काठमाडौं । पछिलो केहि समय यता सुनको भाउ महंगिरहेको छ । यो साता पनि सुन र चाँदी दुवैको मुल्यमा बृद्धि भएको छ । विश्व बजारसँगै नेपाली बजारमा पनि यो साता सुनको मुल्य बढेको हो । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहणका विषयलाई लिएर भइरहेको अनिश्चितताले नै विश्व सुन बजार प्रभावित हुँदै सुनको भाउ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको चार दिन जसो सुनको भाउ वृद्धि भएको छ । साताको पहिलो दिन सुन प्रतितोला एक लाख ५५ हजार ६०० रुपैयाँ तोकिएको थियो । त्यसपछि, सोमबार सुनको भाउ बढेर एक लाख ५५ हजार ८०० रूपैयाँ पुगेको थियो जुन माघको पहिलो दिन, मंगलबार भने घटेर एक लाख ५५ हजार रूपैयाँमा झरेको तथ्यांकमा देखिन्छ । माघ २ गते, बुधबार भने सुनको भाउ महंगिएर तोलाको एक लाख ५५ हजार ४०० रूपैयाँ र बिहीबार थप बढेर एक लाख ५६ हजार ६०० रूपैयाँ पुगेको थियो । सुनको मुल्य विभिन्न उतार चढाव सँगै साताको पछिल्लो कारोबार भएको दिन, शुक्रबार प्रतितोला एक लाख ५७ हजार ९०० रूपैयाँको उचाइमा पुग्यो । यसरी, यो मुल्य साताको पहिलो दिनको तुलनामा २ हजार ३०० रुपैयाँले बढी हो । त्यसैगरी, यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला एक हजार ८६० रुपैयाँ पुगेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतितोला एक हजार ८९० रुपैयाँ पुगेको छ । यसरी, साताभरमा चाँदी तोलामा ३० रूपैयाँले महंगिएको छ ।
डलरसँग सुनको सम्बन्ध
अमेरिकी डलरको विनिमय दरमा देखिएको मजवुतिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य वृद्धिमा टेवा पुगेको बिश्लेषकहरुको भनाई छ । विश्व बजारको महंगीसँगै नेपाली सुन बजारमा पनि यसको प्रभाव परेको महासंघले जनाएको हो । अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार आज डलर सामान्य रूपमा बलियो भएका कारण सुनको बृद्धि भएको विश्लेषकहरुको भनाइ छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार नेपालमा अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ। अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ १९ पैसा र बिक्रीदर एक सय ३८ रूपैयाँ ७९ पैसा कायम भएको छ। तर, विश्व बजारमा शुक्रबार भने सुनको भाउमा गिरावट देखियो । यस दिन सुन प्रतिऔंस पाँच डलरभन्दा बढीले सस्तिएर २ हजार ७०० डलर बराबरमा कारोबार भयो । यद्धपी, बिहीबार भने सुनको भाउमा वृद्धि देखिएको थियो । त्यस दिन सुन २ हजार ७५७ डलर ६० सेन्टको इन्ट्राडे उच्चस्तरमा पुगेको थियो । निराशाजनक खुद्रा बिक्री तथ्यांक र डलर कमजोर हुँदा यो वृद्धि देखिएको थियो । नवनिर्विचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहणका विषयलाई लिएर भइरहेको अनिश्चितताले नै सुनको विश्व बजार नै प्रभावित भइरहेको विश्लेषकहरूको भनाइ छ । ट्रम्पले व्यापक कर लागू गर्न राष्ट्रिय आर्थिक आपतकाल घोषणा गर्ने विचार गरिरहेको खबर बाहिरिएका छन्। रोयटर्सका रिपोर्ट अनुसार ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गर्दा यस्ता करहरूले सम्भावित रूपमा व्यापार युद्ध र मुद्रास्फीति निम्त्याउन सक्ने बताइएको छ । यस्तो अवस्थामा, सुनलाई परम्परागत रूपमा मुद्रास्फीति बचावको रूपमा हेरिने र सुरक्षित लगानीका रूपमा सुनमाथि लगानी गरिँदा भाउ वृद्धि हुने अपेक्षा गरिएको छ ।