काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुमा एन्जियोप्लास्टी सर्जरी गरिएको छ। काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाख राष्ट्रिय हृदय केन्द्रमा मन्त्री श्रेष्ठको मुटुको सर्जरी गरिएको हो। चीनको भ्रमणमा रहेका बेला गत असोज ३० गते, गृहमन्त्री श्रेष्ठलाई मुटुमा समस्या देखिएको थियो। त्यसपछि उनलाई चीनमै अस्पताल भर्ना गरिएको थियो। चिकित्सकहरुले त्यतिबेला उनको मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको भनेका थिए। चीनमा आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखामा अवरोध भएको देखिएको थियो। चीनमा उपचार गर्दा गरिएको स्वास्थ्य परीक्षणमा श्रेष्ठको मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको थियो। उक्त अवरोध रहेको भागमा मंगलबार गंगालाल राष्ट्रिय हृदय केन्द्रमा डा अरुण मास्के समेतको चिकित्सकीय टोलीले एन्जियोप्लास्टी सर्जरी गरेको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन्। मन्त्री श्रेष्ठ हाल उघन उपचार कक्ष ९आईसीयू०मा उपचाररत रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको गृह मन्त्रालयका प्रवक्ता भट्टराईले जानकारी दिएका छन्। यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन्। गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेर प्रधानमन्त्री प्रचण्डले मन्त्री श्रेष्ठको स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन्।