free website hit counter

कालंगा हाइड्रोको आईपीओमा आवेदन दिनुभयाे ? 

beemaadmin
२०८३ जेष्ठ १३, बुधबार

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज (जेठ १३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्काशन तथा बाँडफाँट सम्पन्न गरिसकेको छ।

कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये १४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा ३ लाख ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण गरिसकिएको छ। साथै, १ लाख ९५ हजार कित्ता शेयर सामूहिक लगानी कोष र १ लाख ५ हजार कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको थियो।

Advertisement
Advertisement

दोस्रो चरणअन्तर्गत कम्पनीले बाँकी रहेको २८ लाख ७० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको उक्त शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

Advertisement
Advertisement

आईपीओको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीद्वारा प्रवर्द्धित १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ३३ करोड ९३ लाख रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत करिब २८ करोड ३० लाख रुपैयाँ रहेको आयोजनाबाट २०७९ माघ २७ गतेदेखि व्यावसायिक विद्युत उत्पादन सुरु भएको थियो। आयोजनाको साधारण लगानी फिर्ता अवधि ९.२९ वर्ष र डिस्काउन्ट गरिएको लगानी फिर्ता अवधि १८.०१ वर्ष रहेको कम्पनीले जनाएको छ।

आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार