‘एकका लागि सवै र सवैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भइ व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको सामाजिक, साँस्कृतिक र आर्थिक हितका लागि गरिने एकताबद्ध प्रयास नै सहकारी हो। सहकारी भन्ने बित्तिकै समान आर्थिक स्तर, इच्छा, रूचि र आवश्कता भएका तथा एउटा निश्चित भौगोलिक सिमाना भित्र बसोबास गर्ने वा समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसहरूले आपसि हितका निमित्त आर्थिक कारोबार गर्न स्थापित गरिएको सस्था भन्ने बुझिन्छ। सहकारी ऐन २०७४ को प्रस्तावना अनुसार देशका कृषक, कालिगढ, कम पूँजी वाल, निम्न आय वर्ग, श्रमिक, भूमिहिन तथा बेरोजगार वा सामाजिक कार्यकर्ताहरू मिलेर सर्वसाधारण उपभोक्ताको आर्थिक तथा सामाजिक विकासको लागी पारस्परिक सहयोग गर्न संचालन गरिने संस्था नै सहकारी हो। विश्वमा आधुनिक सहकारीको सुरूवात सन् १८४४ मा बेलायतबाट भएको हो र नेपालमा भने आधुनिक सहकारीको सुरूवात राणा शासनको अन्त्य पछि बि.स. २०१० बाट भएको हो।
सहकारी मुलुकको अर्थतन्त्रको खम्बा हो। अहिले नेपालमा करीब चौतिस हजार भन्दा बढी सहकारीहरु संचालनमा छन्। सहकारीले बार्षिक छ खर्ब रुपैया भन्दा बढी कारोबार गरिरहेको राष्ट्रिय सहकारी बिकास बोर्डले जनाएको छ। मुलुकको कुल गार्हस्थको उत्पादनमा सहकारी क्षेत्रको पाँच प्रतिशत योगदान रहेको छ। विपन्न वर्गका जनतालाई आर्थिक र सामाजिक रुपमा रुपान्तरण गर्नका लागि सहकारी उपयुक्त माध्यम भएको छ। गरिब, बिपन्न र बेरोजगार युवाहरुलाई कर्जा प्रदान गरेर साना तथा घरेलु उध्योग स्थापना गर्न प्रोत्साहन गरी सहकारीहरुले क्षमताले भ्याए सम्म रोजगारीका अवसर सिर्जना गरेर बेरोजगारी समस्या समाधान गर्न राज्यलाई सहयोग गरिरहेका छन्।
ब्यस्त दैनिकी जीवनमा समयको बचत गर्न सहकारीले अहम् भुमिका खेलिरहेको छ। बैकमा लाइन बसेर पैसा बचत तथा ऋण लिन झन्झटिलो हुने तर सहकारीले घरघरमै आएर सुविधा दिने भएकाले धेरैको सुख, दुःखको सारथी भएको छ, सहकारी। सहकारी श्रम, पूँजी, सिप, र समय परिचालनको माध्यम हो। सहकारीमा आवद्ध हुनु भनेको उध्यमशील बन्नु हो। सर्बसाधारण र कम आय भएका मानिसहरुलाइ बचत गर्न सिकाएर सहकारीले ब्यक्तिगत एवम् राष्ट्रिय पूँजी निर्माणमा योगदान गर्नुका साथै थोरै पैसाको लागी भौतारिनुपर्ने अवस्थाको अन्त्य गर्दै स्वलम्बन हुन पनि सिकाएको छ।
स्थानीय तह भनेको स्थानीय सरकार हो। स्थानीय तह र सहकारीको सम्बन्ध नंङ र मासु जस्तो हुनुपर्छ। राज्यको पहुच नपुगेको क्षेत्र, वर्ग र समुदायको उत्थानमा सहकारीले उत्कृष्ठ सेवा दिन सक्छ। स्थानीय तहले स्वयम् कुनै व्यवसाय वा नाफा मूलक कृयाकलाप गर्न मिल्दैन। स्थानीय तहले आफै गर्न नमिल्ने काम सहकारीको माध्यमबाट गर्न सकिन्छ। सामाजिक क्रियाकलापमा पनि सहकारीहरुले अग्रस्थानमा रहेर काम गरिरहकेका छन्। स्वास्थ्य शिविर, रक्तदान, छात्रबृति का अलवा बिपति र प्रकोपको बेला राहात बितरणमा पनि सहकारीहरुले उत्कृष्ठ योगदान गरेका छन्।
