free website hit counter

आठ कम्पनीले पाए आइपीओ निष्काशनको अनुमति

beemaadmin
२०८२ पुष २३, बुधबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि धमाधम आईपीओ निष्कासन हुन थालेका छन् । बोर्डबाट स्वीकृति पाएका ८ कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न बाँकी छ । स्वीकृति पाएका यी ८ कम्पनीले पालैपालो आईपीओ निष्कासन गर्नेछन् । बोर्डबाट स्वीकृत पाएर निष्कासनका लागि बाँकी रहेका कम्पनीमा पाल्पा सिमेन्ट, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, शिखर पावर, सुपर खुदी हाइड्रोपावर, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, रिजलाइन इनर्जी र भुजुङ हाइड्रोपावर छन् । बोर्डबाट विवरणपत्र, बिक्री प्रस्ताव वा सम्बन्धित विवरण स्वीकृत भएको मितिबाट दुई महिनाभित्र संगठित संस्थाले धितोपत्रको बिक्री खुल्ला गरी सक्नुपर्ने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा उल्लेख छ । तसर्थ यी ८ कम्पनीले बोर्डबाट स्वीकृत पाएको २ महिनाभित्रै आईपीओ निष्कासन गरिसक्नुपर्छ। सम्बन्धित नियामक निकायले अन्यथा तोकेकोमा बाहेक संगठित संस्थाले जारी पूँजीको दश प्रतिशत भन्दा घटी र ४९ प्रतिशत भन्दा बढी नहुने गरी सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ गर्नुपर्ने व्यवस्था सो नियमावलीमा छ ।

सोलु हाइड्रोपावर

सर्वसाधारणलाई सबैभन्दा पहिले खुल्न लागेको आईपीओ हो– सोलु हाइड्रोपावर । कम्पनीले वैदेशिक रोजगारमा रहेका, प्रभावित स्थानीय, सामुहिक लगानी कोषलाई सेयर बाँडफाँट गरेसँगै अब सर्वसाधारणका लागि पुस २९ गतेदेखि खुल्दैछ । माघ ४ गतेसम्म आईपीओ निष्कासन गर्दैछ । कुल ८२ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुनेछ । यस कम्पनीले सोलुखुम्बुमा ८२ मेगावाटको तल्लो सोलु जलविद्युत् आयोजना बनाएको छ । प्रतिमेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँको अनुमान छ । असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ५३ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी ४।४५ रुपैयाँ छ ।

सुपर खुदी हाइड्रोपावर

आयोजना प्रभावित लमजुङका स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई सुपर खुदी हाइड्रोपावरको आईपीओ हाल खुलिरहेको छ । कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । कम्पनीले लमजुङमा २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत् आयोजना बनाएको छ । जसको प्रतिमेगावाट लागत २० करोड ६९ लाख ३८ हजार रुपैयाँ छ । त्यस्तै प्रतिसेयर आम्दानी ४.४५ रुपैयाँ छ । ४६ करोड ५३ लाख रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीले जनाएको छ । केयर रेटिङ नेपालबाट बीबी रेटिङ पाएको छ ।

पाल्पा सिमेन्ट इन्डस्ट्रिज

तानसेन ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको पाल्पा सिमेन्टले असोज २५ देखि पाल्पा तथा नवलपरासी पश्चिमका स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई सेयर निष्कासन गर्दैछ । कम्पनीले पहिलो चरणमा यो सेयर निष्कासन गरेलगत्तै सर्वसाधारणका लागि खुलाउने छ । कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्नेछ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३५.७४ रुपैयाँ छ । अंकित मूल्य १ सयकै दरमा कम्पनीले आईपीओ जारी गर्नेछ । पहिलो चरणमा सेयर निष्कासनपछि दोस्रो चरणमा सर्वसाधारणलाई निष्कासन हुनेछ । हाल बजारमा ४ वटा सिमेन्ट कम्पनी सूचीकृत छन् ।

सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक कम्पनी

यस कम्पनीले आयोजना प्रभावित स्थानीयबासी तथा वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ निष्कासन गरिसकेको छ । त्यसपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि जारी गर्नेछ । कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १३ लाख ७९ हजार ३५० कित्ता सर्वसाधारण समूहमा निष्कासन गर्नेछ । नुवाकोटमा माथिल्लो तादी खोला जलविद्युत् आयोजना बनाएर प्राधिकरणलाई बिक्री गरिरहेको छ । जसको प्रतिमेगावाट लागत २१ करोड ५३ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९४.७७ रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ०.३१ रुपैयाँ ऋणात्मक छ । केयर रेटिङबाट यसले बीबी माइनस रेटिङ पाएको छ ।

भुजुङ हाइड्रोपावर कम्पनी

यो कम्पनीले जारी पूँजी १ अर्बको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँको सेयर सर्वसाधारणमा निष्कासन गर्दैछ । वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावितलाई सेयर बिक्री भइसकेको छ । लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा कम्पनीले ७।५ मेगावाटको माथिल्लो मिदिम जलविद्युत् आयोजना बनाएको छ । यसको प्रतिमेगावाट लागत २४ करोड ९० लाख रुपैयाँ छ । साधारण लगानी फिर्ता हुने अवधि ९.६५ वर्ष रहेको छ । इक्रा नेपालले बी प्लस रेटिङ पाएको छ । अंकित मूल्य १ सयका दरमा आईपीओ जारी हुनेछ ।

होटल फरेस्ट इन

होटल फरेस्ट इनले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनका लागि स्वीकृति पाइसकेको छ । कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँ बराबरको २० प्रतिशत अर्थात् ४० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । ८० प्रतिशत अर्थात् १ करोड ६० लाख कित्ता सेयर संस्थापक समूहको हुनेछ । शिवपुरी वनमा अवस्थित होटल फरेस्ट इनले आफ्नो विवरणपत्र सार्वजनिक गरिसकेको छैन । हाल होटल तथा पर्यटन समूहका ७ कम्पनी बजारमा सूचीकृत छन् । बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । अंकित मूल्य १ सयका दरमा आईपीओ निष्कासन हुनेछ ।

शिखर पावर डेभलपमेन्ट कम्पनी

कम्पनीले जारी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ लाख कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जलविद्युत् समूहको यो कम्पनीले ६७।३५ प्रतिशत सेयर संस्थापक समूहको रहनेछ । बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले ४.९६ मेगावाटको भीमखोला स्मल हाइड्रोपावर आयोजना बनाएर सञ्चालनमा ल्याएको छ । सो आयोजनाको प्रतिमेगावाट लागत २४ करोड १८ लाख छ । आर्थिक वर्ष २०८१-८२ को अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ १३ पैसा छ । प्रतिसेयर आम्दानी ३.६९ रुपैयाँ ऋणात्मक छ । इक्रा नेपालले कम्पनीलाई बीबी रेटिङ प्रदान गरेको छ ।

रिजलाइन इनर्जी

कम्पनीले १ अर्ब १८ करोड ५० लाख रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात् १३ लाख ७९ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्ने भएको छ । ८० प्रतिशत सेयर संस्थापक समूहको रहनेछ । कम्पनीले गोरखा जिल्लामा ९ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत् आयोजना बनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार