free website hit counter

अन्यायविरुद्ध कानुनी उपचार खोज्दै दुई गायिका

beemaadmin
२०८२ असार १७, मंगलवार

काठमाडौं । अन्याय विरुद्धको अभियानमा लागेका गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् । उनीहरूले सामाजिक सञ्जालमा आफूहरूमाथि जथाभावी लेख्नेलाई कारबाही फास्ट ट्रयाकमा लगिदिन आग्रह गरेका छन् । साथै जाहेरी दिएका व्यक्तिहरूलाई हदसम्मको सजाय दिलाइदिन आग्रह गरेको एलिनाले बताइन् । उनले भनिन्, हामीलाई नै गृहमन्त्रीले बोलाउनु भयो । तिमीहरूलाई मैले के के गरिदिन सक्छु, आएर मसँग सल्लाह गर भन्नुभएपछि हामी उहाँलाई भेट्न मन्त्रालयमा पुगेका थियौं । गृहमन्त्रीलाई आफूहरूले जाहेरी दिएका व्यक्तिहरू कुनै पनि सोर्स लगाएर, कानून छलेर उन्मुक्ति नपाउन् भनेर आग्रह गरेको एलिनाले बताइन् । उनले थपिन्, विदेशबाट समेत मान्छे झिकाएर सजाय दिलाइदिनु पर्‍यो । जे पायो त्यही कमेन्ट गरेर, म्यासेज गरेर हामीलाई साह्रै दुःख दिए । संसारको जुनसुकै कुनामा भए पनि तीनिहरूलाई झिकाएर सजाय दिइदिनुपर्‍यो, सबक सिकाउनुपर्‍यो भनेर अनुरोध गर्‍यौं । साइबर क्राइमहरूलाई ठूलो र गम्भीर अपराधको रूपमा हेरिदिन पनि अनुरोध गरेको उनको भनाइ छ । साथै कसरी छिटो न्याय दिलाउने भन्नेबारे आफू गम्भीर रहेको समेत गृहमन्त्रीले बताएको एलिनाको भनाइ छ । गृहमन्त्रीको भनाइ उद्दृद गर्दै थपिन्, ढुक्क भएर जानू, कसैगरी पनि म छिटोभन्दा छिटो न्याय दिलाउँछु । करिब एक सातादेखि एलिना–समीक्षाले आफूविरुद्ध अभद्र कमेन्ट, म्यासेज गर्नेहरूको प्रोफाइल सामाजिक सञ्जालमा सार्वजनिक गर्ने अभियान चलाइरहेका छन् । एलिनाले हिजो साइबर ब्युरोमा गएर उजुरीसमेत दिएकी छन् । आफूमाथि अपाच्य शब्द प्रयोग गर्ने, नीजि जीवनमै असर गर्ने गरी टिप्पणी गर्ने, मानसिक स्वास्थ्यमाथि नै असर गर्ने खालका कमेन्ट गर्नेहरुलाई १० दिनको ब्रेक लिएरै संजालमा अभियान चलाएको एलिनाले बताएकी छन् । अब कानूनी प्रक्रिया र संजालको अभियान सँगसँगै अगाडि बढाउने मुडमा रहेकी एलिना आज समीक्षासँग गृहमन्त्रीलाई भेट्न समेत पुगेकी छन् ।

सम्बन्धित समाचार