हाम्रा पूर्वीय दर्शनले दुईवटा लोकको अस्तित्व स्वीकार गरेका छन्। यो लोकमा गरेका कामकारवाहीको फल परलोकमा पाईने बताएका छन्। जीवीत अबस्थामा रहने बस्ने स्थानलाई यो लोक र मृत्यु पछि रहने स्थानलाई परलोक मानिएको छ ।त्यसै गरी हाम्रो दर्शनले भौतिकता र आध्यात्मिकता को अस्तित्व स्वीकार गरेका छन्।
आंखाले देख्न सकिने र स्पर्श गर्न सकिने बस्तुलाई भौतिक र नदेखिने तर अनुभव गर्न सकिने बस्तुलाई आध्यात्मिक पाटोको रूपमा मानेका छन्। जसरी दिन पछि रात आउछ, त्यसै गरी पाप र धर्म, सुख र दु:ख पनि पालो पालो गरी आउछ भन्ने मान्यता पूर्वीय दर्शनको रहेको पाईन्छ। भौतिकवादी चिन्तनमा विश्वास गर्नेहरुले आंखाले देख्ने र स्पर्श गर्न सक्ने चिजलाई मात्र विश्वाश गर्छन्। भावनात्मक वा अभौतिक चिजहरूमा विश्वास गर्दैनन्। उनीहरू धर्म कर्म, स्वर्ग नर्क, जस्ता चिजको अस्तित्व स्वीकार गर्दैनन्। पूर्वीय दर्शनलाई बुझाउने संस्कृत भाषामा भौतिकवादीहरूको रूची रहेको पाईदैन।
विज्ञानको विकास नभएको तत्कालीन समयमा अहिले विज्ञानले गरेका काम समेत पूर्वीय दर्शनले गरेको थियो भन्न सक्दैनन् भौतिकवादीहरू। वास्तवमा जीवनमा ज्ञान र विज्ञान दुवै आवश्यक पर्छ र जीवनको संचालनमा यी दुवैको भूमिका रहन्छ भन्ने तर्फ भौतिकवादीहरूको ध्यान पुगेको हुदैन। तर दर्शनले ज्ञान र विज्ञान दुवैको अस्तित्व स्वीकार गर्छ। हाम्रो शिक्षा नीति विज्ञानमा मात्र आधारित रहेको छ। शिक्षामा ज्ञान पक्षको अभावमा जीवन अधुरो हुन्छ। त्यसैले हाम्रो शिक्षा पनि अधुरो रहेको छ।
हामीले गर्ने हरेक कामहरू स्वार्थ प्रेरित हुन्छन्। हामीले तत्काल नतिजा नदिने कामहरू गर्नमा रूची राख्दैनौ। हामी ज्ञानका लागि पढ्दैनौ र परीक्षा उत्तीर्ण गर्न मात्र हामी पढ्छौ। हामी फलको आशा गरेर काम गर्छौ। त्यसैले फल प्राप्त नहुदा दु:खी हुन पुग्छौ। हामी स्वार्थका लागि काम गर्छौ। हामी आफ्नो लागि मात्र काम गर्छौ तर परोपकारका लागि हाम्रो काम लक्षित हुदैन।
हाम्रो शिक्षामा ज्ञानको अंश कम भएकोले हामी परोपकारमा रूची राख्दैनौ। हामीले दीन दु:खी लाई दान गरे धर्म हुन्छ भन्ने कुराको ज्ञान लिन नपाएको हुदा यस्ता परोपकारी कामहरूमा हाम्रो मन जादैन। हामी शरीरलाई मात्र केन्द्रित गरेर काम गर्छौ। हामी आत्मामा विश्वास गर्दैनौ। सबै जीवमा आत्मा हुने कुरा हामीलाई ज्ञान छैन, हामीले सिकेको विज्ञानले यस्तो अभौतिक चिजमा विश्वास गर्न सिकाएन। हामीले ज्ञान मर्दछ हासेर, विज्ञान रोएर मर्दछ भन्ने पाठ पढेनौ वा पढेर पनि बुझेनौ। ज्ञान विनाको विज्ञान अभिशाप हुन्छ भन्ने बुझेनौ। त्यसै गरी शरीर र आत्मा दुवैको अस्तित्व पनि स्वीकार्न हामी सक्दैनौ। त्यसैले हामी आधा मात्र अस्तित्व संग बाचेका छौ।
हामी धर्मलाई हाम्रो कर्म वा काम संग संबन्धित गरेर हेर्ने गर्दैनौ। धर्म भनेको हाम्रो प्राकृतिक स्वभाव हो र हामीबाट गरिने सबै कर्महरू धर्म सहितका हुनु पर्छ भन्ने बिर्सेर उल्टो तवरबाट गर्छौ। जसरी चीसोमा जम्नु पानीको धर्म हो, ओरालोमा बहनु पानीको धर्म हो त्यसरी नै परोपकार गर्नु, समाजको हितमा काम गर्नु मानवको धर्म हो।अर्थात विना स्वार्थ कर्म गर्नु मानवको धर्म हो। कसैको आस्थामा चोट पुर्याउनु मानवको धर्म हैन। हामीले धर्मलाई टीका टालो र शंख घण्टमा मात्र सीमित गर्यौ। हाम्रो आस्थालाई जगाउन मन्दिर जाने कुरा बुझेनौ। मन्दिर मन दिर हो भन्ने बुझ्नेलाई हामीले अन्धविश्वासी भन्यौ।
शाश्त्रको अर्थ लगाउने पण्डितलाई पाखण्डी, ढोंगी भन्यौ किन भने हामीमा पण्डित र शाश्त्र बुझ्ने ज्ञान नै थिएन। जब सम्म हामीले मनबाट अध्ययन नगरेर लोकलाई देखाउन मात्र अध्ययन गर्दछौ, त्यस्तो शिक्षा जीवनोपयोगी हुदैन र त्यो आडम्बरी शिक्षा हुन्छ। अहिले यस्तै शिक्षाको बर्चस्व रहेको हुदा आजभोली गरिने राजनीति पनि सेवा मुखी नभएर पेवा मुखी भएको छ, आजभोली गरिने ब्यबसाय पनि नाफामुखी, अपराधिक भएको छ, काम कारवाहीमा भ्रष्टाचार बढ्दै गएको छ। समाज पतित हुदै गएको छ।हाम्रा विकास निर्माणका कामहरूमा गुणस्तरको ह्रास भै रहेको छ। पाप र धर्मको केही हेक्का नराखी कामहरू गरिएका छन्।
यस्तो अवस्थामा गरिने हरेक कर्महरू नकाम हुन्छन्। यसैले हरेक ब्यक्ति, समाज, राज्यले गर्ने हरेक काममा आत्मिक पक्षलाई समेटेर काम गर्न सके त्यसबाट सबैको कल्याण हुन्छ। हामीले गर्ने हरेक काम उपयोगी हुनुपर्छ। उपयोगिताको नाममा स्वार्थ पूर्ति हुने काम भनिएको हैन, यस्ता कामले अरूको भलाई गरेको हुनुपर्छ। हाम्रो भावना र मनलाई हाम्रो कर्ममा लगाउन पर्ने हुन्छ। तर आजभोली हामीबाट सम्पादन हुने कामहरू अरूको भलाई तिर लक्षित नहुने र गरिएका कामहरू पनि मन र भावना बाट गरिएका हुदैनन्।
हामीले गरेका हरेक कामबाट सुख र सन्तुष्ठी प्राप्त गर्नु छ भने त्यस्ता कामहरू लोकलाई देखाउने वा सस्तो लोकप्रियताका लागि नभएर आफ्नो मन देखि गर्नु पर्छ। शरीर र मनको संयोगबाट गरिने हरेक कामको परिणाम सकारात्मक हुन्छन् तर हामीले सम्पादन गर्ने प्राय: कामहरू शरीरले मात्र गर्ने हुदा ती कामबाट सफलता प्राप्त गर्न सकिदैन।