काठमाडौं। जब जब सीमा सुरक्षामा समस्या आउँछ तब भारतले गोर्खा सैनिकको सहायता लिने गरेको छ । नेपालीलाई मात्रै भर्ति गर्ने गोर्खा सेनाले भारतका धेरै युद्धको नेतृत्व मात्रै गरेको छैन विजय समेत हालिस गरेको छ । अहिले २० जना भारतीय सैनिकको निधन भएको गलवान उपत्यकामा फेरि गोर्खा सैनिक तैनाथीको तयारी भइरहेको छ । जहाँ ५८ वर्षअघि भारत र चीनबीच युद्ध भएको थियो। ५८ वर्षअघि पनि त्यहाँ भारतीय सैनिकहरु मारिएका थिए तर गोर्खालीले छाडेपछि मात्र। सन् १९६२ को भारत चीन सीमा युद्धको प्रारम्भिक विन्दु गलवान उपत्यकामा त्यसबेला सुवेदार जंगबहादुर गुरुङको नेतृत्वमा गोर्खा रेजिमेण्ट खटिएको थियो। एक प्लाटुन चिनियाँ फौज गोर्खा रेजिमेण्ट बसेको ठाउँमा आई उनीहरुलाई धपाउन खोजेको र त्यसबेलाको हानाहानमा सुवेदार गुरुङ नेतृत्वको गोर्खा फौजले चिनियाँहरुलाई काटेर सोत्तर बनाई मारेको र कतिपयलाई भगाएको थियो। त्यसपछि ३०० चिनियाँ फौजले फेरि गोर्खा रेजिमेण्टको फौजलाई घेरे पनि उनीहरु त्यहाँबाट पछि हट्नु परेको थियो। चीनसँगको सीमा लडाइको शुरुवातको यो घटना यतिबेला भारतीयहरु सम्झन थालेका छन्। भारतबाट प्रकाशित हुने द वीकले बुधवारको संस्करणमा एउटा समाचार विश्लेषण प्रकाशित गर्दै गोर्खा रेजिमेण्टको त्यो बीरताको प्रसंसा गरेको छ। र, गोर्खा रेजिमेण्ट हुन्जेलसम्म चीनले कडा आक्रमण गर्न नसकेको सो क्षेत्रमा जब गोर्खा रेजिमेण्टको त्यहाँबाट अन्यत्र सरुवा भई अर्को भारतीय फौज पुऱ्याइयो त्यसपछि भएको लडाईंमा भारतीय सैनिकहरु मारिएको कुरा पनि सो समाचारमा उल्लेख छ।
भारतीय मिडियामा गोर्खा रेजिमेण्टलाई मनोबल उकास्ने खालका यस्ता समाचार प्रकाशित हुन थाल्नु र विदामा बसेका गोर्खा रेजिमेण्टका सैनिकहरुलाई नेपालबाट कामका लागि फर्काउन थाल्नुमा तालमेल देखिएको छ। यतिबेला भारतीय सेनाको गोर्खा रेजिमेण्टमा कार्यरत नेपालीहरुलाई तत्काल आफ्नो युनिटमा फर्कन आदेश जारी गरिएको छ। भारतीय सेनाको सो आदेशअनुसार नै कोरोना भाइरसको माहामारीमा आफ्नो परिवारको साथमा बस्न आइपुगेका गोर्खा रेजिमेण्टका सैनिकहरु भारत फर्कन थालेका छन्। रिटायर्ड गोर्खा फौजका व्यक्तिहरुलाई पेन्सन लिन सीमावर्ती भारतीय सहरका बैंकमा जान नदिए पनि भारतीय सुरक्षाकर्मीहरुले गोर्खा फौजमा हाल कार्यरत नेपाली फौजीहरुलाई भारत प्रवेशमा कुनै रोकटोक लगाएको छैन। यसमाथि पनि भारतले नेपालको सीमा मिचेको कुराले यतिबेला नेपाल र भारतबीचको सम्बन्ध निकै कमजोरमात्र होइन नाजुक अवस्थामा पनि पुगेको छ। अझ भारतका नेताहरु तथा सेनापति समेतले नेपाल र नेपालीलाई चिनियाँ उक्साहटमा लागेको आरोप लगाउंदै आएका छन्। यस्तो अवस्थामा भारतको सीमानामा चीनसँग लड्नका लागि जाने नेपाली गोर्खा फौजको मोराल कस्तो होला । के चीनसँग लड्न भारतलाई नेपाली र नेपाली मूलका भारतीय गोर्खा फौज नै चाहिने हो भने भारतले किन नेपाल र नेपालीको अपमान गर्ने र यसको सीमानामा दुख दिने काम गर्दछ भन्ने प्रश्न यतिबेला सबै नेपालीको मनमा उठेको छ। भारत र चीनका मिडियाको रिपोर्टहरु हेर्दा यो झडप दुई सेनाबीच हात हालाहाल र मुक्का मुक्कीबाट भएको हो।
विगत केही हप्तादेखि चीन र भारतबीच उनीहरुको सीमा क्षेत्रमा सैनिक उपस्थिति देखाउने एकप्रकारको होडजस्तै देखिएको थियो। दुबै देशको आक्रमक रबैयाका बीचमा सैनिक जनरलस्तरमा बार्ता पनि भए तर दुबै सैनिक जनरलहरु सहमतिमा आउन सकेनन् त्यसैको रिजल्ट सोमबारको मुक्का मुक्की, हानाहान भएको थियो।