free website hit counter

के रातो मासु हानिकारक नै हो त ?

beemaadmin
२०८० कार्तिक ५, आईतवार

हिजोआज प्रायः सबैको भान्सामा मासु पाक्ने गर्छ । अन्य समयभन्दा दशैँमा मासुका परिकारलाई विशेष महत्वका साथ हेरिन्छ । दशैँमा मासु खुवाइको मज्जा नै छुट्टै हुने धेरैको भनाइ छ । त्यसैले पनि दशैँमा मासुको महत्व विशेष छ । शाकाहारी बाहेक सबैले दशैंका बेला सदाभन्दा धेरै मासु घर भित्र्याउने गर्छन् । फूलपातीको दिनदेखि पूर्णिमासम्म घरघरमा मासुका विभिन्न परिकारहरू बन्छन् । कसैले घरमै काट्छन् भने कसैले बजारबाट खरिद गर्छन् । तर चिकित्सकको भनाइ अनुसार स्वास्थ्यका लागि रातोभन्दा सेतो मासु फाइदाजनक मानिन्छ । युरिकएसिड भएको बिरामीले रातो मासु नखानु नै चिकित्सकको सुझाव रहेको छ ।

रातो मासु
माछा र कुखुराबाहेक सबै खालका मासुलाई रातो मासुको रूपमा लिइन्छ । सामान्यतया स्तनधारी जनावरको मासुलाई रातो मासु भनिन्छ तर मासुका लागि काटिने जनावरको उमेर अनुसार पनि रातो र सेतो मासु भनिन्छ । बयस्क बङ्गुरको मासुलाई रातो मासु भनिन्छ भने कम उमेरको बङ्गुरको मासुलाई सेतो मासु भनिन्छ । रातो मासु हुने पशुमाहरूमा खसी बोका, भेडा बाख्रा, भैँसी राँगा पर्छन भने पन्छीमा हाँस, कोयली, परेवा, सुतुर्मुर्ग तथा जङ्गली जनावरहरू (मृग, हरिण आदि) हुन् । मासुमा मायोग्लोबिनको प्रतिशतले पनि रातो मासु र सेतो मासुको निर्धारण गर्छ । मायोग्लोबिनको प्रतिशत जति जति कम भयो, त्यस मासुलाई सेतो मासु र जति जति बढी भयो, त्यस मासुलाई रातो मासु भनिन्छ ।

Advertisement
Advertisement

यस्ता व्यक्तिले मासु नखानुस्
रगतमा लिपिड प्रोफाइलमा बढी कोलेस्ट्रोल भएको, मुटु रोगी, युरिक एसिड र ब्लड प्रेसर उच्च भएको व्यक्तिले रातो मासु खानु स्वास्थ्यका दृष्टिले उपयुक्त हुँदैन । यस्ता समस्या भएका व्यक्तिले रातो मासु नखाँदा नै राम्रो हुन्छ ।

Advertisement
Advertisement

रातो मासुमा पाइने पोषक तत्व
फलाम, प्रोटिन, खनिज पदार्थ, जिङ्क र फस्फोरस तथा भिटामिन, लिपोइक एसिडको मुख्य स्रोतका रूपमा रातो मासुलाई लिइन्छ । एक अध्ययनअनुसार दैनिक रातो मासु खाँदा क्यान्सर र मुटु रोग हुने जोखिम १३ प्रतिशतले वृद्धि हुन्छ ।

सेतो मासु
सामान्यतया मासु पकाउनुभन्दा अघि वा पछि सेतो देखिन्छ भने त्यस्तो मासुलाई सेतो मासु भनिन्छ । मासुमा हुने मायोग्लोबिनले नै रातो मासु वा सेतो मासुको निर्धारण गर्छ । सेतो मासुमा मायोग्लोबिन एकदम न्यून मात्रामा हुन्छ । खासगरी कुुखुरा, टर्की र माछाको मासुलाई भनिन्छ । अमेरिकी कृषि विभागका अनुसार ६५ प्रतिशतभन्दा कम मायोग्लोबिन भएको बङ्गुरको मासुलाई सेतो मासुअन्तर्गत राखेको पाइन्छ ।

मासु कति खाने
बाँच्नकै लागि चाहिँ मासुको आवश्यकता पर्दैन । मासु सेवन गर्नेभन्दा साकाहारी खाना खाने व्यक्ति स्वस्थ्य रहन्छन् । मासु प्रोटिनको प्रमुख स्रोत हो । एउटा वयस्क व्यक्तिलाई शारीरिक तौलका दरले दैनिक ०।८ ग्राम प्रोटिनप्रति के।जी। आवश्यक पर्छ । एउटा महिलालाई दैनिक ४६ ग्राम र पुरुषलाई ५६ ग्राम प्रोटिन आवश्यक पर्छ । प्रतिव्यक्ति प्रतिदिन कति मासु आवश्यक पर्छ भन्ने कुरा उसको शारीरिक अवस्थामा भरपर्छ । दुब्लो वा कमजोर वा शारीरिक तन्दुरुस्तीका लागि दैनिक ०।६५ ग्राम प्रतिके।जी। शारीरिक तौलको आधारमा र शारीरिक तौल बढाउनका लागि दैनिक १ ग्राम प्रतिके।जी। शारीरिक तौलका आधारमा मासु आवश्यक पर्छ । यसकारण एउटा ६८ के।जी। शारीरिक तौल भएको मानिसलाई प्रतिदिन ९७।५ ग्राम मासु आवश्यक पर्छ ।

डाक्टरको भनाइ
डाक्टर पारस पन्जियार भन्छन्– ‘रातो मासु नखानु भन्नुको कारण अन्य सेतो मासुको हिसाबमा रातो मासुमा प्रोटिनको मात्रा बढी हुन्छ । रातो मासु सेवन गर्दा, शरीरमा युरिकएसिडको मात्रा बढ्ने, मुटु, रक्तनलीमा गएर समस्या हुने हुँदा स्वास्थ्यका लागि रातो मासु नखाएकै राम्रो हो ।’ उनका अनुसार ‘दशैँका बेलामा मासु धेरै खाने हाम्रो बानी हुन्छ तर मासु सँगसँगै शरीरलाई अन्य प्रोटिनको पनि आवश्यक हुन्छ । हरियो सागपात, पहेलो फलफूल, दूध, अण्डा स्वास्थ्यका लागि राम्रो हो ।’ यस्ता खाना दशैँमा मात्रै होइन नियमित सेवनले स्वास्थ्यलाई फाइदा दिन्छ ।

दशैंको मासु राम्रोसँग पकाएर मात्रै खान चिकित्सकहरूले सुझाव दिएका छन् । राम्रोसँग नपाकेको मासु खाएमा मासुमा भएका किटाणु जिउँदै शरीरभित्र पस्ने र मानिसलाई समस्या हुन्छ । मासु खानुअघि खसी, भेडा स्वस्थ भए नभएको यकिन गर्न पनि चिकित्सकहरूको सुझाव छ । दशैंको समयमा मासु प्रयोग अधिक हुने भएकाले यसको सेवनमा ध्यान दिन डाक्टरहरूले सुझाव दिएका छन् ।

सम्बन्धित समाचार