free website hit counter

कोरोना बीमाको दावी भुक्तानी दुई अर्ब बढी

beemaadmin
२०७७ कार्तिक १४, शुक्रबार

काठमाडौं । विश्वभरि महामारी कोरोना महामारीको जोखिम बहन गर्ने बीमा कम्पनीहरुको निर्णय अहिले घाँटीमा अड्किएको हड्डी जस्तै बन्न पुगेको छ । कोरोनाले देशव्यापी रुपमा आतंक सिर्जना गरिरहँदा कोरोना बीमा दाबी भुक्तानी दुई अर्ब बढी रहेको छ । फ्रन्ट लाईनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई सबैभन्दा बढि प्रभावित बनाएको छ ।

कोरोना भाइरसबाट नेपालमा फ्रन्ट लाईनमा खटिने १५ हजार भन्दा बढिमा संक्रमण देखिइसकेको छ । कोरोना भाइरसको संक्रमण तीव्र बन्दै जाँदा कोरोना बीमाविरुद्धको बीमा दावी समेत भयानक आकार ग्रहण गर्दै गरेको पाइएको छ । कोरोना बीमाको दावी २० हजार भन्दा नाघिसकेको बताइएको छ ।

कोरोना बीमाको दावीका लागि बीमा पुलमा मात्रै १० हजार भन्दा बढि फाइल लाईनमा छन् भने १० हजार भन्दा बढि फाइल कागजात तयार पार्ने क्रममा रहेको बताइएको छ । यी सबै दाबी भुक्तानी गर्दा दुई अर्ब नाघिसकेको छ । बीमा पुलमार्फत बीमा समितिमा प्राप्त भएको विवरण अनुसार कोरोना बीमाको दावी एक अर्ब नाघेको भए पनि अनौपचारिक रुपमा संकलन गरिएको तथ्याङ्कमा दुई अर्व नाघिसकेको छ ।

नेपाल सरकारले सबै सरकारी कर्मचारीको कोरोना बीमा गर्ने र कोरोना बीमाको रकम राज्य कोषबाट बुझाउने चालु आबको बजेटमै व्यवस्था गरेका कारण छ लाख भन्दा बढि कर्मचारीहरुको कोरोना बीमा गरिएको छ । कोरोना महामारीविरुद्धको मोर्चामा फ्रन्टलाइनमा खटिएका ११ हजार आठ सय ११ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

नेपाल प्रहरीका ६ हजार १४ जनालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै, नेपाली सेनाका ४ हजार १ सय ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने यस्तै सशस्त्र प्रहरी बलका १ हजार ६ सय ९१ जनालाई कोरोना संक्रमण भएको छ । सुरक्षाकर्मी मात्रै ११ हजार ८११ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

सो मध्ये अधिकांशको बीमा गरिएको छ । त्यस्तै, सरकारी कर्मचारी करिब दुई हजार, बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु करिब पाँच हजारको संख्यामा कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । उल्लेखित अधिकांशको कोरोना बीमा गरिएको र ढिलो चाँडो बीमा दावी पर्ने देखिएको छ । तथ्याङ्क अनुसार हालसम्म २१ हजार भन्दा बढि बीमितले कोरोना संक्रमण भएको जानकारी सम्बन्धित बीमा कम्पनीमा गराइसकेका छन् ।

सम्बन्धित समाचार