free website hit counter

आजदेखि सर्वसाधारणका लागि सानिगाड हाइड्रोको आईपीओ खुला

beemaadmin
२०८३ जेष्ठ १८, सोमबार

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आज (जेठ १८ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेको थियो।

कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने स्वीकृति पाएको थियो। सोमध्ये पहिलो चरणमा २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा ५ लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण गरिसकिएको छ।

Advertisement
Advertisement

त्यसैगरी, १ लाख ७१ हजार कित्ता शेयर कर्मचारीका लागि र २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।

Advertisement
Advertisement

अब सर्वसाधारणका लागि बाँकी रहेको ४६ लाख ७४ हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा बिक्री खुला गरिएको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आईपीओमा आवेदन दिने अवधि छिटोमा जेठ २१ गतेसम्म रहनेछ। यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार १ गतेसम्म लम्बिनेछ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्रएनपी–आईआर डबल बी माइनस’ (ICRANP-IR BB-) रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

सानिगाड हाइड्रोले निर्माण गरेको ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत् आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। विद्युत् उत्पादन अनुमतिपत्रको अवधि अझै २५ वर्ष ३ महिना बाँकी रहेको छ।

कम्पनीका अनुसार आयोजनाको साधारण लगानी फिर्ता अवधि ८.२५ वर्ष रहेको छ भने छुट (डिस्काउन्ट) दरमा गणना गरिएको लगानी फिर्ता अवधि १४.६९ वर्ष रहेको छ।

आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सम्हालेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत ‘सी–आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार