काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई शुक्रबार बिहान देशकै प्रमुख धार्मिकस्थलमध्ये एक इमाम रेजा दरगाहमा अन्त्येष्टि गरिएको छ। सरकारी सञ्चारमाध्यमका अनुसार उत्तरपूर्वी शहर मशहदस्थित उक्त दरगाहमा सम्पन्न अन्त्येष्टिमा लाखौं समर्थक सहभागी भएका थिए।
अन्त्येष्टिअघि इरानभर साताव्यापी शोक यात्रा सञ्चालन गरिएको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ती कार्यक्रममा पनि दसौं लाख मानिस सहभागी भएका थिए।
यद्यपि, खामेनीका छोरा तथा वर्तमान सर्वोच्च नेता मोज्तबा अली खामेनी भने अन्त्येष्टि समारोहमा उपस्थित भएनन्। उनी युद्ध सुरु भएयता सार्वजनिक रूपमा नदेखिएको उल्लेख गरिएको छ।
रोयटर्सका अनुसार अमेरिका–इजरायलले गरेको आक्रमणमा मोज्तबा गम्भीर घाइते भएका थिए। उनको अनुहारमा गम्भीर चोट लागेको तथा हातखुट्टामा समेत क्षति पुगेको बताइएको छ। तेहरानका उच्च स्रोतहरूलाई उद्धृत गर्दै रोयटर्सले उनी उपचारपछि स्वास्थ्यलाभ गरिरहेका भए पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ।
सम्भावित थप अमेरिकी आक्रमणको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले पनि उनको सार्वजनिक उपस्थितिमा कडाइ गरिरहेको बताइएको छ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको पहिलो आक्रमणमै आयतोल्लाह अली खामेनी मारिएको इरानी पक्षले जनाएको थियो। यद्यपि, अमेरिका र इरानबीच गत महिना युद्धविराम भए पनि पछिल्ला दिनहरूमा दुई देशबीचको तनाव पुनः बढ्दै गएको छ।
यही पृष्ठभूमिमा इरान र इराकका विभिन्न स्थानमा एक सातादेखि शोक यात्रा, श्रद्धाञ्जली सभा र अन्त्येष्टिसम्बन्धी कार्यक्रम आयोजना गरिएका थिए। बिहीबार खामेनीको शवलाई ट्रकमार्फत मशहदका मुख्य सडक हुँदै इमाम रेजा दरगाहसम्म पुर्याइएको थियो।
सुनौलो गुम्बज र मिनारले सजिएको दरगाहतर्फ शव लैजाँदा सेता पगडीधारी धर्मगुरुहरू ट्रकसँगै हिँडेका थिए भने कालो पोसाकमा रहेका हजारौं समर्थकले इरानी राष्ट्रिय झण्डा, खामेनीका तस्बिर र क्रान्तिकारी नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।
रोयटर्सका अनुसार इरानी धार्मिक नेतृत्वले व्यापक जनसहभागितामार्फत राष्ट्रिय एकता र शक्ति प्रदर्शन गर्ने उद्देश्यले यी कार्यक्रमहरू आयोजना गरेको हो।