जीवन बीमा बिमित र बीमकबीचको लामो करार हो । जहाँ नियमित बीमा शुल्क तिरेर बीमालेखलाई सक्रिय बनाई बीमकले जोखिम बहन गर्दछ । कतिपय बिमितहरु तीन चार किस्ता वा वर्षको बीमा शुल्क तिरेपछि निस्क्रिय रहने अवस्था आउनसक्छ । आर्थिक अवस्थामा आउने उतारचाढाव, जीवनमा आइलाग्ने अनेकन समस्या तथा पारिवारिक समस्याका कारण समयमा किस्ता बुझाउने स्थिति नहुन पनि सक्छ । यस्तो अवस्थामा कुशल अभिकर्ताले सक्रिय भई निस्क्रिय भएका बीमालेखहरुलाई सक्रिय बनाउन हरप्रयास गर्नुपर्दछ र आफ्नो जिम्मेवारी पनि त्यहाँ देखाउनुपर्ने हुन्छ ।
व्यतित बीमालेखका ग्राहकहरुलाई कुनै पनि उपायबाट भेट गरेर बीमालेख सक्रिय बनाउने प्रयास गर्नुपर्दछ । यदि २ वर्षभन्दा बढीको बीमाशुल्क तिरिसकेको बीमालेख निस्क्रिय भएमा बाँकी शुल्क बुझाएर बीमालेख नै धीतोमा राखी ऋणको व्यवथा मिलाइदिँदा त्रिपक्षीय फाइदा हुन्छ । यदि त्यस्तो अवस्था नभएमा एक दुई दिनका लागि पैसा सरसापटी गरेर बीमा शुल्क बुझाई तुरुन्तै ऋण उपलब्ध गराइदिनु पर्दछ । यी कुराहरु ग्राहक वा बिमितहरुले बुझेका हुँदैनन् । र, बीमा अभिकर्ताको नियमित सम्पर्कमा पनि हुँदैनन् ।
कतिपय अवस्थामा चार पाँच वर्षको बीमा शुल्क तिरेर बिमितले उक्त पैसा माया मारेर बसेका हुन्छन् । त्यस्तो बेला अभिकर्ताले आफ्नो क्षमता प्रदर्शन गर्नु पर्दछ । त्यो क्षमता भनेको या त ऋण दिएरै भए पनि बीमालेख नियमित बनाउने वा बीमालेख समर्पण गरी समर्पण मूल्य बराबरको बीमाशुल्क हुने गरी बीमाङ्क रकम निर्धारण गरेर अर्को बीमालेख बिक्री गरिदिनु पर्दछ । वा त्यो भन्दा कम रकमको बीमालेख बिक्री गरी बाँकी पैसा फिर्ता दिँदा ग्राहकको गर्जो पनि टर्छ जोखिम बह पनि हुन्छ ।
यदि अभिकर्तासँग धेरै बिमित थिए तर हिजोआज नयाँ ग्राहक भेटिँदैनन् भने चिन्ता गर्नु पर्दैन । तपाईंले गरेको बिमितको २० देखि ३० प्रतिशत बीमालेख ल्याब्स वा निस्क्रिय भइसकेको हुन्छ । अब त्यस्ता बीमकको सूचि तयार पारी उनीहरुको सम्पर्क पुगी बीमालेख निस्क्रिय राख्दाको बेफाइदाबारे जानकारी गराई सक्दो छिटो बीमालेख सक्रिय गराउने वा समर्पण गरी अर्को बीमालेख सुचारु गर्नेतर्फ लाग्नुपर्छ । यस्तो अवस्थामा १०/१५ लाखको बीमालेख निस्क्रिय भएको छ भने त्यसैलाई समर्पण गरी त्यहीँबाट आएको पैसाले २५/३० लाखको बीमालेख शुरु गराउन सकिन्छ । जसले अभिकर्ताको व्यवसाय पनि चल्छ भने समय अनुसार बीमितको जोखिम बहनको दायरा बढ्छ ।