धादिङ । देशैभर कोरोना संक्रमितको ग्राफ उकालो लागिरहेको बेला राजधानी काठमाडौंसँगै जोडिएको र हिँडेरै राजधानी छिर्न सकिने छिमेकी जिल्ला धादिङमा कोरोना संक्रमित थपिने क्रममा छन् । धादिङ जिल्लाको सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाका २३ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंका निर्देशक डा. सागरराज भण्डारीका अनुसार संक्रमितमध्ये ५ जना महिला र १८ जना पुरुष रहेका छन् । संक्रमितहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु रहेको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले जानकारी दिए । संक्रमितहरु नीलकण्ठ नगरपालिका वडा नम्बर १ का २४, २६, ३५ वर्षीया महिला र २६,३२,२९ वर्षीय पुरुष गरी ६ जना, वडा नम्बर ४ का २३ वर्षीय पुरुष, वडा नम्बर ७ का ३८, ३२, २५, २२, ६२, ३२, ३२, ४७, ३० वर्षीय पुरुष गरी ९ जना र वडा नम्बर १४ का ३२, ३५ वर्षीया महिला र १८, २०, २५, ४१, ४५ वर्षीय पुरुष गरी ७ जना छन् । क्वारेन्टाइनमा रहेकाहरुको आरडीटी परीक्षणमा एन्टिबडी पोजिटिभ आएकाहरुको गत जेठ २९ गते स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । नीलकण्ठ नगरपालिकामा मात्रै संक्रमित संख्या ३८ पुगेको छ योसँगै धादिङमा संक्रमितको संख्या ८१ पुगेको छ । संक्रमित देखिएकामध्ये तीन जना निको भएर घर फर्किएका छन् भने अन्य उपचाररत छन् । संक्रमितहरुलाई स्थानीय तहहरुले आफ्नै आइसोलेसनमा राखेका छन् ।