काठमाडौं । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियममा थप कडाइ गरेपछि नेपाली विद्यार्थी तथा अस्ट्रेलियामा सञ्चालनमा रहेका शैक्षिक संस्थाहरू प्रभावित हुने चिन्ता बढेको छ ।
नयाँ व्यवस्थाअनुसार डिप्लोमा, ब्याचलर र मास्टर्स तहमा अध्ययनका लागि अस्ट्रेलिया जाने अन्तर्राष्ट्रिय विद्यार्थीले सामान्यतः आफ्ना परिवारका सदस्यलाई डिपेन्डेन्टका रूपमा लैजान पाउने छैनन् । त्यस्तै, अस्ट्रेलिया पुगेपछि कलेज वा विश्वविद्यालय परिवर्तन गर्ने विद्यार्थीले नयाँ विद्यार्थी भिसाका लागि अस्ट्रेलियाबाटै आवेदन दिन नपाउने व्यवस्था गरिएको छ । उनीहरूले भिसा आवेदनका लागि अस्ट्रेलिया बाहिर जानुपर्नेछ ।
नयाँ व्यवस्थाले अस्ट्रेलियालाई अध्ययन गन्तव्यका रूपमा रोज्ने विद्यार्थीको आकर्षणमा असर पार्न सक्ने अस्ट्रेलियामा कलेज सञ्चालन गरिरहेका शिक्षाविद्हरू बताउँछन् ।
सिड्नीस्थित अस्ट्रेलियन इन्टरनेसनल एकेडेमीका सञ्चालक सुवान्स साहका अनुसार परिवारका सदस्यलाई साथमा लैजान नपाउने र अस्ट्रेलिया पुगेपछि संस्था परिवर्तन गर्दा समेत देशबाहिर गएर भिसा आवेदन दिनुपर्ने व्यवस्थाले विद्यार्थीलाई अस्ट्रेलिया जाने निर्णय पुनर्विचार गर्न बाध्य बनाउन सक्छ ।
‘एक त परिवार ल्याउन नपाइने, अर्को यहाँ आएपछि कलेज परिवर्तन गरेर यतैबाट भिसा आवेदन दिन पनि नपाइने । यी दुवै कुराले विद्यार्थीलाई अस्ट्रेलिया आउने कि नआउने भनेर सोच्न बाध्य पार्छ,’ साहले भने ।
उनका अनुसार नयाँ व्यवस्था सुरुमा करिब १२ महिनाको अवधिमा क्रमशः लागू गर्ने भनिए पनि सरकारले अक्टोबर २ देखि एकैपटक कार्यान्वयनमा ल्याएको हो । अस्ट्रेलिया पुगिसकेका विद्यार्थीलाई समेत नयाँ व्यवस्थामा समेटिएकाले उनीहरूलाई संक्रमणकालीन ‘ग्रेस पिरियड’ दिनुपर्ने साहको भनाइ छ ।
‘नयाँ भिसा नियम नयाँ विद्यार्थीलाई मात्र होइन, पुरानालाई पनि लागू गरिदिए । कम्तीमा ग्रेस पिरियड दिनुपर्थ्यो,’ उनले भने, ‘यहाँ आइसकेको मान्छेलाई त्यस्तो दुःख दिनु हुँदैन ।’
अस्ट्रेलिया पुगेपछि कलेज वा विश्वविद्यालय परिवर्तन गर्नु विद्यार्थीका लागि असामान्य नभएको साह बताउँछन् । विषय नमिलेको, कलेजको अवस्था वा अध्ययनसँग सम्बन्धित अन्य कारणले विद्यार्थीले शैक्षिक संस्था परिवर्तन गर्दै आएका छन् ।
तर नयाँ व्यवस्थापछि संस्था परिवर्तन गर्नुपर्ने अवस्थामा नयाँ विद्यार्थी भिसाका लागि अस्ट्रेलियाबाहिर गएर आवेदन दिनुपर्ने भएकाले विद्यार्थीलाई थप आर्थिक तथा व्यावहारिक समस्या हुन सक्ने उनको भनाइ छ ।
देशबाहिर गएर भिसा प्रक्रिया पूरा गर्नुपर्ने अवस्थामा विद्यार्थीले बसाइ, घरभाडा तथा आफूले प्रयोग गरिरहेका सामान व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसले अध्ययनसँगै दैनिक जीवनमा समेत असर पार्न सक्ने देखिन्छ ।
विशेषगरी नेपालबाट अस्ट्रेलिया जाने धेरै विद्यार्थीले अध्ययनसँगै काम गरेर आफ्नो खर्च व्यवस्थापन गर्ने गरेका छन् । कतिपय विद्यार्थी परिवारका सदस्यसँगै अस्ट्रेलिया जाने र परिवारका एक सदस्यले काम गर्ने तथा अर्कोले अध्ययन गर्ने योजना बनाउने गरेका छन् ।
नयाँ व्यवस्थाले यस्तो योजनामा समेत असर पार्न सक्ने साह बताउँछन् ।
‘एक जना काम गर्ने, एक जना पढ्ने हुन्छ । तर अहिले नयाँ नियमले पूरा शिक्षा उद्योगमै ठूलो धक्का पारेको छ,’ उनले भने ।
