आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यो २१ नम्बर बीमा योजना बालबच्चालाई लक्षित गरेर ल्याइएको बीमा योजना हो । यस योजनामा बीमितभन्दा प्रस्तावक (अभिभावक) को भूमिका बढी हुन्छ । यस बीमा योजनामा भरखर जन्मेको बच्चादेखि १५ वर्षको व्यक्ति बीमित हुनसक्दछ भने प्रस्तावक कम्तिमा १६ वर्षदेखि बढीमा ६५ वर्षको हुनुपर्दछ । बीमा अवधि सकिँदा प्रस्तावकको उमेर ७० वर्ष कट्नु हुँदैन । बीमाको अवधि घटिमा १० वर्ष र बढीमा ३० वर्षको हुन्छ भने बीमितको परिपक्व उमेर १६ वर्षदेखि ३० वर्षसम्मको हुन्छ । यस योजनामा बीमाङ्क रकम रु. ५०,०००।– देखि माथिको गर्न सकिन्छ भने यदि २० लाख भन्दा माथिको बीमालेख खरिदमा प्रस्तावकको पनि उतिनै रकमको बीमा जरुरी हुन्छ । यस बीमा योजनामा बीमितको बीमा गर्नासाथ जोखिम वहन गरिँदैन । बीमितको उमेर १५ वर्षको भएमा एक वर्षपछिबाट जोखिम वहन गर्दछ भने कम उमेरको लागि बीमितको उमेर ६ वर्ष पुगेको वा दुइ वर्षको बीमाशुल्क भुक्तानी गरेको पछिल्लो घटनाक्रमबाट जोखिम वहन गर्दछ ।
यस बीमालेख अन्तर्गत रु. २५०,००० देखि रु. ४९९,९९९ सम्मको बीमाङ्कमा प्रतिहजार एक रूपैयाँ र रु. ५००,००० देखि माथि दुइ रूपैयाँ छुटको व्यवस्था गरिएको छ । बीमाशुल्क वार्षिक, अर्धवार्षिक र त्रैमासिक गरी बुझाउन सकिन्छ भने शुल्क बुझाउने तरिकाको आधारमा वार्षिकमा २ प्रतिशत र अर्धवार्षिकमा १ प्रतिशत छुटको व्यवस्था छ ।
रकम भुक्तानी दिइने अवस्थाहरू
बीमाको अवधि पूरा भई बीमित जीवितै रहेमा बीमाङ्क रकम र आर्जित मुनाफा बीमितलाई भुक्तान गरिन्छ भने जोखिम वहन भएपछि बीमा करारभित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम र आर्जित मुनाफा प्रस्तावक वा नजिकको हकवालालाई एकमुष्ट दिइन्छ । यदि बीमितको जोखिम वहन नहुँदै बीमितको मृत्यु भएमा बीमाशुल्क फिर्ता गरिन्छ तर अतिरिक्त शुल्कहरू (ADB, PTD, PWB) फिर्ता गरिँदैन । पूरक करारहरू भएमा एकैसाथ नियमसंगत रूपमा भुक्तान गरिन्छ ।
पूरक कराहरू
क. बीमाशुल्क मिनाह लाभ (Premium Waiver Benefit)
यो ऐच्छिक करार सुविधा हो तर अत्यावश्यक मानिन्छ । किनकी बीमाशुल्क प्रस्तावकले बुझाउने हुँदा प्रस्तावकको जोखिम वहन गरी बीमितलाई सुरक्षित पार्ने प्रमुख उपाय हो । १६ वर्ष नपुगेको बीमित र ७० वर्ष नपुगुञ्जेलको प्रस्तावकको मृत्यु भएमा दुर्घटनाको कारणले स्थायी अंगभंग भएमा पूरक करारको बीमाङ्क रकम वा बढीमा ५० लाखसम्मको मूल बीमालेखको सम्पूर्ण बीमाुशल्क मिनाह हुनेछ वा तिर्नु पर्दैन र बीमितले बीमाको अवधि पुगेपछि बीमाङ्क रकम र मुनाफा एकमुष्ट प्राप्त गर्दछ ।
ख. मासिक आम्दानी सुविधा (Monthly Income Benefit)
यस करार अनुसार पूरक करारको १ प्रतिशतको दरले बीमितलाई प्रत्येक महिना भुक्तानी गरिन्छ ।
ग. दुर्घटना मृत्युलाभ, स्थायी असक्तता यसै बीमा कम्पनीमा गरिएको बीमाङ्कहरूको योगफल समेत ५० लाख सम्मको उपलब्ध गरिन्छ । यो करार बीमा अवधिभरि वा बीमितको उमेर ३० वर्षसम्म प्रदान गरिन्छ । अतिरिक्त शुल्कहरू प्रतिहजार प्रतिवर्ष रु. १ देखि रु. ४ सम्म कायम गरिएको छ ।
– समर्पण/चुक्ता मूल्य र कर्जा सुविधा उपलब्ध छ ।
यस बीमालेखको प्रमुख आकर्षणहरूः
– बीमा गरेपछि प्रस्तावकको मृत्यु हुँदा वा दुर्घटनाबाट स्थायी असक्तता भएमा बीमितले बीमाशुल्क तिर्न नपर्ने (पूरक करार) ।
– बीमाको अवधि पुगेपछि पूरा बीमाङ्क रकम र मुनाफा भुक्तानी गरिने ।
– मासिक आय सुविधा लिन सकिने ।
– बीमित आर्थिक रूपमा सुरक्षित भई भविष्य उज्ज्वल हुने ।
नोटः यस बीमालेख अन्तर्गत बीमितले दुर्घटना लाभ लिन चाहेमा आफू १६ वर्ष पूरा भएको र बीमालेख जारी भएको मितिबाट अतिरिक्त शुल्क तिरेर लिन सकिने छ । र १६ वर्ष उमेर मुनिको व्यक्तिलाई उक्त सुविधा उपलब्ध छैन ।