काठमाडौं । समग्र बीमा व्यवसायलाई नै गलगाँडको विषय बनेको कोरोना बीमा दाबी गरेका बीमितहरुले दाबी भुक्तानी वापतको रकम पाउने भएका छन् । सरकारको दायित्वमा पर्न आउने रकम अर्थमन्त्रालयले निकास गरेपछि बीमितहरुले दाबी बापतको रकम पाउने भएका हुन् । अर्थमन्त्रालय स्रोतका अनुसार, सरकारको दायित्वमा पर्न आउने रकम मध्ये एक अर्ब रुपैयाँ निकास गर्ने निर्णय भएको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले पनि अर्थमन्त्रालयबाट रकम निकास गर्ने निर्णय भएको जानकारी गराएका छन् । कोरोना बीमा गरेका बीमितले लामो समयसम्म पनि दाबी भुक्तानी पाएका थिएनन्, सरकारले आफ्नो दायित्वमा पर्न आउने रकम निकास गरेपछि अब केही बीमितले दाबी भुक्तानी पाउनेछन् ।
कोरोना बीमा मापदण्ड अनुसार बीमा कम्पनीहरुले एक अर्ब रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब रुपैयाँ, बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट ५० करोड रुपैयाँ र बीमा समितिको तर्फबाट एक अर्ब रुपैयाँ भुक्तानी गर्ने व्यवस्था छ । त्यस भन्दा बढी दाबी परेमा सम्पुर्ण रकम सरकारले भुक्तानी गर्ने मापदण्डमा उल्लेख छ । मापदण्ड अनुसार निर्जीवन बीमा कम्पनीहरु, नेपाल पुनर्बीमा कम्पनी, बीमा समिति र बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट गरी कुल ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरिसकेका छन् । तर सरकारको दायित्वमा पर्न आउने रकम भने अहिलेसम्म निकास गरेको छैन् ।
बीमा समितिको पछिल्लो तथ्यांक अनुसार १४ अर्ब ९३ करोड ६६ लाख ८९२ रुपैयाँ कोरोना बीमा वापत दाबी परेको छ । त्यस मध्ये ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । कुल दाबी रमक मध्ये ७६।५९ प्रतिशत अर्थात ११ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ सरकारले भुक्तानी गर्नुपर्ने देखिन्छ ।