काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल रिकन्डिसन अटो व्यवसायी संघबीच सहज, गुणस्तरीय तथा भरपर्दो निर्जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सम्झौता भएको छ।
एकान्तकुनामा आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी, उच्च व्यवस्थापन समूह तथा नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष प्रवीण लामिछाने, पूर्व अध्यक्ष र वर्तमान कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।
सम्झौताअनुसार नेपाल रिकन्डिसन अटो व्यवसायी संघसँग आबद्ध देशभरका सदस्य तथा व्यवसायीहरूको सम्पत्ति, सवारी साधनलगायत संघ तथा सदस्यसम्बद्ध संस्थाबाट बिक्री–वितरण हुने सम्पूर्ण सवारी साधनको बीमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समार्फत गरिनेछ।
बीमा गरिएका सवारी साधन दुर्घटनामा परी क्षति भएमा बीमितलाई सहज र सरल प्रक्रियाबाट दाबी भुक्तानी गर्ने व्यवस्था मिलाउने सहमति पनि भएको छ।
सम्झौता हस्ताक्षर कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल रिकन्डिसन अटो व्यवसायी संघ तथा संघमा आबद्ध व्यवसायी र ग्राहकलाई आइजिआई प्रुडेन्सियलबाट सबै प्रकारका निर्जीवन बीमा सेवा लिन आग्रह गरे।
उनले संघका सदस्य तथा ग्राहकलाई सहज र विश्वसनीय बीमा सेवा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको बताए।
त्यस्तै, संघका अध्यक्ष प्रवीण लामिछानेले आइजिआई प्रुडेन्सियलबाट प्राप्त बीमा सेवा छिटोछरितो र प्रभावकारी रहेको उल्लेख गर्दै कम्पनीसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे।
उनले संघसँग आबद्ध व्यवसायी तथा ग्राहकहरूलाई गुणस्तरीय बीमा सेवा उपलब्ध गराउन सम्झौताले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरूले आगामी दिनमा पनि सेवा आदान–प्रदानलाई निरन्तरता दिँदै सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
सम्झौता दुवै पक्षबीचको सहकार्यलाई मजबुत बनाउँदै रिकन्डिसन अटो व्यवसायमा आबद्ध व्यवसायी तथा ग्राहकलाई निर्जीवन बीमा सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यमा केन्द्रित रहेको जनाइएको छ।