free website hit counter

अमेरिकी चुनावलाई प्रभावित पार्न इरानमाथि हमला

beemaadmin
२०७६ पुष २५, शुक्रबार

इरानमा समानान्तर दुई प्रकारका सेना छन् । एउटा रेगुलर सेना । यसभित्र स्थल, जल र वायुसेना गरी चार लाखभन्दा बढ़ी सदस्य छन् । यसले अन्य देशका आर्मीले झैँ देश र बोर्डरको रक्षा गर्छ । आमिर मौसभी हालका कमाण्डर हुन् ।

त्यसभन्दा माथि अर्को इस्लामिक क्रान्तिकारी सेना छ जसको काम मुख्यतः इश्लामिक शासनको रक्षा गर्नु हो । इश्लाम भन्नाले शिया ब्रान्च भन्ने बुझ्नुपर्छ । यसको पनि स्थल, जल र वायुजस्ता विभाग गरेर झन्डै एक लाख बीस हजार सदस्य छन् । यसका कमाण्डर मेजर जनरल होसेम सलामी हुन् । दुबै सेनाका परमाधिपति भने इरानका सर्वोच्च नेता अली खमैनी हुन् ।

यही इश्लामिक सेनाको एउटा सानो र महत्त्वपूर्ण ब्रान्च हो क्वाड्स फोर्स, जसको कमाण्डर थिए कासिम सुलेमानी । यो फोर्समा जम्मा १५ हजार जति सैनिक छन् र यसको मुख्य क्षेत्र सैन्य इन्टेलिजेन्स, छिमेकी देशमा इरानको प्रभाव विस्तार र विदेशमा शिया सरकार या मिलिशियालाई आर्थिक, टेक्निकल र सैन्य सहायता दिनु हो ।

सन् १९७९ सम्म इरानमा शाह वंशको राजतन्त्र थियो । दोस्रो विश्वयुद्धमा इरान निष्पक्ष भए पनि इरानको जर्मनीसँग परम्परागत व्यापार र मित्रवत् सम्बन्ध थियो । इरानी तेलको ठूलो भण्डार जर्मन नियन्त्रणमा नपुगोस् भनेर बेलायत र सोभियत सङ्घको संयुक्त फौजले १९४१ मा इरानमाथि कब्जा गरे । त्यहाँका राजा रेजा शाहलाई अपदस्थ गरेर उनकै छोरा मुहम्मद रेजा शाहलाई राजा बनाइयो । त्यो आक्रमणको उद्देश्य त्यस क्षेत्रमा जर्मनीविरुद्ध लड़िरहेको सोभियत सङ्घको सेनालाई निर्बाधरूपमा इरानी तेल भण्डारसम्म पहुँच र बेलायतलाई इण्डियासम्मको करिडोर कायम राख्नु थियो ।

दोस्रो विश्वयुद्धपछि मोहम्मद रेजा शाहले आफ्ना पिताले शुरू गरेका आर्थिक(सामाजिक सुधारका कार्यक्रमलाई निरन्तरता दिए । इरानले दोस्रो विश्वयुद्धताका कैयौं यहुदीहरूलाई शरण र नागरिकता समेत दियो । शिया राजतन्त्र भए पनि इरान अनेक अल्पसङ्ख्यक धर्म, कला र संस्कृतिले भरिपूर्ण सुन्दर र बलियो मुलुक थियो । शाह कालमा शुरू भएको औद्योगिकीकरण, सेनाको आधुनिकीकरण र व्यापक रूपमा स्कुल कलेजको स्थापनाले गर्दा इरान त्यस क्षेत्रमा बलियो शक्तिका रूपमा विकास भयो । त्यो बेलाको इरानको आर्थिक वृद्धिदर बेलायत, अमेरिका र फ्रान्सको भन्दा बढ़ी थियो । राजा फालिनुअघि सम्म इरान सेनाको सङ्ख्या र शक्तिका आधारमा विश्वको पाँचौं ठूलो राष्ट्र थियो ।

१९७९ मा भएको इश्लामिक क्रान्तिसँगै २५ सय वर्ष पुरानो पर्सियन राजतन्त्र पतन भयो र कट्टर इश्लामिक इरानको उदय भयो । आयतोल्ला खोमेनी सर्वोच्च नेता बनेसँगै उनले इरानको सेनामाथि अविश्वास गर्दै सम्भावित ुकूुबाट बच्न र इश्लामिक शासनलाई बल पुर्याउन समानान्तर सेना गठन गरे । जुन आजसम्म पनि छ । आयतोल्ला खमेनीको ज्ञढडढ मा मृत्यु भएपछि आजसम्म अलि खमैनी इरानको सर्वोच्च शासक छन् । राजा फालेर इरानले प्रजातन्त्र पाएन । अर्को तानाशाही पायो । रेगुलर सेना राजसंस्था हुँदाकै सेनाको निरन्तरता भएकाले अहिलेसम्म पनि त्यसमाथि शासकको पूर्ण विश्वास छैन भन्ने मानिन्छ ।

कासिम सुलेमानी रेगुलर सेनाका सेनापति थिएनन् । न उनी इश्लामिक आर्मीका सेनापति थिए । उनी इश्लामिक आर्मी अन्तर्गतको एउटा शाखाका कमाण्डर थिए । त्यहाँ उनको फोर्स जस्ता पाँचवटा ब्रान्च छन् र हरेक ब्रान्चमा उनीजस्तै कमाण्डर छन् । तर त्यो क्वाड्स फोर्सले रसिया, सिरिया, चाइना, उत्तरकोरिया, कतारजस्ता देशका सेनासँग सोझो सम्बन्ध कायम गरेर काम गर्ने हुनाले र छिमेकी देशमा प्रभाव कायम गर्ने जिम्मा पाएको हुनाले उनको उचाइ दिनप्रतिदिन बढ्दो थियो । उनले सिरियादेखि इराकसम्मका शिया मिलिशियालाई खुलेर सहयोग पुऱ्याएका थिए । मारिनुअघि पनि उनी सिरियाबाट इराकमा रहेका मिलिशियालाई सघाउन आएका थिए । अन्य सेनापति त छोडौं, इरानी राष्ट्रपति हसन रुहानीभन्दा उनलाई बढ़ी शक्तिशाली मानिन थालेको थियो । उनको जनस्तरमा बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय समर्थनले शायद केही सर्वोच्च नेतालाई असजिलो पनि भएको थियो ।

संयोग नै हुनुपर्छ, उनको मृत्युले जुन स्तरको हलचल र अशान्ति ल्याउने शङ्का थियो, त्यस्तो भएन । इरानले केही मिसाइल त आक्रमण गर्यो तर पूर्वसूचना दिएर । कोही पनि हताहत नहुने र कमभन्दा कम क्षति पुग्ने गरी भएको हमलाले जति धेरै शङ्का उब्जाएको छ त्यति नै प्रहारको पूर्व सूचना पाएर पनि अमेरिकाले एन्टीमिसाइल प्रविधिको प्रयोगै नगर्नु र भोलिपल्ट डोनाल्ड ट्रम्प यूटर्न हुनुले पनि आशङ्का थपेको छ । अन्तर्राष्ट्रिय समुदायले पनि सोचे जति कडा प्रतिक्रिया नदिनु आफैमा अचम्म लाग्दो छ । कतै एक तीरले अमेरिकी चुनाब र इरानमा खमैनीको वर्चश्वलाई निशाना बनाएको त होइन भन्ने केहीले अनुमान गरेका छन् ।

रेखीय विश्लेषणले सत्यसम्म पुग्न सकिन्न । सत्य के हो भन्ने सतही रूपमा भन्न गाह्रो छ । हामीजस्ता दुईचार पत्रिका, लेख र इतिहासका एकदुई पाना पढेर धारणा बनाउनेहरू त सत्यबाट धेरै टाढा हुन पनि सक्छौं । तर मध्यपूर्वको युद्ध उत्तेजना हाललाई मत्थर भएको जस्तो देखिन्छ, जुन हामी तेस्रो पक्षका लागि सबैभन्दा ठूलो कुरो हो ।

(नारायण गाउँलेको फेसबुकबाट)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार