काठमाडौं । बीमा क्षेत्रमा अनुभवी व्यवस्थापकका रूपमा परिचित कविराज फुयाँलले आफ्नो व्यावसायिक यात्रालाई नयाँ चरणमा अघि बढाउने भएका छन्। सिटिजन लाइफ इन्स्योरेन्सदेखि आइएमई लाइफ हुँदै सन नेपाल लाइफसम्मको नेतृत्वदायी भूमिकामा रहेका फुयाँलले अब अर्को संस्थाको विकास र व्यवसाय विस्तारमा आफ्नो अनुभव उपयोग गर्ने तयारी गरेका छन्।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदबाट फुयाँलले राजीनामा दिएका छन्। सम्बद्ध स्रोतका अनुसार उनको राजीनामा शुक्रबारदेखि लागू भएको हो।
आइएमई लाइफ इन्स्योरेन्सबाट पहिलो कार्यकाल पूरा गरेपछि फुयाँलले दोस्रो कार्यकाल सुरु नगरी राजीनामा दिएका थिए। त्यसपछि करिब ६ महिना बीमा क्षेत्रको सक्रिय जिम्मेवारीबाट टाढा रहेका उनी २०८१ फागुनमा सन नेपाल लाइफमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा प्रवेश गरेका थिए।
जतिबेला सन नेपाल लाइफको व्यापार वैदेशिक रोजगार म्यादी बीमामा मात्रै सीमित थियो भने फुयालको प्रवेशपछि सावधिक बीमा लगायतको व्यवसायमा व्यापक विस्तार भएको थियो । जस अन्तर्गत बीमालेखको बिक्री, दक्ष कर्मचारीको परिचालन, गुणस्तरीय अभिकर्ताको उत्पादन लगायतमा सफलता प्राप्त गरेका थिए ।
फुयाँलले आइएमई लाइफमा २०७७ भदौ ७ गते चार वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए। उनको नेतृत्वमा रहेको कार्यकाल पूरा भएपछि सञ्चालक समितिले २०८१ साउन १४ गते उनलाई थप चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो। यद्यपि, दोस्रो कार्यकाल सुरु हुनुअघि नै उनले कम्पनीबाट बाहिरिने निर्णय गरेका थिए।
आइएमई लाइफले व्यावसायिक कारोबार सुरु गरेको अवधिमा पूरा चार वर्षे कार्यकाल सम्पन्न गर्नुका साथै दोस्रो कार्यकालका लागि समेत नियुक्ति प्रक्रिया अघि बढेका प्रमुख कार्यकारीमध्ये फुयाँल एक हुन्।
उनले आइएमई लाइफको नेतृत्व सम्हाल्नुअघि सिटिजन लाइफ इन्स्योरेन्समा बजार प्रमुखका रूपमा काम गरेका थिए। बीमा क्षेत्रमा विभिन्न संस्थामा व्यवस्थापन तहको जिम्मेवारी सम्हाल्दै आएका फुयाँलसँग व्यवसाय विस्तार, बजार व्यवस्थापन तथा संस्थागत नेतृत्वको अनुभव छ। यही अनुभवलाई आगामी यात्रामा नयाँ संस्थाको व्यवसायिक विकासमा उपयोग गर्ने तयारीमा उनी रहेको बताइएको छ।
यसैबीच, हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कपिल दाहालविरुद्ध फौजदारी अभियोगमा गत जेठ २८ गते मुद्दा दायर भएपछि उनी निलम्बनमा छन्। कम्पनीले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि आवेदन माग गरे पनि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेपछि नियुक्ति प्रक्रिया हाल स्थगित छ।
बीमा क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहँदा प्राप्त अनुभव र संस्थागत व्यवस्थापनको पृष्ठभूमिका कारण फुयाँलको आगामी व्यावसायिक यात्रा बीमा क्षेत्रमै रहने वा नयाँ जिम्मेवारीतर्फ अघि बढ्ने विषयलाई चासोका साथ हेरिएको छ।