free website hit counter

गृहमन्त्रीको राजीनामा माग्दा रोकियो रविको जेल सरुवा

beemaadmin
२०८२ जेष्ठ २७, मंगलवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट डिल्लीबजार सरुवा गर्ने योजना तत्काललाई रोकिएको छ। लामिछानेले सरुवा माग गर्दै अदालत र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिइसकेको भए पनि गृहमन्त्रीको निर्देशनमा कारागार व्यवस्थापन विभागले सरुवाको निर्णय रोकेको हो। रूपन्देही अदालतले खोजेका बखत उपस्थित गराउने सर्तमा डिल्लीबजार सरुवा गर्न अघिल्लो साता नै अनुमति दिएको थियो। अदालतको अनुमतिपछि लामिछानेको तर्फबाट जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा अनुमति मागियो। प्रशासनले पनि परिवारको निवेदन र अदालतको अनुमतिसहित कारागार कार्यालय रूपन्देहीमा पत्र पठायो। लगत्तै कारागार कार्यालय रूपन्देहीले उनको सरुवाका लागि कारागार व्यवस्थापन विभागमा पत्र पठायो। तर कारागार व्यवस्थापन विभागले भने उनलाई सरुवा गर्न तत्काल निर्णय नगर्ने भएको छ। स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले रविलाई सरुवा गर्ने निर्णय तत्काललाई थाती राख्न निर्देशन दिएका हुन्। विभागको ढिलाइप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले भने असन्तुष्टि जनाएको छ। रास्वपा सहमहामन्त्री प्रतिभा रावलले अदालतको आदेश, प्रशासनको सिफारिससहित भैरहवाबाट कारागार व्यवस्थापन विभागमा आइसकेको भए पनि विभागले निर्णय नदिएको भन्दै असन्तुष्टि जनाइन्। भैरहवा कारागारले भने रविको तर्फबाट माग गरेलगत्तै सबै कागजात विभागमा पठाइसकेको छ। कैदी बन्दीलाई एउटा कारागारबाट अर्को कारागारमा चारवटा कारणले सरुवा गरिन्छ। बिरामी भएमा, अदालतको प्रक्रियाका लागि, कारागारमा कैदीबन्दीबीच लफडा भएमा र कैदीबन्दीले घरपायकको कारागार माग गरेमा। रवि भने घरपायकको कारागारमा सरुवा हुन चाहेका हुन्। बिरामी भएर सरुवा हुने कैदीबन्दीका लागि डाक्टरले रिफर गरेर पठाउँछन्। यस्ता कैदीबन्दी बसेको कारागारमा उपचारको राम्रो व्यवस्था नभएको अवस्थामा उपचारको व्यवस्था भएको कारागारमा सरुवा गरिन्छ। बिरामी कैदीलाई प्रायः केन्द्रीय कारागार सुन्धारामा सरुवा गरिन्छ। यहाँको कारगारमा अस्पताल र विद्यालयको व्यवस्था छ। बिरामी कैदीबन्दीलाई तत्कालै सरुवा गरिने कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए। अर्को, अदालतले नै एक ठाउँबाट अर्को ठाउँमा लैजान आदेश दिन्छ। एकभन्दा बढी ठाउँमा मुद्दा चलेको हकमा यस्तो आदेश हुन्छ। यस्तालाई पनि नरोकिने र तत्काल निर्णय गरेर सरुवा गरिने भट्टराई बताउँछन्। यस्तोमा पनि विभागले पत्र कुर्दैन। पत्र आउँदै गर्दा नै कैदीबन्दी सरुवा भइसक्छन्।

सम्बन्धित समाचार