काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले मंसिर १६ गते जारी गरेको बीमा अभिकर्ताहरुको लाइसेन्स नविकरणका लागि बीमकहरुलाई जारी गरेको इजाजत पत्र नविकरण गर्ने निर्देशनमा कम्तिमा १ प्रतिशत बीमालेख नविकरण भएको हुनुपर्ने उल्लेख गरिएको छ । यो निर्देशनले दक्ष अभिकर्ता छनोटका लागि अभिप्रेरित गर्दछ । तर प्रथम चरणको अनलाइन परिक्षा पास गरी इजाजत पत्र लिएका अभिकर्ताहरुको इजाजत बिहीबारबाट म्याद समाप्त हुँदैछ । यस निर्देशनले बीमा क्षेत्रमा केही गर्ने सोचका साथ भर्खर प्रवेश गरेका अभिकर्ताहरुलाई भने निरुत्साहित बनाएको छ । दुई दिनको म्याद दिएर प्राधिकरणले जारी गरेको निर्देशन अनुसार कम्तिमा ७५ प्रतिशत अभिकर्ताको लाईसेन्स खारेज हुने अवस्था आएको छ । त्यसैगरी अभिकर्ताको लाइसेन्स विलम्ब शुल्क तिरेर ३ महिनासम्म नविकरण गर्न सकिने व्यस्था छ भने त्यसपछि त्यस्तो लाइसेन्स स्वतः रद्द हुने व्यवस्था गरिएको छ । यदि नयाँ लाइसेन्स लिनु परेमा झन्झटिलो, पेचिलो र खर्चिलो हुने हँुँदा नयाँ अभिकर्ताको आकर्षण घट्ने छ भने यस्तो विषम परिस्थितिमा बीमा व्यवसायलाई चलयामान बनाउने र दायरा बृद्धि गर्ने काम साँघुरिने सम्भावन देखिन्छ । यसकारण प्राधिकरणले यस निर्देशनलाई पुनर्विचार गर्न जरुरी छ । समग्र बीमकहरुको हित र अभिकर्ताहरुको सुरक्षा तर्फ पनि प्राधिकरणले ज्यान दिन जरुरी छ ।

अभिकर्ताको लाइसेन्स नवीकरण गर्न यस्तो छ नयाँ व्यवस्था
जीवन बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न कम्तीमा १ प्रतिशत बीमालेख नवीकरण भएको प्रमाण पेस गर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले आइतबार गरेको निर्णयअनुसार बीमा कम्पनीहरूलाई सो सम्बन्धी निर्देशन जारी गरेको हो । प्राधिकरणका अनुसार जीवन बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न बीमा नियमावली, २०८१ को नियम ४३ को उपनियम (१) को खण्ड (ख) बमोजिम एउटा बीमालेखमा नघट्ने गरी कम्तीमा १ प्रतिशत बीमालेख नवीकरण भएको प्रमाण पेस गर्नुपर्नेछ । त्यसैगरी, आईआरएमआईएस प्रणालीमा बीमा अभिकर्ताको व्यक्तिगत विवरण ९केवाईसी० स्पष्ट र बुझिने कागजात अपलोड गरी अद्यावधिक गर्नुपर्नेछ । बीमा अभिकर्ताको इजाजतपत्र नवीकरणका लागि बीमा नियमावलीको अनुसूची–७ बमोजिम नवीकरण दस्तुर १ हजार रुपैयाँ तथा नियमन दस्तुर ५०० गरी जम्मा १ हजार ५०० रुपैयाँमात्र लाग्ने प्राधिकरणले जनाएको छ । बीमा ऐन, २०७९ को दफा ९४ को उपदफा २ बमोजिम इजाजतपत्रको अवधिभित्र नवीकरण गर्न नसकेका बीमा अभिकर्ताले म्याद सकिएको अवधिदेखि ३ महिनाभित्र अनुसूची–७ बमोजिम विलम्ब शुल्क १ हजार रुपैयाँमात्र भुक्तानी गरी निवेदन पेस गर्न सक्नेछन् । बीमा ऐन, २०७९ को दफा ९५ बमोजिम इजाजतपत्रको म्याद सकिएको अवधिदेखि ३ महिनाभित्र इजाजतपत्र नवीकरणका लागि निवेदन पेस नगर्ने बीमा अभिकर्ताको इजाजतपत्र स्वतः खारेज हुनेछ ।