यद्यपि एउटै विश्वविद्यालय वा शैक्षिक संस्थाभित्र रहेर उच्च तहको अध्ययनमा जाने विद्यार्थीले भने अस्ट्रेलियाबाटै आवेदन दिन सक्ने साहले बताए ।
नयाँ नीतिका कारण अस्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीको चासोसमेत घट्न थालेको साहको अनुभव छ । उनका अनुसार अहिले विदेशबाट नयाँ विद्यार्थी भर्नाका लागि आउने सोधपुछ निकै न्यून भएको छ ।
‘बाहिरबाट भिसा दिएको छैन । हाम्रो कलेजमा अहिले सोधपुछ शून्य छ,’ उनले भने ।
पछिल्लो नीतिगत कडाइसँगै विद्यार्थीले अस्ट्रेलियाको विकल्पका रूपमा क्यानडा, बेलायत, न्युजिल्यान्ड र जापानलाई समेत हेर्न थालेको उनले बताए ।
साह सन् १९९९ मा विद्यार्थी भिसामा अस्ट्रेलिया पुगेका थिए । काठमाडौं विमेन्स कलेजमा रसायनशास्त्र अध्यापन गरेका उनी अस्ट्रेलिया पुगेपछि सूचना प्रविधिको अध्ययनसँगै पार्टटाइम काममा संलग्न भए । स्नातकोत्तर तहमा अध्ययन गरेपछि उनले सोही विश्वविद्यालयमा कामसमेत पाए ।
सन् २००५ देखि २०१२ सम्म विश्वविद्यालयको बिजनेस विभाग प्रमुखका रूपमा काम गरेका साहले सन् २०१७ देखि आफ्नै कलेज सञ्चालन गर्दै आएका छन् ।
अस्ट्रेलियन प्यासेफिक इन्टरनेसनल कलेजका सञ्चालक गणेश केसी पनि नयाँ व्यवस्थाले नेपाली विद्यार्थीको संख्या घटाउन सक्ने बताउँछन् ।
उनका अनुसार पछिल्लो डेढ वर्षयता नेपालबाट अस्ट्रेलिया अध्ययनका लागि जाने विद्यार्थीलाई भिसा प्राप्त गर्न कठिन भइरहेको छ । त्यसमाथि परिवारका सदस्यलाई साथमा लैजान नपाउने व्यवस्थाले अस्ट्रेलियालाई अध्ययन गन्तव्यका रूपमा रोज्ने विद्यार्थीको आकर्षण थप घट्न सक्ने उनको भनाइ छ ।
‘अस्ट्रेलिया बहुसांस्कृतिक देश हो । एउटै देशका धेरै विद्यार्थी ल्याउनेभन्दा पनि विभिन्न देशका विद्यार्थीको मिश्रण छ । त्यही भएर नेपालीलाई भिसा कम नै थियो । नयाँ नीतिले त पढ्न आकर्षण नै घट्छ,’ केसीले भने ।
विद्यार्थीको आकर्षण घट्दा त्यसको प्रत्यक्ष प्रभाव अस्ट्रेलियामा कलेज सञ्चालन गरिरहेका शैक्षिक संस्थामा पर्ने उनको भनाइ छ ।
केसी विगत १८ वर्षदेखि अस्ट्रेलियाको शिक्षा क्षेत्रमा सक्रिय छन् । सन् १९९७ मा अस्ट्रेलिया पुगेका उनले फाइनान्स, शिक्षा तथा रियल–इस्टेटलगायत क्षेत्रमा काम गरेका थिए । पछिल्लो आठ वर्षदेखि उनी आफ्नै कलेज सञ्चालन गर्दै आएका छन् ।
उनको कलेजमा सूचना प्रविधि, किचन म्यानेजमेन्ट, हस्पिटालिटी, कन्स्ट्रक्सन र बिजनेस लिडरसिपलगायत १४ वटा कोर्स सञ्चालनमा छन् । उनका अनुसार प्रत्येक सिजनमा विभिन्न देशका करिब ३०० देखि ४०० नयाँ विद्यार्थी कलेजमा भर्ना हुने गरेका छन् । कुल विद्यार्थीमध्ये करिब ३० प्रतिशत नेपाली छन् भने बाँकी विद्यार्थी कोरियन, मंगोलियन, चिनियाँलगायत विभिन्न देशका छन् ।
‘भिसासम्बन्धी नीतिमा हुने परिवर्तनले नेपाली मात्रै नभई अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या र कलेजको समग्र गतिविधिमा समेत असर पार्छ,’ केसीले भने ।
अस्ट्रेलियाको शिक्षा क्षेत्र अन्तर्राष्ट्रिय विद्यार्थी तथा आप्रवासनसम्बन्धी सरकारी नीतिसँग प्रत्यक्ष रूपमा जोडिएको भएकाले भिसा नियममा हुने परिवर्तनले विद्यार्थी, शैक्षिक संस्था तथा शिक्षा व्यवसायमा प्रभाव पार्ने सरोकारवालाहरूको भनाइ छ ।