काठमाडौं । मेगा बैंकको विशेष साधारण सभाले गण्डकी विकास बैंकलाई आफुमा गाभ्ने प्रस्ताव पारित गरेको छ। बैंकको बुधबार केन्द्रीय कार्यालय कमलादी काठमाण्डौं सम्पन्न विषेश साधारण सभाले गण्डकी विकास बैंकलाई एक बराबर एक शेयरको अनुपातमा गाभ्ने प्रस्ताव पारित गरेको हो। गत असोजमा मेगा बैंकले गण्डकी विकास बैंकलाई आफूमा गाभ्न सम्झौता गरेको थियो । विशेष साधारण सभाले संयुक्त मर्जर कमिटीले गरेका सम्पूर्ण एक्वायर सम्बन्धी सम्झौताको अनुमोदन गरेको छ भने पूँजी वृद्धि अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ। सभामा गण्डकी विकास बैंकलाई प्राप्ति पश्चात् मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथै शाखा सञ्चालनमा बृहत वृद्धि भई देशकै एउटा ठूलो ‘क’ वर्गको वाणिज्य बैंकको रुपमा स्थापित हुने अध्यक्ष भोजबहादुर शाहले बताए । साधारण सभामा बोल्दै मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले उत्कृष्ट व्यवसाय गरिरहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि मेगा बैंकको स्तर अझै बढ्ने बताइन। प्राप्ति पश्चात् मेगा बैंकको शाखा सञ्जाल ५८ वटा जिल्लामा फैलने भएको छ भने देशका २७ वटा क वर्गका वाणिज्य बैंक मध्ये मेगा बैंक निक्षेपका आधारमा ११ औं स्थान, कर्जाका आधारमा १२औं र मुनाफाका आधारमा ११औं स्थानमा रहने छ । गण्डकीलाई प्राप्ति गरेपछि मेगा बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड हुनेछ भने निक्षेप १ खर्ब २५ अर्ब भन्दा बढी र कर्जा १ खर्ब ९ अर्ब भन्दा बढी हुने छ । यसैगरी, मेगा बैंकको ग्राहक संख्या करिब ११ लाख हुनेछ भने शाखा संख्या २०६ वटा, एक्सटेन्शन काउन्टर ३० वटा, एटीएम १४२ वटा हुनेछन् ।
यसैगरी पोखरामा केन्द्रिय कार्यालय रहेको गण्डकी विकास बैंकको पनि बुधबारकै दिन सम्पन्न विशेष साधारण सभाले गण्डकीलाई मेगा बैंकले प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । ९६ वटा शाखा सञ्जाल रहेको गण्डकी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रहेको छ । दुबै बैंकको विशेष साधारण सभाले स्वीकृति दिएसँगै मेगा बैंकलाई गण्डकी विकास बैंक प्राप्ति गर्नका लागि बाटो खुलेको हो। यसै आर्थिक वर्ष भित्रमा गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको मेगा बैंकका अध्यक्ष शाहले जानकारी दिए।