काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो।
इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।
नेप्सेले इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५०० रुपैयाँ कायम गरेको छ। इन्स्योरेन्सले फागुन २४ गते बाइसौँ वार्षिक साधारण सभा आयोजना गर्नेछ। सभामा हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ३२ लाख २२ हजार ९४७ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, शेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम गर्न प्रबन्धपत्र संशोधन गर्ने र संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ रहेको छ। बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ८ करोड १८ लाख रुपैयाँ पुग्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १२ गतेदेखि बुकक्लोज गरेको हो। यस अनुसार फागुन ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन सक्नेछन्। इन्स्योरेन्सको समायोजित मूल्यलाई आधार मानेर सोमबार शेयर कारोबार खुल्नेछ।