नेपाल सरकारले योजनाको काममा पेश्की दिने सिस्टम हटाएपछी उपभोक्ता समितिलाई आफ्नै लगानीमा काम गर्न गाह्रो परिरहेको अवस्थामा केहि सहकारीहरुले बिना ब्याज उपभोक्ता समितिलाई ऋण प्रदान गरी विकास निर्माणको कार्यमा सारथीको भुमिका खेलिरहेका छन्। त्यसैले स्थानीय तहमा दिगो विकास गर्न प्रत्यक्ष र अप्रत्यक्ष माध्यमबाट स्थानीय निकायहरुले सहकारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाउन आवश्यक देखिन्छ।
सरकारले सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा सहकारीलाई बिभिन्न ठूला परियोजनामा लगानी गर्न प्रोत्साहन गरेको छ। राजश्व संकलनले मात्र स्थानीय निकायको आर्थिक भार थाम्न सक्दैन त्यसैले स्थानीय निकायहरुले सहकारीहरुसँग सहकार्य गरी आम्दानीको स्रोत हुने भौतिक पूर्वाधारहरु निर्माण गर्न सके स्थानीय स्तरमा रोजगारी सृजना र पूँजी निर्माणमा बद्धि हुनुका साथै स्थानीय निकाय र सहकारीको सम्बन्ध अझ प्रगाढ हुन्छ।
सहकारी क्षेत्रले निर्माण गरेको पूँजी युवाहरुलाई व्यवसायिक बनाउने अभियानमा केन्द्रित गर्न सकेमा धेरै युवाहरु स्थानीय स्तरमै स्वरोजगार हुन्छ। स्थानीय तहमा रहेका बेरोजगार व्यक्तिहरूलाई उत्पादनमूलक सहकारीमा आवद्ध गराई स्वरोजगारमूलक व्यवसाय संचालन गरी रोजगार सृजना गर्न सकिन्छ। सहकारी मार्फत रोजगारी सिर्जना गरेर जोखिम र असुरक्षाका बावजुत बैदेशिक रोजगारीमा जाने युवाहरुलाई मुलुकभित्रै राख्ने हो भने यसबाट मुलुकको सम्पूर्ण गतिमा परिवर्तन आउछ।
सहकारीको आवश्यकता ग्रामीण र बिपन्न क्षेत्रमा बढी छ, फैलावट भने शहर र सुविधासम्पन्न क्षेत्रमा बढी छ। गाँउमा उत्पादन भएका पदार्थहरु शहरमा पुर्याएर सहकारी मार्फत गाँउ-शहर अन्तरसम्बन्ध मजबुत बनाउन सकिन्छ। केहि गलत ब्यक्तिको शिकारमा सहकारी र केहि गलत सहकारीको शिकारमा ब्यक्ति पर्ने घटनाले गर्दा बेला बेलामा समस्य पैदाहुने गरेको छ। ससाना बचतकर्ताहरुबाट बचत संकलन गरेर जोखिमका दृष्टिले गर्नै नहुने काममा गर्ने र बढी महत्वाकांक्षीका कारण केहि सहकारी असफल पनि भएका छन्। राम्ररी नियमन हुन नसक्दा सहकारीमा जानेर वा नजानेर धेरै खालका समस्याहरु देखापरेका छन्। सहकारी क्षेत्रमा सुधार ल्याउनका लागी संस्थाका सदस्यहरु दक्ष र जागरुक हुनुपर्दछ। सहकारीहरुमा देखा परेका र देखा पर्न सक्ने समस्याहरुलाई न्यूनिकरण गरी राज्यले व्यवसाय गर्ने लगानीको वातावरण निर्माण गरेमा मुलुकको समृद्ध अर्थतन्त्रमा सहकारीले महत्वपूर्ण भुमिका खेल्ने निश्चित छ।
(लेखक विपश्वी कृषि सहकारी लि. का अध्यक्ष हुनुहुन्छ)