वीरगञ्ज । तस्करी रोक्न सिमानामा खटिएको सशस्त्र प्रहरी अहिले आवतजावतमा कडाई गर्न थप सुरक्षा फौजका साथ खटेको छ । सशस्त्रको बाक्लो उपस्थितिले भारतीय नागरिक नेपाल प्रवेश गर्न पाएका छैनन् । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । त्यसक्रममा सशस्त्र प्रहरीले फायर खोलेको छ । सशस्त्रले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको परिचय खुलि सकेको छैन । घटनामा भारतीय पक्षका दुई जना र सशस्त्र प्रहरीका तीन जना घाइते भएको बताइएको छ । प्रहरीको हतियार खोस्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई पनि पक्राउ गरिसकिएको उनले बताए । प्रारम्भमा भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा विवाद गरेका थिए । उनीहरुलाई फर्काएको केहीवेरमा करिब एक सय जनाको टोली आएपछि विवाद बढेको बताइएको छ । बाराका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले भारतबाट तस्करी गर्न आएका मानिससँग सीमा क्षेत्रमा सशस्त्र प्रहरीको झडप भएको स्वीकार गरेका छन् । फाइल तस्बिर