free website hit counter

गरिबीको रेखामुनि रहेकालाई सरकारले सुविधा दिएर बीमाभित्र समावेश गर्नुपर्छ

beemaadmin
२०७७ फाल्गुन २५, मंगलवार

० बीमा क्षेत्रमा साढे दुई दशकभन्दा बढी समय व्यतित गरिसक्नुभएको छ । यो समयमा नेपालको बीमा क्षेत्रलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
– नेपालको बीमा क्षेत्र जतिबेला म मार्केटिङमा थिएँ, त्यो बेला समग्र निर्जीवन बीमा नै वर्षमा झन्डै चार÷पाँच अर्बभन्दा बढीको व्यापार पनि थिएन । आजका दिनमा झन्डै २७ अर्ब पुगेको छ । हरेक वर्षमा एक अर्बले बजार विस्तार हुँदैछ । कुनै समय १५ देखि १६ प्रतिशतको वृद्धि भएको थियो । एक पटक २५ प्रतिशतको वृद्धि पुगेको बजार फेरि अहिले घटेर १५ प्रतिशतको हाराहारीमा छ । कोरोनाको समयमा व्यवसाय घट्नु त स्वभाविकै हो । अहिले पनि ९ देखि १० प्रतिशतको हाराहारीमा छ । बीमा क्षेत्र सम्भावना र अवसर बोकेको क्षेत्र हो । जुन कुरा बिस्तारै देखिँदै पनि छ ।

० नेपालको सन्दर्भमा बीमाको भविष्य र महत्व कस्तो देख्नुहुन्छ ?
– राष्ट्रिय अर्थतन्त्रमा बीमा व्यवसायको ठूलो योगदान छ । सन् २०२६ देखि नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशीलमा स्तरोन्नति हुने भएको छ । स्तरोन्नतिमा लागि अन्य क्षेत्रको जस्तै बीमाको पनि महŒवपूर्ण भूमिका रहन्छ । यसमा हामीले प्रायः सबै नेपालीलाई बीमाको दायरामा ल्याउन सक्नुपर्छ । अहिले कुल जनसङ्ख्याको २७ प्रतिशत मानिस बीमाको दायरामा छन् । बीमा कम्पनीहरूले आफ्नो क्षेत्र पनि बढाउँदै लैजानुपर्छ ।

० यसका लागि सरकारले के के गर्नुपर्ला ?
– सरकारले शिक्षाको क्षेत्रमा पनि बीमा अनिवार्य गरी सबैलाई समान अवसर प्रदान गर्नुपर्छ । जोखिमयुक्त क्षेत्रको अध्ययन गरी बीमकहरू नयाँ क्षेत्रमा जानु आवश्यक देखिन्छ । त्यस्ता योजना सञ्चालनमा ल्याउन बीमा समितिले सहयोग गर्नुपर्छ । सरकारको आर्थिक नीतिअनुसार बीमा क्षेत्रले नयाँ नीति लिने हो । हामीले आर्थिक नीतिलाई सहयोग गर्दै आएका छौँ तर बीमालाई बैङ्किङ क्षेत्र जस्तै महŒव दिनुप¥यो । सरकारले ग्रामीण अर्थतन्त्रलाई विकास र सबल बनाउने नीति अख्तियार गरेमा बीमा क्षेत्रले सघाउँछ । उदाहरणका लागि कृषिमा अधिक जोखिम हुने डरले युवा पुस्ता आकर्षित नहुँदा कृषि बीमाको नीति अघि सारिएको हो । सबै निर्जीवन बीमा कम्पनीले कृषि बीमालाई अघि बढाइरहेका छन् । हामीले कृषि बीमालाई निश्चित फाइदाका लागि मात्र नभएर सामाजिक उत्तरदायित्व पूरा गर्न पनि गरिरहेका छौँ । विकासशील मुलुकमा स्तरोन्नतिका लागि ग्रामीण अर्थतन्त्र विकासमा जोड दिनुपर्छ । ग्रामीण क्षेत्रमा हुने विकासका कार्यको जोखिम धारणका लागि लघु बीमालाई अझै व्यापक बनाउनु आवश्यक छ । सरकारले गरिबीको रेखामुनि रहेकालाई केही सुविधा दिएर बीमाभित्र समावेश गर्नुपर्छ । त्यसको उपयुक्त माध्यम भनेको बीमा हो ।

