free website hit counter

एक सातामै ७ हजार ६०० रुपैयाँ घट्यो सुन, अब अझै सस्तो हुन्छ कि ?

beemaadmin
२०८३ असार १४, आईतवार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पछिल्लो एक सातामा उल्लेख्य रूपमा घटेको छ। एक साताको अवधिमा प्रतितोला ७ हजार ६०० रुपैयाँले मूल्य घटेपछि सुन खरिद गर्ने उपभोक्ता र लगानीकर्ताको ध्यान फेरि बजारतर्फ केन्द्रित भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार ५ गते प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ रहेको सुनको मूल्य असार १२ गते आइपुग्दा २ लाख ७९ हजार १०० रुपैयाँमा झरेको छ।

Advertisement
Advertisement

बीचका दिनहरूमा केही वृद्धि भए पनि त्यसपछि लगातार गिरावट आएको थियो। असार ७ र ८ गते सुनको मूल्य बढेर २ लाख ८८ हजार ७०० रुपैयाँसम्म पुगेको थियो। तर त्यसपछि मंगलबारदेखि लगातार मूल्य घट्दै जाँदा बुधबार ३ हजार ६०० रुपैयाँ र बिहीबार मात्रै ५ हजार २०० रुपैयाँले घट्यो। शुक्रबार भने सामान्य ८०० रुपैयाँले सुधार आएको थियो।

Advertisement
Advertisement

व्यवसायीहरूका अनुसार सुनको मूल्य घट्नुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको परिवर्तन हो। पछिल्ला महिनाहरूमा विश्वका विभिन्न क्षेत्रमा रहेको युद्धको तनाव केही कम हुँदै जानु, सुरक्षित लगानी (सेफ हेभेन) को रूपमा सुनप्रतिको माग घट्नु तथा केही देशका केन्द्रीय बैंकहरूले सुनको मौज्दात बिक्री गर्न थालेका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य दबाबमा परेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटकै प्रत्यक्ष असर नेपाली बजारमा देखिएको हो। विश्व बजारमा सुनको मूल्य घटेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको उनले बताएका छन्।

विश्लेषकहरूका अनुसार अमेरिकी डलरको अवस्थासँगै ब्याजदर, विश्व अर्थतन्त्रको अवस्था, केन्द्रीय बैंकहरूको खरिद–बिक्री नीति तथा भूराजनीतिक तनावले आगामी दिनमा पनि सुनको मूल्य निर्धारण गर्नेछ। यदि अन्तर्राष्ट्रिय बजारमा स्थिरता कायम रह्यो भने सुनको मूल्य अझै केही घट्न सक्ने सम्भावना रहन्छ। तर नयाँ युद्ध, आर्थिक संकट वा अन्य अस्थिरता देखिएमा सुन पुनः महँगिन पनि सक्छ।

अहिलेसम्मको अवस्थाले भने केही महिनादेखि निरन्तर उकालो लागेको सुन बजारले पहिलोपटक उल्लेख्य करेक्सन देखाएको संकेत गरेको छ। त्यसैले आगामी केही दिनमा अन्तर्राष्ट्रिय बजारको गतिविधिले नै नेपाली बजारमा सुनको मूल्य कुन दिशामा जान्छ भन्ने निर्धारण गर्ने देखिएको छ।

सम्बन्धित समाचार