free website hit counter

खल्तीबाट डिजिटल भुक्तानी गर्दा दैनिक १ लाख र पाक्षिक १० लाख जित्ने मौका

beemaadmin
२०८३ श्रावण २४, आईतवार

काठमाडौं । आईएमई खल्ती लिमिटेड (खल्ती) ले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा आफ्ना प्रयोगकर्तालाई सहभागी गराउने व्यवस्था गरेको छ।

अब खल्तीमार्फत १०० रुपैयाँभन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता स्वतः दैनिक तथा पाक्षिक उपहार योजनामा सहभागी हुनेछन्।

कार्यक्रमअन्तर्गत दैनिक एक जना विजेताले कर कट्टीपछि १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, प्रत्येक १५ दिनमा एक जना बम्पर विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

खल्तीका अनुसार योग्य कारोबारको विवरण सुरक्षित प्रणालीमार्फत स्वतः आन्तरिक राजस्व विभागको प्लेटफर्ममा पठाइनेछ। योग्य कारोबार सम्पन्न भएपछि उपहार कुपनसमेत स्वचालित रूपमा सिर्जना हुनेछ। प्रयोगकर्ताले उक्त कुपन खल्ती एपमै हेर्न सक्नेछन्।

आन्तरिक राजस्व विभागले प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणालीमार्फत विजेता छनोट गर्ने जनाएको छ। विजेतालाई मोबाइल फोन तथा इमेलमार्फत जानकारी गराइनेछ। खल्तीमार्फत विजेता बनेका प्रयोगकर्तालाई कम्पनीले पनि विभिन्न माध्यमबाट जानकारी गराउने जनाएको छ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सरकारको डिजिटल कर प्रणालीलाई प्रभावकारी बनाउन सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले डिजिटल भुक्तानीको विस्तार, वित्तीय पारदर्शिता प्रवर्द्धन तथा औपचारिक अर्थतन्त्रको विस्तारमा खल्तीले निरन्तर योगदान गर्ने बताए।

सम्बन्धित समाचार