० भूकम्पपछि समग्र बीमा व्यवसायबारे आमजनतामा राम्रो सन्देश जानुपर्ने हो, त्यस्तो देखिएन किन हो ?
– अर्थतन्त्रको विकास र विस्तारले बीमाको बजार र दायरा बढ्छ । समग्र मुलुकको राजनीतिक अवस्थाबाट सोझै प्रभावित हुने यो व्यवसायलाई अनुकूल वातावरण चाहिन्छ । अर्थतन्त्र राम्रो हुँदै जाँदा यसको बजार र दायरा बढ्ने हो र त्यसका लागि जनचेतना र शिक्षा पनि चाहिन्छ । अहिले पनि धेरै मानिसमा बीमामा तिरेर केही हुँदैन भन्ने मानसिकता छ । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछिको अवस्था हेर्दा पनि धेरै सङ्ख्यामा बीमाको सुविधा उपभोग गर्नबाट वञ्चित भए । भूकम्पलगत्तै बीमा गर्नुपर्छ भन्ने सन्देश प्रवाह भएको हो । लगत्तै मलुकमा नाकाबन्दीले बीमालाई भुलाइदियो ।
बीमाका बारेमा त्यस्तो सा¥है नराम्रो सन्देश गएकोजस्तो लाग्दैन । विगतमा केही कमजोरी भएका होलान्, त्यसको आवश्यक अध्ययन हुन आवश्यक छ । बीमाबारेको आमअपेक्षा, सोचाइ, धारणामा झ्वाट्टै परिवर्तन आउँछ भन्ने मलाई पनि लागेको हो तर हाम्रो चाहना एकातिर र यथार्थ अर्कोतिर भएजस्तो छ । तथापि अहिले बीमा क्षेत्रका लागि ठूलो अवसर छ, थियो र अझै पनि हुनेछ । अहिले जुन पीडित, बीमालेख लिनेहरूलाई समयमै बिनाझन्झट ठीक ढङ्गले थोरै कागजातमा दाबी भुक्तानी दिन सके मात्र जनमानसमा भएको धारणामा परिवर्तन आउँछ । भविष्यमा बीमाको दायरामा थप आउने भएकाले बीमा क्षेत्रले ठूलो अवसर प्राप्त गर्ने सम्भावना छँदैछ ।

० कोरोना बीमालेख जारी भएर दाबी दिँदासम्म धेरै चर्चाको विषय बन्यो । यसको ढिलासुस्तीले त समग्र निर्जीवन बीमाका बारेमा नराम्रो सन्देश पनि गयो नि ?
त्यसरी भन्न त मिल्दैन । अलिकति अभ्यास नभई आएको हो यो पोलिसी । हामीसँग तथ्याङ्क पनि थिएन । खासै दाबी नआउला भन्ने सोच पनि थियो । यसमा हाम्रो अनुभव नभएकाले केही कुरा सिकायो । आजको दिनमा व्यवस्थापन नभई बीमा गर्दा अप्ठ्यारो आउँदो रहेछ । सबै पुलबाट गर्दा । फेरि समय–समयमा संशोधन पनि भएको हो । अहिलेसम्म दाबी पनि निकै परेको अवस्था छ । झन्डै कुल सङ्क्रमितको ३० देखि ३५ प्रतिशत दाबी परेको छ । झन्डै ८० हजार दाबी होला । त्यसमा ६० हजारभन्दा माथि पाइपलाइनमा गइसकेको छ । भुक्तानी पनि भइरहेको छ । ढिलाइ भएकै हो ।
विश्वका अन्य देशमा महामारीको बीमा गर्ने प्रचलन छैन । नेपालको निर्जीवन बीमा क्षेत्रले कोभिड–१९ को बीमा गरेर महामारीको पनि बीमा गर्न सकिन्छ भन्ने सन्देश विश्वलाई दिएको छ । सुरुमा नेपालमा रहेका २० वटै बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, नेपाल बीमक सङ्घ र बीमा समितिसमेतको संलग्नतामा हामीले महामारीको बीमाभन्दा पनि कोभिडबाट सङ्क्रमित हुने व्यक्तिलाई तुरुन्त राहतस्वरूप ५० हजार र एक लाख रुपियाँ बराबरको बीमा गरेका थियौँ । पछि यसमा सुधार गर्दै जानुपर्ने देखिएपछि बीमक सङ्घ र बीमा समितिको पहलमा समयसापेक्ष परिवर्तन गरिएको हो ।

