free website hit counter

रुकुम घटना : पूर्वयोजना मुताविक कुटीकुटी हत्या

beemaadmin
२०७७ जेष्ठ ३०, शुक्रबार

काठमाडौं । रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको बर्बरतापूर्ण घटना पूर्वयोजना अनुसारनै भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले उक्त प्रतिवेदन सार्वजनिक गरेको छ । रुकुम पश्चिम चौरजहारी–८, सोतीमा मल्ल थर भएकी प्रेमिकालाई लिन जाजरकोट भेरी–४, रानागाउँका नवराज विकसहितको समूहलाई गाउँलेले पूर्वयोजना अनुसार आक्रमण गरेको प्रतिवेदनमा उल्लेख । जाजरकोट भेरी नगरपालिका–४ का नवराज विकसहित १८ जना युवा प्रेमिका लिन जेठ १० गते सोती गए थिए । त्यहाँ पुग्दा स्थानीय ५०/६० जना समूहले पीडितलाई लखेट्दै भेरी नदीको किनारासम्म पु¥याएको र कुटपिट तथा आक्रमण गर्दा नवराज विकसहित ६ जनाको मृत्यु भएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । सो घटनाका सम्बन्धमा इन्सेकसहित मानव अधिकार संस्थाका प्रतिनिधिले जेठ १३ गतेदेखि जेठ १५ गतेसम्म घटनास्थलको अनुगमन, घटनाका घाइते, स्थानीय, घटनाका आरोपितका साथै सरोकारवालासँग भेटघाट तथा छलफल गरेका थिए । नवराज र उनकी प्रेमिका भनिएकी युवतीबीच २०७५ मा जाजरकोटको कुदुमा भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पहिलो भेट भएको थियो । प्रतिवेदनअनुसार त्यसयता उनीहरू नियमित सम्पर्क थिए । २०७६ मा जाजरकोटस्थित खलंगामा भएको मेलामा ती युवती चार दिनसम्म नवराजको घरमा बसेको बताइएको छ । ‘पहिलोपटक युवतीको घरमा जाँदा युवतीकी आमाले खाना खुवाएर जात नमिल्ने भन्दै नआउन आग्रह गरिन्,’ उक्त प्रतिवेदनमा भनिएको छ, ‘दोस्रो पटक चैत १७ गते युवतीको घरमा जाँदा वडाअध्यक्ष डम्बरबहादुर मल्ल, युवतीका दाइ विनोद मल्ल र परिवारका सदस्यले नवराजलाई कुटपिट गरी इलाका प्रहरी कार्यालय चौरजहारीमा बुझाएका थिए ।’ सोही बेला नवराजलाई इलाका प्रहरी कार्यालय चौरजहारीको हिरासतमा एक दिन राखिएको थियो ।
नवराजको गाउँदेखि सोती गाउँ पुग्न पैदल करिब दुई घण्टा ४५ मिनेटजति लाग्छ । नवराजसहितका साथी सोती गाउँमा जेठ १० गते साँझ करिब ५ः३० बजे पुगेका थिए । युवतीकी आमाले नवराजलाई चिनेपछि ‘तँ डुम फेरि तलाई आइस्, कुटाइ नपुगेको हो’ भनि गाली गरेको बताइएको छ । सो लगत्तै नवराजसहितका साथी युवतीको घर नजिकबाट फर्किए । उनीहरूले बाटोमा पर्ने बालकुमारी विश्वकर्माको घरको धारामा पानी खाएका थिए । सोही क्रममा सोतीका नाम थाहा नभएका स्थानीयले ‘कहाँबाट आयाैं बाबु हो काफल खाएर जाऊ’ भनि अल्मल्याएको देखिने इन्सेकले जनाएको छ । नवराजको समूहले उक्त अनुरोध अस्वीकार गरेर हिँडेका थिए । त्यहाँबाट उनीहरू सरासर बन्चरे भन्ने ठाउँस्थित मध्ये पहाडी लोकमार्गको माथिल्लो भागमा बसेका थिए । सोही ठाउँमा बसी रहेकै अवस्थामा गाउँलेको समूहले घरेलु हतियारसहित घेरा हाली आक्रमण गरेको प्रतिवेदनमा उल्लेख छ । ती गाउँलेले घेरा हालेर कुटपिट गरेका थिए । आक्रमणपछि भेरी–४, का २१ वर्षीय नवराज विक, सोही वडाका २१ वर्षीय सञ्जु विक, १७ वर्षीय गणेश बिएम, भेरी–११, का १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी–१, का २० वर्षीय टिकाराम सुनारको मृत्यु भएको थियो । उनीहरू सबैको शव भेरी नदीमा भेटिएको प्रहरीले जनाएको छ ।
पेट नफुलेको, पानी नखाएको, शरीर नसुन्निएको, टाउको तथा शरीरमा चोट लागेको अवस्थामा सबै शव भेटिएको इन्सेकले जनाएको छ । उक्त आक्रमणमा परि १२ जना युवासमेत घाइते भएका थिए । स्थानीय बालकुमारी विश्वकर्मालाई जनाउँदै इन्सेकले आक्रमण गर्दा घरेलु हतियार (हँसिया, कुटो र दाउरा) कुटपिट गर्दै भेरी नदीको किनारसम्म पुर्याएको जनाएको छ । घटनामा दोहोरो भिडन्त वा प्रतिकार नभएको समेत इन्सेकले जनाएको छ । पीडक भनिएका र यहाँका जनप्रतिनिधिले प्रतिकार गर्न खोज्दा घटना घटेको बताउँदै आएका छन् । उक्त आक्रमणमा सहभागी सोतीका स्थानीयमा चोटपटक नलागेको र घाइते पनि नभएको बताइएको छ । घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय सर्वदलीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने, जातीय विभेदका कारण हुने हिंसाविरुद्ध राजनीतिक दल, सञ्चार क्षेत्र, नागरिक समाजको एकीकृत पहलकदमी आवश्यक, घटनाका पीडित परिवारको सामाजिक सुरक्षाको प्रत्याभूतिका लागि राज्यको उपस्थिति र प्रभावकारी कार्यक्रम आवश्यककता हुने इन्सेक प्रतिनिधि मनिषा केसीले जनाइन् । उक्त घटनापछि विभिन्न छानबिन समितिले घटनाको अध्ययन अनुगमन गरिरहेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार