काठमाडौँ । कोरोनाको सञ्जाल विस्तारसँगै मृतकको संख्या वृद्धि पनि भइरहेको छ । यो जटिल अवस्थाको संकेत पनि हो । कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्साको वीरगन्ज महानगरपालिका घण्टाघरस्थित अन्दाजी २५ वर्षीय पुरुष र बारा निजगढ –६ का योजना टोल निवासी ५ वर्षीय बालकको कोरोना संक्रमणले मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ । मृतक व्यक्तिको जेठ २८ गते वेवारिसे शव फेला परेको थियो । उनको जेठ ३० मा कोरोना पुष्टि भएको हो । त्यसैगरी मृतक बालकमा ज्वरो तथा श्वासप्रश्वासको समस्या भएपछि विरगन्ज हेल्थ केयर सेन्टरमा उपचाररत थिए । उनको शुक्रबार मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक, पाल्पाका एक, सुर्खेतका एक, कैलालीका एक, डोल्पाका एक, स्याङ्जाका एक, चितवनका एक, अर्घाखाँचीका एक, विरगञ्जका एक तथा पर्साका गरी १८ जनाको मृत्यु भएको छ ।