free website hit counter

अकस्मात यसरी आयो अग्निको नाम

beemaadmin
२०७६ माघ ८, बुधबार

बजारको अनुमान छ– सभामुखमा प्रचण्डले पाखुरै सुर्किएर आफ्नो पूर्वसमूहका अग्नि सापकोटाको नाम अनुमोदन गराई छाडेको । तर, वास्तविकता फरक रहेछ, आइतबार अपराह्न बसेको नेकपा सचिवालय बैठकमा उहाँले अग्निको ‘अ’ पनि भन्न पाउनुभएन ।

प्रचण्ड, माधव नेपाल, वामदेव गौतमतिर पालैपालो हेर्दै प्रधानमन्त्री केपी ओलीले सानो स्वरमा भन्नुभयो, ‘तपाईंहरु सबै एक भएर आउनुभयो ! अब म के भनौं !’ यदि आफ्नो पूर्वपार्टीको घेराबन्दी र चरम दबाबमा नपरेको भए प्रचण्ड आफैँ पनि ‘भैगो त, सुवाषजीलाई नै गरौँ’ भन्नेमा पुगिसक्नुभएको थियो । तर, त्यसमाथि भैंसेपाटी गठबन्धनले ‘सभामुख जो भए पनि प्रस्तावक प्रचण्ड नै हुनुपर्छ’ भन्ने बल उहाँलाई दिइसकेपछि प्रधानमन्त्रीले सचिवालय बैठकमा धेरै केही बोल्नुभएन । भैंसेपाटी गठबन्धनका नारायणकाजीबाहेक चार भाइचाहिँ प्रचण्डले सभामुखको नाम फ्याट्टै भनिहाले हुन्थ्यो भन्नेमा थिए । तर, केपी ओलीले त्यो मौका दिनुभएन र भन्नुभयो, ‘…अग्नि सापकोटा †’ यसरी अग्निको नाम ओलीको मुखबाट प्रस्तावित भयो । त्यसमा ‘हुन्छ, हुँदैन’ भन्ने प्रश्नै उठेन । प्रस्ताव पारित भयो । बैठक सकियो ।

सचिवालयका ९ मध्ये सात जनाको एकमत थियो ‘शिवमायाको तरिका गलत भयो ।’ कुरा उठ्यो, ‘गलतमात्रै हैन, अति नै भयो ।’ माधवले भन्नुभयो, ‘अहिले उपाय निकाल्नुपर्यो । के गरेर हुन्छ उहाँको राजीनामा गराउनुप¥यो ।’ केपी र ईश्वरले यसबारे केही बोल्नुभएन । यदि निर्देशनविपरित शिवमायाले अन्तिम अवस्थासम्म पनि राजीनामा दिइनन् र पार्टीबाट प्रस्तावित उम्मेदवारले नोमिनेशन गर्न नपाउने स्थिति आयो भने के गर्र्ने ? सहमति जुट्यो, ‘अर्को उपाय खोज्ने ।’ अर्थात्, नेकपासँग अन्तिम र एक मात्र निर्दयी उपाय बाँकी थियो, निर्वाचन आयोगलाई समानुपातिकतर्फ शिवमायाको प्रतिनिधिसभा सदस्यको पद रिक्त भएको सूचना दिने ! यसपछि उपसभामुख पद स्वतः समाप्त हुन्थ्यो । त्यसो गर्नु अपमानको पराकाष्ठा हुने कारण त्यो बाटोमा जान नपरोस् भन्नेमा नेताहरु थिए । तर, अस्ति सोमबार शिवमायाले बिनाआनाकानी उपसभामुखबाट राजीनामा दिइन् । ‘अर्को उपाय’ तिर पार्टी लागेन ।

यसपछि संवैधानिक परिषद्को सदस्यसमेत हुने कारण उपसभामुखको महत्व र त्यससम्बन्धी अर्को चर्चा छ । नेकपाले शुरुमै जनमोर्चाकी एकमात्र प्युठानी सांसद दुर्गा पौडेललाई उपसभामुख बनाउन प्रस्ताव गरेको हो । तर, मोहनविक्रम सिंह, चित्रबहादुर केसीहरु यस्तो गर्न शुरुदेखि नै तयार भएनन् । उनीहरुले एउटामात्र सांसद, त्यो पनि उपसभामुख बनाएपछि भूमिकाविहीन हुने भन्दै अस्वीकार गरेका छन् ।

सरकारबाट उपेन्द्र यादव–बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी वहिर्गमित भएपछि भोलि हुने राष्ट्रियसभा निर्वाचनका लागि नेकपाले अर्को मधेसकेन्द्रित दल राजपासँग गठबन्धन गरेको छ । उपेन्द्र यादवहरु राजपाको भोट चोरेर प्रदेश २ मा कांग्रेससँगको गठबन्धनलाई सफल बनाउने रणनीतिमा छन् । यदि, त्यसो भएन, अर्थात् राजपाले नेकपासँगको गठबन्धनमा तलमाथि गरेन र पूर्वसहमति मुताविकका उम्मेदवार भोलि साँझ निर्वाचित भएमा पर्सि बिहानै राजपाको सिफारिसकी महिला सांसदलाई उपसभामुख बनाउने प्रक्रिया शुरु गरिने भएको छ ।

(जनअमास्था साप्ताहिकबाट)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार