काठमाडौं । आफैँ विपत्तिको चपेटामा परे पनि वाणिज्य बैंकहरूले रसुवा बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ठूलो रकम सहयोग गरेका छन्। भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा क्षेत्रको राहत र पुनःस्थापनाका लागि हालसम्म १६ वटा वाणिज्य बैंकले मात्रै करिब ५८ करोड ६२ लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।
भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। बाढीका कारण प्रभावित क्षेत्रमा रहेका वाणिज्य बैंकका ९ वटा शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। बैंकका कर्मचारीसमेत बाढीको चपेटामा परेका छन्। केही कर्मचारीले ज्यान गुमाएका छन् भने केही अझै बेपत्ता रहेको जनाइएको छ। आफ्नै संरचना र जनशक्ति गुमाएर ठूलो क्षति व्यहोर्नुपरे पनि बैंकहरूले विपत्तिमा परेका नागरिकको राहत र पुनःस्थापनाका लागि सहयोगलाई निरन्तरता दिएका छन्।
बैंकहरूले मुख्यतः सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गरेका छन्। हालसम्मको सहयोगमा ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक अगाडि देखिएका छन्। ग्लोबल आइएमई बैंकले ५ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट बैंकले ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। यीबाहेक अन्य वाणिज्य बैंकले पनि राहत कोष तथा प्रभावित समुदायका लागि प्रत्यक्ष रूपमा आर्थिक तथा राहत सामग्री सहयोग गरेका छन्।
अर्थ मन्त्रालयका अनुसार भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एभरेष्ट बैंकले ३ करोड ११ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ। त्यस्तै, सिद्धार्थ बैंकले २ करोड ५१ लाख रुपैयाँ, कृषि विकास बैंकले ३ करोड रुपैयाँ, हिमालयन बैंकले ३ करोड १ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले २ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।
त्यसैगरी, कुमारी बैंकले ३ करोड ३९ लाख रुपैयाँ, नेपाल बैंकले ३ करोड १ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ३ करोड रुपैयाँ, सानिमा बैंकले २ करोड २५ लाख रुपैयाँ र एनआईसी एशिया बैंकले २ करोड २१ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
यता प्राइम कमर्सियल बैंकले ३ करोड १ लाख रुपैयाँ र प्रभु बैंकले २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्। एनएमबि बैंकले ३ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गर्नुका साथै प्रभावित नागरिकका लागि थप १० लाख रुपैयाँ बराबरको राहत सामग्रीसमेत उपलब्ध गराएको छ। त्यस्तै, सिटिजन्स बैंक इन्टरनेशनलले २ करोड २२ लाख २२ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
यसैबीच, चौधरी फाउन्डेसन र नबिल बैंकले भने रसुवा र नुवाकोटका बाढी प्रभावितका लागि संयुक्त रूपमा कुल १५ करोड रुपैयाँ बराबरको बहुचरणीय राहत तथा पुनःस्थापना कार्यक्रम घोषणा गरेका छन्। कार्यक्रमअन्तर्गत भदौ ११ गतेदेखि प्रभावित क्षेत्रमा तयारी खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, त्रिपाल तथा सरसफाइ सामग्री वितरण सुरु गरिएको थियो।
दुवै संस्थाले रसुवा र नुवाकोटमा एक–एक वटा राहत शिविर सञ्चालन गर्नुका साथै ५०० वटा अस्थायी आवास एकाइ निर्माण गर्ने योजना अघि सारेका छन्। बाढीपछि फैलिन सक्ने संक्रामक रोगको जोखिमलाई ध्यानमा राख्दै रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गर्ने घोषणा पनि गरिएको छ।
त्यस्तै, नेपाल एसबीआई बैंकले पनि प्रभावित समुदायका लागि राहत सामग्री उपलब्ध गराउने जनाएको छ। बैंकले बाढी प्रभावित नागरिकको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले राहत सामग्रीमार्फत सहयोग गर्ने बताएको छ।
बैंक तथा वित्तीय संस्थाहरूले प्राकृतिक विपत्तिमा राहत तथा उद्धारका लागि सहयोग गर्न सहज हुने गरी नेपाल राष्ट्र बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सम्बन्धी व्यवस्थामा समेत परिवर्तन गरेको छ। नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१’ मा पहिलो संशोधन गर्दै सीएसआरको रकम प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको औषधोपचार, राहत तथा उद्धारमा समेत खर्च गर्न सकिने व्यवस्था गरेको छ।
संशोधित व्यवस्थाअनुसार प्राकृतिक प्रकोप तथा महामारीबाट प्रभावितलाई वितरण गरिने लत्ताकपडा, खाद्यान्न, टेन्ट, भाँडाकुँडा लगायतका सामग्रीको व्यवस्थापन तथा पीडितको औषधोपचार, उद्धार र राहत कार्यमा हुने खर्च सीएसआर रकमबाट गर्न सकिने भएको छ।
यस व्यवस्थाले विपत्तिको समयमा बैंक तथा वित्तीय संस्थालाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तत्काल सहयोग परिचालन गर्न थप सहज बनाएको छ। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका बैंक तथा शाखासमेत प्रत्यक्ष रूपमा क्षतिग्रस्त भएको अवस्थामा बैंकहरूले आफ्नै क्षतिका बाबजुद प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि आर्थिक तथा भौतिक सहयोग अघि बढाएका छन्।