काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा पहिलोपटक होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दिएको छैन। ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा रास्वपाको राम्रो प्रभाव रहेको मानिए पनि उम्मेदवार उठाउन नसक्नुले पार्टीमाथि प्रश्न उठेको छ । ४४ स्थानमा उपनिर्वाचन हुन लागेकोलेमा ४२ स्थानमा मात्र पार्टीले उम्मेदवारी दिन पाउँछ। ओखलढुङ्गा र कैलालीमा जिल्ला समन्वय समितिको उपनिर्वाचन हुने भएकाले रास्वपाले उम्मेदवार उठाउन पाउँदैन । तर बाँकी ४२ स्थानमा भने उम्मेदवारी दिन पाउने भएपनि २६ स्थानमा मात्रै रास्वापाले उम्मेदवार खडा गरेको छ । यो अवस्था हेर्दा पार्टीले उपनिर्वाचनको तयारी राम्रो नगरेको आँकलन गर्न गाह्रो छैन । किन २६ स्थानमा मात्रै उम्मेदवारी दिनुभएको भन्ने प्रश्नमा रास्वपा निर्वाचन परिचालन समितिका केन्द्रीय सभापति गणेश पराजुली भन्छन्, अन्य स्थानमा हामीले निर्वाचनको तयारी गर्न नसकेका कारण हामीले उम्मेदवार उठाउन सकेनौँ। हामी अहिले सरकारले साँधेको प्रतिशोधविरुद्ध पनि आन्दोलनमा जाग्नुपर्ने भएकाले उपनिर्वाचनका लागि केही स्थानमा तयारी पुगेको छैन । त्यसैले उम्मेदवार नउठाएका हौँ। पराजुलीले यसो भनेपनि इलाम २ मा भएको उपनिर्वाचन भन्दा नाजुक अवस्था हुने भएकाले रास्वपाले २६ स्थानमा मात्रै उम्मेदवार उठाएको शीर्ष नेताहरूको भनाइ छ। यसअघि रास्वपाले कीर्तिपुरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो । तर अन्य व्यक्तिको उम्मेदवारी नपरेपछि कार्कीको अवस्थालाई नियाल्दा उनी पनि उम्मेदवारका लागि सक्षम नभएको रास्वपाको निष्कर्ष छ । रास्वपाका अर्का नेताका अनुसार १६ ठाउँमा उम्मेदवारी नदिने या दिने सन्दर्भमा पनि पार्टीले दुई–तीन दिनदेखि छलफल गरेको थियो। आज बिहान भएको छलफलमा पनि १६ ठाउँमा उम्मेदवारी नदिने सन्दर्भमा नेताहरूले आ–आफ्नो धारणा राखेका थिए। उनले अब पार्टी सबैतिर विस्तार गरेर जानुपर्ने चुनौती रहेकाले स्थानीय तहको उपनिर्वाचनले पार्टीलाई एक किसिमको सन्देश दिने समेत बताए।
रास्वपाका उपनिर्वाचन परिचालन समितिका संयोजक पराजुलीले १६ ठाउँमा रास्वपाले स्वतन्त्र व्यक्तिहरूलाई पनि सहयोग गर्न सक्ने बताएका छन् ।
रास्वपाका केही वैचारिक र वैकल्पिक नेताहरूले कीर्तिपुको मेयरमा जस्तोसुकै परिस्थिति भएपनि सहरी इलाका भएकाले उम्मेदवार उठाउनै पर्ने पार्टी बैठकहरूमा तर्क गरेका थिए। आइतबार बिहान बसेको बैठकमा ती नेताहरूले कीर्तिपुरको मेयरमा जसरी पनि उम्मेदवारी दिनुपर्ने जनाएका थिए। ती नेताका अनुसार उम्मेदवारीका लागि दाबी गरेका नेता नै पछि हटेपछि कीर्तिपुरमा उम्मेदवार नदिने निर्णय भएको हो । मेयरमा उम्मेदवारी नदिएपछि रास्वपाले वडाहरूमा पनि उम्मेदवारी नदिने निर्णय गरेको छ ।