काठमाडौं । परीक्षा सञ्चालनको मुखैमा आएर आचानक कोरोना संक्रमणको डरले रोकिएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसईई परीक्षा लिने विकल्प दिएको थियो । अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर पठाउनेछन् र त्यसकै आधारमा परीक्षा बोर्डले ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक गर्नेछ । परीक्षाका लागि ४ लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।
परीक्षा बोर्डले नै प्रमाणपत्र दिने
यस वर्षको एसईई परीक्षा सञ्चालन नहुने निर्णय भएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्डले नै प्रमाणपत्र दिने बताएका छन् । लामो समय विद्यार्थी तथा अभिभावकहरूलाई अन्यौलमा राखिराख्न उचित नभएकाले आवश्यक निर्णय गरिएको उनको भनाइ छ । माध्यमिक शिक्षाको कक्षा दशको अन्तिम परीक्षाका सम्बन्धमा दीर्घकालीन रुपमा व्यवस्थापन हुने तयारी भइरहेको समेत उनले जानकारी दिएका छन् ।