काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमा अभिकर्ताहरूलाई गलत तथा भ्रामक प्रचारप्रसार नगर्न निर्देशन दिएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमन पराजुलीले सार्वजनिक सूचना जारी गर्दै नेपाल बीमा प्राधिकरणको निर्देशन तथा कम्पनीको अभिकर्ता आचारसंहिता विपरीतका गतिविधि नगर्न अभिकर्ताहरूलाई सचेत गराएका हुन्। नियम उल्लङ्घन गरी गलत वा भ्रामक प्रचारप्रसार गरेको पुष्टि भएमा प्रचलित कानुनअनुसार कारबाही गरिने कम्पनीले जनाएको छ।
नेपाल बीमा प्राधिकरणले सोमबार ध्यानाकर्षण सूचना जारी गर्दै केही बीमा मध्यस्थकर्ताले विभिन्न बीमकको व्यवसायमा प्रतिकूल असर पर्ने गरी गलत तथा भ्रामक प्रचारप्रसार गरिरहेको उजुरी प्राप्त भएको जनाएको थियो।
प्राधिकरणले बीमा अभिकर्तासम्बन्धी निर्देशिका, २०८३ को निर्देशिका नं. १९ अन्तर्गत अनुसूची १ को बुँदा नं. २ (ज) मा रहेको व्यवस्थालाई कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। उक्त व्यवस्थाअनुसार अभिकर्ताले आफू अभिकर्ता नभएको बीमकका विषयमा वा आफूले प्रतिनिधित्व गर्ने बीमकको क्षमता सम्बन्धमा गलत, अतिरञ्जित वा भ्रामक प्रचार गर्न पाउँदैनन्।
यसै आधारमा नेपाल लाइफले पनि आफ्ना अभिकर्तालाई प्राधिकरणको निर्देशन पालना गर्न आग्रह गरेको हो।
कम्पनीले २०८३ वैशाख ९ गतेदेखि लागू गरेको अभिकर्ता आचारसंहिताको दफा २.२५ ले सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट कम्पनीको छवि बिगार्ने, गलत सूचना फैलाउने वा भ्रामक प्रचार गर्ने कार्यलाई निषेध गरेको छ।
कम्पनीका सीईओ पराजुलीले आचारसंहिता तथा प्रचलित कानुनविपरीत भ्रामक प्रचारप्रसार गरेको पुष्टि भएमा सम्बन्धित अभिकर्तामाथि कडा कारबाही गरिने स्पष्ट पारेका छन्।
बीमा क्षेत्रमा अभिकर्तामार्फत हुने प्रचारप्रसारलाई थप व्यवस्थित, मर्यादित र तथ्यमा आधारित बनाउन नियामक तथा बीमा कम्पनीहरूले पछिल्लो समय आचारसंहिता पालनामा जोड दिँदै आएका छन्।