free website hit counter

कुन बीमकले कति नवीकरण बीमा शुल्क आर्जन गरे ?

beemaadmin
२०८३ जेष्ठ १३, बुधबार

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म १ खर्ब २० अर्ब ७१ करोड ६३ लाख रुपैयाँ नवीकरण बीमा शुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १० महिनाको अवधिमा जीवन बीमकहरूको नवीकरण व्यवसाय उल्लेखनीय रूपमा बढेको हो।

गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले १ खर्ब ९ अर्ब ४३ करोड १४ लाख रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गरेका थिए। यस आधारमा चालु वर्षमा नवीकरण बीमा शुल्क आर्जन १०.३१ प्रतिशतले वृद्धि भएको देखिन्छ। नयाँ बीमा व्यवसाय विस्तारसँगै प्रत्येक वर्ष नवीकरण हुने बीमा पोलिसीको संख्या बढ्दै जाँदा कम्पनीहरूको नवीकरण आम्दानी पनि निरन्तर उकालो लागिरहेको छ।

Advertisement
Advertisement

समीक्षा अवधिमा नवीकरण बीमा शुल्क आर्जनको आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ। कम्पनीले ३२ अर्ब २ करोड ७६ लाख रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गरेको छ। दोस्रो स्थानमा रहेको एलआईसी नेपालले १४ अर्ब ७ करोड ६३ लाख रुपैयाँ आर्जन गरेको छ।

Advertisement
Advertisement

त्यसैगरी नेशनल लाइफ इन्स्योरेन्सले १३ अर्ब ९८ करोड ५० लाख रुपैयाँ र हिमालयन लाइफ इन्स्योरेन्सले १२ अर्ब ५९ करोड २६ लाख रुपैयाँ नवीकरण बीमा शुल्क आर्जन गरेका छन्।

वृद्धिदरका हिसाबले भने सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी र आइएमई लाइफ इन्स्योरेन्स अगाडि देखिएका छन्। राष्ट्रिय जीवन बीमा कम्पनीको नवीकरण बीमा शुल्क १८.२६ प्रतिशतले बढेर ९ अर्ब १ करोड रुपैयाँ पुगेको छ भने आइएमई लाइफको नवीकरण आम्दानी २२.८२ प्रतिशतले वृद्धि भई ३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ।

यस्तै, सूर्यज्योति लाइफले ७ अर्ब ४ करोड रुपैयाँ, एशियन लाइफले ६ अर्ब ७ करोड रुपैयाँ, सिटिजन लाइफले ४ अर्ब ५७ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४ अर्ब ३५ करोड रुपैयाँ तथा मेट लाइफले ४ अर्ब २० करोड रुपैयाँ नवीकरण बीमा शुल्क आर्जन गरेका छन्।

त्यसैगरी प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ३० करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब २९ करोड रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ५९ करोड रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गरेका छन्।

जीवन बीमा क्षेत्रको व्यवसाय विस्तार र बीमितहरूको नवीकरण दर सुदृढ बन्दै जाँदा आगामी वर्षहरूमा पनि नवीकरण बीमा शुल्क आर्जन थप वृद्धि हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार