काठमाडौं । वैकल्पिक भनिएकाहरुको एकता जनताले चाहे पनि उनीहरुको एकताको सम्भावना खासै देखिएको छैन । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक सक्रियता बढाएका छन् । आफ्नै नेतृत्वमा पार्टी बनाउने गृहकार्य अनुसार उनले विभिन्न दलका नेता, पत्रकार, जेनजी अगुवा, कलाकार लगायतसँग छलफल गरेका छन् । यसैक्रममा ललितपुरको कुपण्डोलस्थित एक घरमा गएराति अबेरसम्म बालेनले विभिन्न व्यक्तिहरुसँग अलग–अलग र सामूहिक छलफल गरेका थिए । छलफल आज पनि जारी रहने स्रोतले जनायो । बालेनसँग बुधबारको छलफलमा राप्रपा, जनमत, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेन–जेजी फ्रन्टलगायत केही सञ्चारकर्मीहरू सहभागी थिए । स्रोतका अनुसार छलफलमा नागरिक उन्मुक्तिका रेशमलाल चौधरी, मिलन पाण्डे, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, शेरबहादुर देउवासँग चुनाव लडेका सागर ढकालसमेत सहभागी थिए । मिडियाकर्मी सुरजसिंह ठकुरी र ऋषी धमलासँग पनि बालेनले छलफल गरेको बताइएको् छ । सामाजिक सन्जालमा कांग्रेस नेता चन्द्र भण्डारीले पनि बालेनलाई भेटेर छलफल गरेको कुराहरु सार्वजनिक भएका छन् तर भण्डारीले आफूले बालेनलाई नभेटेको बताएका छन् । नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशमलाल चौधरीले बुधबार राति बालेनसँगको छलफलमा सहभागी भएको स्वीकार गरे । उनले नयाँ शक्तिहरुलाई एकीकृत गरेर अघि बढ्न बालेनले प्रस्ताव गरेको जानकारी दिए । गत सोमबार बालेनले रास्वपाका सभापति रवि लामिछानेसँग कमलपोखरीमा छलफल गरेका थिए । सो छलफल टुंगोमा नपुगेपछि उनले बुधबार अन्यसँग छलफल चलाएको स्रोत बताउँछ । बुधबार बालेनसँगको छलफलमा सहभागीहरुका अनुसार बालेन आफ्नै नेतृत्वमा दल बनाउने मुडमा छन् । देश विकास पार्टीको अध्यक्ष हाल सन्ध्या खनाल छिन् । यसअघि गत सोमबार कमलपोखरीस्थित रास्वपा केन्द्रीय सदस्य असिम साहको कार्यालय भवनमा रवि लामिछाने र बालेन साहबीच मध्यरातसम्म छलफल भएको थियो । छलफलपछि एउटै गाडी चढेर बाहिरिएको दृष्यले धेरैलाई उनीहरु अब एउटै पार्टीमा रहने अनुमान गरेका थिए । तर बुधबार कुपण्डोलको छलफलमा बालेनले रविको नेतृत्वमा नभई आफ्नै नेतृत्वमा जेनजीसहितका नयाँ शक्तिलाई समेटेर अघि बढ्न खोजेको संकेत गरे ।कमलपोखरी छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले गर्ने प्रस्ताव रविले राखेका समाचार सार्वजनिक भएका थिए । अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सघाउने प्रस्ताव आएको थियो । त्यसमा ठोस सहमति नभए पनि सकारात्मक छलफल भएको उनीहरु निकट नेताहरुले बताएका थिए । तर बुधबारको छलफलमा बालेनले रविको नेतृत्व नस्वीकार्ने संकेत गरेको एक नेताले बताए ।