काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज युरोपेली संघ (ईयू) आबद्ध देशका राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता तथा संवाद गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने कार्यक्रममा ईयू सदस्य राष्ट्रका राजदूत तथा विभिन्न कूटनीतिक नियोगका प्रमुखहरूको सहभागिता रहनेछ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्ताका क्रममा सरकारका वर्तमान प्राथमिकता, विकासका एजेन्डा तथा समसामयिक विषयबारे जानकारी गराइनेछ। साथै नेपाल र सम्बन्धित देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ।
सरकारले आर्थिक विकास, लगानी, व्यापार, सुशासन तथा अन्तर्राष्ट्रिय साझेदारीलाई प्राथमिकतामा राखेको सन्दर्भमा उक्त संवादलाई महत्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ।
यसअघि गत चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग पनि सामूहिक संवाद गरेका थिए। आजको भेट त्यसैको निरन्तरताका रूपमा लिइएको छ।