काठमाडौं । कोरोना कहरले थिलथिलो पारेको अर्थतन्त्रलाई प्राण भर्न सरकारले सहुलियतपूर्ण कर्जा प्रवाहको बाटो खोलेको छ । कोभिड–१९ का कारण समस्यामा परेका व्यवसायलाई तत्काल २ खर्ब रुपैयाँको सहुलियतपूर्ण ऋण प्रवाह हुने भएको छ । नेपाल राष्ट्र बैंकले बहुप्रतिक्षित पुनर्कर्जा कार्यविधि स्वीकृत गरेपछि पुनर्कर्जाको बाटो खुलेको हो । उक्त कार्यविधि अनुसार अब १ वर्षका लागि बैंकहरुबाट ३ देखि ५ प्रतिशत ब्याजदरमा ऋण पाइनेछ । त्यस्तो ऋणको शोधभर्ना राष्ट्र बैंकले गर्ने व्यवस्था छ । उक्त कार्यविधिमा पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा गरी ३ भागमा बर्गिकरण गरेको छ । यसअघि साधारण पुनर्कर्जा र विशेष पुनर्कर्जा गरी दुई भागमा मात्रै यसको बर्गिकरण हुन्थ्यो । पुनर्कर्जाको प्रकृति अनुसार ऋण रकम र ब्याजदर फरक फरक हुने व्यवस्था गरिएको छ ।
घरेलु तथा साना उद्यम पुनर्कर्जामा १५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराइनेछ । सो कर्जाबापत बैंकहरुले ऋणीसँग ५ प्रतिशत ब्याज लिन पाउनेछन् । विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जाको सीमा १० करोड रुपैयाँ तोकिएको छ । यद्यपि औद्योगिक व्यवसाय ऐन अनुसार प्राथमिकताप्राप्त उद्योगहरुका लागि २० करोडसम्मको पुनर्कर्जा प्रवाह गर्नसक्ने व्यवस्था गरिएको छ । विशेष पुनर्कर्जाको ब्याजदर ३ प्रतिशत र साधारण पुनर्कर्जाको ब्याजदर ५ प्रतिशत हुनेछ ।