काठमाडौं । लकडाउनकै बीचमा कतिपय विद्यालयहरुले अनलाइनबाट कक्षा सञ्चालन गरिसकेका छन् भने कतिपय विद्यालय लकडाउनसँगै ठप्प नै छन् । आफ्ना सन्तानको भविष्यका बारेमा चिन्ता जाहेर गर्दै स्कुल कहिले खुल्ला भन्ने अभिभावकको भावनालाई सम्बोधन गर्दै सरकारले टेलिभिजनबाटै कक्षा सञ्चालन गर्न लागेको हो । लकडाउनका कारण विद्यालय जान नपाएका कहिलेसम्म स्कुल जाने वातावरण बन्छ भन्ने सम्म पनि नभएका विद्यार्थीहरुका लागि सरकारले असार १ गतेदेखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने भएको छ । एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने भएको हो । भोलिदेखि टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम्मको पढाइ सुरु हुने र सोको तालिका समेत सार्वजनिक भइसकेको छ । असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुने छ । यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने छ । विद्यालयहरु तत्कालै खुल्ने अवस्था नरहेकाले वैकल्पिक विधिबाट पढाउन आवश्यक देखिएको हो ।