एजेन्सी । इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले सामाजिक सञ्जालमार्फत अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा चेतावनी दिएका छन्। उनले लेखेका छन्, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका ४७ वर्षदेखि इस्लामिक गणतन्त्रलाई ध्वस्त पार्न असमर्थ रहेको बताए। यो राम्रो स्वीकारोक्ति हो। म भन्छ( तपाईंले हामीलाई ध्वस्त पार्न सक्नुभएन, न त भविष्यमा पार्न सक्नुहुनेछ। यसअघि डोनाल्ड ट्रम्पले गत शुक्रबार भनेका थिए, इरानमा शासन परिवर्तन सबैभन्दा राम्रो कुरा हो। उनले अगाडि भनेका थिए, ४७ वर्षदेखि उनीहरू केवल कुरा गरिरहेका छन्। यसबिच हामीले धेरैको ज्यान गुमाएका छौँ। यो भनाइलाई इरानको धार्मिक शासन हटाउने सन्दर्भका रूपमा हेरिएको छ। यसैबिच अमेरिकाले इरानलाई आणविक सम्झौतामा पुग्न दबाब बढाउन मध्यपूर्वमा दोस्रो विमानवाहक जहाज पठाएको छ। खामेनीले यस विषयमा पनि सामाजिक सञ्जालमा लेखेका छन्, अमेरिकाले इरानमा युद्धपोत पठाएको भनी बारम्बार भनिरहेको छ। युद्धपोत पक्कै पनि खतरनाक कुरा हो। तर युद्धपोतभन्दा खतरनाक त्यो हतियार हो जसले त्यस्तो युद्धपोतलाई प्रहार गरेर समुद्रको तल पठाउँछ।