबी भुक्तानी झन्झटरहित तवरले प्राप्त गर्नसक्ने र त्यसका लागि केवल दर्तावाला चिकित्सकले प्रमाणित गरेको पीसीआर परीक्षण पोजेटिभ देखिने प्रमाण पेस गरे पुग्ने हुनाले पनि यो बीमालेख लोकप्रिय हुँदै गएको छ ।
यद्यपि कोरना भाइरको सङ्क्रमण देखिएमा औषधि उपचारको खर्च स्वयं सरकारबाटै बेहोर्ने व्यवस्था छ तर पनि देशको कुल जनसङ्ख्याको करिब २८.६ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको अवस्थामा त्यस्तो परिवारका एक सदस्य बिरामी पर्दा त्यसको कुरुवा, हेरचाह, यातायात, पौष्टिक आहाराका लागि हुने खर्च तथा बिरामी र परिवारको आर्थिक पक्षमा हुनसक्ने क्षति अधिक हुन्छ । त्यस्तो क्षति केही मात्रामा भए पनि कम गर्नसके यसबाट राहत पुग्ने विश्वासका साथ यो बीमालेख ल्याइएको हो । बीमाङ्क रकम बीमितलाई वा दाबी भुक्तानी नहुँदै बीमितको कोरना भाइरस सङ्क्रमणका कारण मृत्यु भएमा इच्छाइएको व्यक्ति वा कानुनी हकवालालाई दाबी भुक्तानी गरिने व्यवस्था गरिएको छ ।
दाबी भुक्तानी माग गर्दा बीमितले सात दिनभित्र बीमकलाई सूचना दिनुका साथै बीमितको नाम, सङ्क्रमण देखिएको सुरुको मिति, दाबी फाराम, दर्तावाला चिकित्सकद्वारा प्रमाणित कोरोना रोग पुष्टि भएको कागजात तथा विवरण बीमकसमक्ष पेस गर्नुपर्ने छ । यस बीमालेखको बीमा अवधि एक वर्षको हुनेछ । एकपटक दाबी परेपछि बीमालेख स्वतः खारेज (समाप्त) भएको मानिने छ तर पारिवारिक वा सामूहिक बीमालेख भएको अवस्थामा जुन व्यक्तिको नाममा दाबी पर्छ सोही व्यक्तिको अंश मात्र स्वतः निष्क्रिय हुनेछ तर अन्य सदस्यको हकमा बीमा अवधि बाँकी रहेसम्म यथावत् नै रहनेछ । एकपटक जारी भइसकेको बीमालेख बीमकले कुनै पनि कारण देखाई रद्द गर्न नमिल्ने प्रावधान छ । यस बीमालेखमा बीमाङ्कलाई क र ख श्रेणीमा छुट्याइएको छ ।क श्रेणीमा एक लाख रुपियाँ बीमाङ्क कायम भएको बीमालेख रहेको छ । यस श्रेणीअन्तर्गत व्यक्तिगत रूपमा बीमा गर्दा प्रतिव्यक्ति एक हजार रुपियाँ बीमा शुल्क कायम गरिएको छ । त्यस्तै एकाघर परिवारका सम्पूर्ण सदस्यको बीमा गरेमा प्रतिव्यक्ति छ सय रुपियाँ बीमा शुल्क लाग्ने व्यवस्था गरिएको छ । कार्यालयले आफ्नो कर्मचारीको वा परिवारको सामूहिक बीमा गरेमा प्रतिव्यक्ति छ सय रुपियाँ लाग्ने गरी बीमा शुल्क कायम गरिएको छ ।
ख श्रेणीमा ५० हजार रुपियाँ बीमाङ्क कायम भएको बीमालेख रहेको छ । यसअन्तर्गत व्यक्तिगत रूपमा बीमा गर्दा प्रतिव्यक्ति पाँच सय रुपियाँ बीमा शुल्क कायम गरिएको र एकाघर परिवारका सम्पूर्ण सदस्य वा कार्यालयले आफ्नो कर्मचारीको बीमा गरेमा प्रतिव्यक्ति तीन सय रुपियाँ बीमा शुल्क लाग्ने व्यवस्था छ । बीमा शुल्क निर्धारण गर्दा विगतको अनुभव, वर्तमान अवस्था र भविष्यमा पर्नसक्ने जोखिम आकलन गरिन्छ । यस बीमालेखमा पनि सोहीअनुसार बीमा शुल्क निर्धारण गरिएको हो । भारत र थाइल्यान्डमा पनि यस प्रकारको बीमालेख जारी भई कार्यान्वयनमा आइसकेको छ ।
यसबारे बीमकहरूसँग पर्याप्त छलफल गरी निम्न तथा मध्यम वर्गको व्यक्तिको आर्थिक क्षमतालाई समेत ध्यानमा राखी न्यूनतम दररेट कायम गरिएको छ । बीमकहरूले यस प्रकारको बीमाको २० प्रतिशत प्रत्यक्ष हिस्सा नेपाल पुनर्बीमा कम्पनीमार्फत पुनर्बीमा गर्ने व्यवस्था मिलाइएको छ भने बाँकी २० वटा निर्जीवन बीमा कम्पनीले ८० प्रतिशत बीमा शुल्क खर्चको केही अंश कट्टा गरी पुलमा जम्मा गर्ने व्यवस्था गरिएको छ । यस प्रकारको व्यवसायमार्फत बीमा कम्पनीले तोकिएको खर्च तथा दाबी भुक्तानीपश्चात् बचत रहेको रकमसमेत पुलमा जम्मा गर्नुपर्ने छ । यसबाट कुनै पनि किसिमको बोनस वा नाफा लिन नपाउने व्यवस्था छ । दाबी भुक्तानीपश्चात् बाँकी रहेको जम्मा रकम भविष्यमा महाविपत्ति स्वास्थ्य बीमा कोष खडा गरी राख्नेतर्फ नियमनकारी निकायले जोड दिँदै आएको र सोहीअनुसार बीमा कम्पनीसँंग छलफल पनि भइरहेको छ ।
कोरोना भाइरस बीमालेख बजारमा आएको करिब एक महिना मात्र भएको छ ।

सम्बन्धित समाचार