० अहिले कम्पनीको अवस्था कस्तो छ ?
– हिजोको दिनमा माइनसबाट सुरु भएको कम्पनी हामीले लिएदेखि नाफामा छ । दोस्रो त्रैमासमा १२३ प्रतिशतले वृद्धि ग¥यौँ । बोनस सेयर पनि बाँडेकै हो ५–६ प्रतिशत । यसपालि पनि ७ प्रतिशत बाँड्ने भनेर निधो गरेको छ । कम्पनीको व्यापार र व्यवसायमा आफ्नै किसिमले वृद्धि भएको छ भने कम्पनीले गर्ने सेवा सुविधा, दाबी भुक्तानीमा कुनै किसिमको ढिलाइ नगरिकन गर्दा कम्पनीको साखमा वृद्धि भएको छ ।
हाम्रो लगानी १८२ करोडभन्दा बढी छ, दाबी हरेक वर्ष ५० करोडभन्दा माथि नै तिरिरहेका छौँ । व्यापारको हिसाबले हेर्ने हो भने हामीले अघिल्लो साल १२६ करोड गरेका थियौँ, गत साल १३७ करोड ग¥यौँ र यो साल पनि राम्रो छ । समग्रमा भन्दा हामी हाम्रो लक्ष्यभन्दा अगाडि छौँ ।

० निर्जीवन कम्पनीको भीडमा आईजीआईलाई नै छान्नुपर्ने कारण के छ ?
– आईजीआईलाई छान्नुपर्ने कारण हाम्रो भावना के छ भने सरल ढङ्गबाट अगाडि बढ्नुपर्छ । कभर गर्दा राम्रो र दाबी दिँदा पनि राम्रो हिसाबमा जानुपर्छ भन्ने सोच हाम्रो छ । लिँदा र दिँदा राम्रोसँग गर्नुपर्छ भन्ने हाम्रो जोड रहन्छ । पोजिसनको हिसाबले हामी आठौंँमा छौँ । व्यवसायको हिसाबले नयाँनयाँ पोलिसी ल्याउने र त्यसलाई कसरी अगाडि बढाउने भनेर गरिरहेका छौँ । पछिल्लो अवस्थामा डिजिटलाइजेसनमा जोड दिइरहेका छौँ ।
सायद हाम्रा यस्तै कुरा हेरेर होला अमेरिकाको इन्टरनेसनल ब्रान्ड कन्सल्टिङ कर्पोरेसनले प्रदान गरेको एसिया मोस्ट ट्रस्टेड अवार्ड २०१९ पाएका छौँ । कम्पनी स्थापना भएको समयदेखिको व्यवसाय वृद्धि, विश्सनीयता, दाबी भुक्तानी, प्रिमियम सङ्कलनलगायतका कुरामा आधार बनाएर दिइने यो अवार्ड एसियाबाटै पाउने हामी मात्रै हौं ।

