काठमाडौं । अध्यक्षको टुंगो नलाग्दा धितोपत्र बोर्डमा थुप्रिएको आइपीओ निष्काशका फाइल बढ्नेक्रम जारी नै रहेको छ । नेपालको अध्यक्ष टुंगो नलागेमा कार्यवाहक अध्यक्ष नरेन्द्र कुमार रानाले नै आईपीओ निष्काशनको काम अगाडि बढाउने भएका छन्। अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिले अन्तर्वार्ताको मिति तोकेपछि कावा अध्यक्षले रोकिएका काम अगाडि बढाएका थिएनन्। तर दुई पटकको अन्तर्वार्ता पनि नियुक्ति प्रक्रिया अगाडि बढ्न नसकेपछि कावा अध्यक्ष राना रोकिएका काम सुरु गर्ने निर्णयमा पुगेका हुन्। बोर्ड सदस्य सुरकृष्ण बैद्यका अनुसार नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि नबढ्दा रोकिएका काम कावा अध्यक्षले नै पुन सुरु गर्ने तयारी छ। पूर्वअध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिएपछि अर्थ मन्त्रालयले गत जेठमा मन्त्रालयका सहसचिव रानालाई बोर्डको जिम्मेवारी दिएको छ। ५ महिनादेखि बोर्डबाट हुने काम हरु ठप्प भएपछि उनलाई शक्तिशाली कार्यवाहकको रुपमा बोर्ड पठाएको थियो। यता अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले अन्तार्वार्ता बोलाएपछि रानाले काम सुरु गर्न तत्काललाई रोकेका थिए। तर अब तत्काल अध्यक्ष नियुक्ति नहुने देखेपछि आईपीओ निष्काशनको काम सुरु गर्न लागेका हुन्। अहिले ३५ कम्पनीको आईपीओ पाइपलाइनमा रोकिन पुगेको छ।