काठमाडौं । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ। आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर आशीर्वाद ग्रहण गरिँदै छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ। उत्तम साइत खोज्नेहरूका लागि समितिले बिहान १० बजेर २६ मिनेटको समय निर्धारण गरेको छ।
समितिका अनुसार विजयादशमीको टीका लगाउँदा टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्छ। धार्मिक परम्पराअनुसार दक्षिण दिशा पितृकर्मसँग सम्बन्धित भएकाले दसैँको टीका लगाउँदा दक्षिण फर्किने चलन छैन।
यद्यपि, परिवार र समुदायअनुसार टीका लगाउने विधि तथा परम्परामा केही भिन्नता हुन सक्छ।
धार्मिक परम्पराअनुसार देवी विसर्जनपछि टीका लगाउने क्रम सुरु हुन्छ। सबैभन्दा पहिले कुलदेवता र पितृदेवतालाई टीका चढाउने चलन छ। कतिपय स्थानमा घरको मूल ढोकामाथि टीका लगाउने परम्परासमेत छ।
दुर्गा पूजाका लागि स्थापना गरिएको कलशको जललाई पवित्र मानिन्छ। देवी विसर्जनपछि उक्त जलले अभिषेक गरी इष्टदेवता र कुलदेवताको स्मरण गर्दै जमरा काट्ने तथा टीका लगाउने चलन छ।
गुरुपुरोहितले पूजा स्थापना गरेको घरमा उहाँबाट टीका-जमरा ग्रहण गर्ने र अन्य अवस्थामा घरका मान्यजनबाट टीका लगाउने परम्परा छ। त्यसपछि परिवारका अन्य सदस्य तथा आफन्तबाट टीका र आशीर्वाद ग्रहण गरिन्छ।
विजयादशमीमा उत्तम साइत खोजेर टीका लगाउने परम्परा रहे पनि साइतकै कारण टीका लगाउन अन्योलमा पर्नु नपर्ने जानकारहरू बताउँछन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार बिहान घाम झुल्केपछि विधिपूर्वक मान्यजनबाट टीका ग्रहण गरेर टाढा रहेका आफन्तकहाँ टीका थाप्न जान सकिन्छ।
उनका अनुसार कामको व्यस्तता, यात्रा वा अन्य बाध्यताका कारण तोकिएको उत्तम साइतमा टीका लगाउन नसक्नेहरूले पनि मान्यजनबाट टीका-जमरा ग्रहण गर्न सक्छन्। विदेशबाट ढिलो गरी नेपाल आइपुग्नेहरूका लागि समेत साइत गुज्रिएको भन्दै अन्योलमा पर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।
विजयादशमीको टीका केवल शुभ साइतमा सीमित नभई परिवारका सदस्य तथा मान्यजनबाट आशीर्वाद लिने, पारिवारिक सम्बन्धलाई सुदृढ बनाउने र सांस्कृतिक परम्परालाई निरन्तरता दिने अवसरका रूपमा पनि लिइन्छ।