० बीमा कम्पनीमा पनि एनएफआरएस लागू भइसकेको छ तर बीमा कम्पनीमा समस्या भएको भनिन्छ नि ?
– बीमा भनेको सम्पत्ति नभई दायित्वमा चल्ने भएकाले यस विषयमा बैङ्कसँग बीमा कम्पनीलाई तुलना गर्न मिल्दैन । नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) डाटाबेसमा चल्ने भएको हुनाले यो राम्रो कुरा हो । कम्पनीहरूलाई झन् बलियो बनाउँछ । यो लागू भएपछि बीमा कम्पनीहरूलाई समयमा वार्षिक प्रतिवेदन तयार गरी साधारण सभा गर्न केही समस्या भएको हो ।
बैङ्कले बीमाङ्कित मूल्याङ्कन (एक्चुआरियल भ्यालुएसन) गराउँदा कर्मचारीसँग सम्बन्धित प्रावधानमा मात्र गर्छ तर बीमाको हकमा बीमा शुल्कमा, भुक्तानी गर्न बाँकी दाबीमा, कर्मचारी सम्बन्धित दायित्वमा गराउनुपर्छ । त्यसैले वर्षभरको प्रत्येक बीमालेखको भ्यालुएसन गराउनु त्यति सजिलो छैन । अर्कोतिर यो सुविधा नेपालमा छैन, हामीले भारतबाट भ्यालुएसन गराउँदै आएका छौँ, त्यसैले समय लाग्नु स्वाभाविक नै हो ।

० मर्जरमा जाने के छ योजना ?
साधारण सभाबाटै मर्जरका लागि पारित भएर स्वीकृति दिने र जिम्मेवारी दिने भएको छ, प्रक्रियामै छ ।

० कम्पनीको योजना र लक्ष्यमा कोरोनाले के के असर ग¥यो ?
– कोरोनामा समग्र व्यवसाय घटेको छ । एउटा घटेको छ भने अर्को बढेको पनि छ । समग्रमा यो समयमा पनि ५ प्रतिशतको वृद्धि भएको छ । यस्तो समयमा पनि यो वृद्धिलाई सन्तोषजनक मान्नैपर्छ ।

० केही त सिकायो पनि होला । के के सिकायो त ?
– कोरोनाले व्यवसाय गर्दा कम्पनीलाई सकेसम्म डिजिटलाइजेसनमा लैजानुपर्ने कुरा राम्रोसँग सिकायो । स्वास्थ्यको मापदण्डमा सजग हुनुपर्नेदेखि सिस्टममा रहनुपर्ने, सुशासनमा रहनुपर्ने, कर्मचारीलाई मोटिभेसनलगायतका कुरालाई ध्यानदिनुपर्ने देखियो । स्वास्थ्यको छुट्टै एकाइ नै बनाउनुपर्ने हो कि जस्तो पनि देखियो । कोरोनाजस्तै फेरि अरू कुनै भाइरस नआउला भन्ने अवस्था रहेन ।

० बीमा क्षेत्रमा समस्या के के देख्नुभयो ?
– हामीले परम्परागत व्यवसाय मात्रै देख्यौँ । यसलाई डाइभर्सिफाई गर्नेतर्फ लागेनौँ । जहाँ नाफा हुन्छ त्यहीँ मात्रै फोकस भयौँ । सकेसम्म माइक्रो लेबलबाट सुरु गरेको भए आज रिटेल बिजनेसमा माथि आउने थियौँ । बीमाको पहुँच त्यसैबाट पाउने हो । अहिले त बैङ्क बीमाको बाध्यात्मकजस्तो मात्रै भयो । बैङ्कले जे भन्छ, त्यहीअनुसार गर्यो । टाठाबाठाले मात्रै बीमा गर्नेजस्तो देखियो । हाम्रो चाहना भनेको बीमालाई कसरी विकास गर्ने र बीमाको उपयोगिताबारे सुसूचित गर्नेतर्फ लाग्नुपर्छजस्तो लाग्छ ।

(भेषराज बेल्बासे, गोरखापत्र)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार