free website hit counter

गोल्डेन बुटको दौड रोमाञ्चक, मेसी अगाडि तर एम्बाप्पे अझै दाबेदार

beemaadmin
२०८३ श्रावण १, शुक्रबार

काठमाडौं। फिफा विश्वकप २०२६ को गोल्डेन बुटको प्रतिस्पर्धा अन्तिम दुई खेलसम्म पुग्दा थप रोमाञ्चक बनेको छ। तेस्रो स्थानका लागि हुने प्लेअफमा गरिएका गोल पनि आधिकारिक गोल संख्यामा गणना हुने भएकाले सेमिफाइनलबाट बाहिरिएका खेलाडीहरूको पनि गोल्डेन बुट जित्ने सम्भावना जीवित रहेको छ।

हालसम्म अर्जेन्टिनाका कप्तान लियोनल मेसी र फ्रान्सका किलियन एम्बाप्पे समान आठ–आठ गोलसहित शीर्ष स्थानमा छन्। तर मेसीको नाममा एक असिस्ट बढी रहेकाले उनी अहिले गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन्।

नर्वेका एर्लिङ हालान्ड सात गोलसहित तेस्रो स्थानमा छन्। तर नर्वे प्रतियोगिताबाट बाहिरिसकेकाले उनले आफ्नो गोल संख्या बढाउन पाउने छैनन्।

यता इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिङमले समान ६–६ गोल गरेका छन् भने फ्रान्सका उस्मान डेम्बेले र स्पेनका मिकेल ओयार्जाबलले पाँच–पाँच गोल गरेका छन्। तेस्रो स्थानको खेलमा उत्कृष्ट प्रदर्शन गर्न सके उनीहरूले पनि गोल्डेन बुटको प्रतिस्पर्धालाई थप रोचक बनाउन सक्छन्।

शनिबार हुने तेस्रो स्थानको खेलमा इंग्ल्यान्ड र फ्रान्स आमनेसामने हुँदैछन्। यस खेलमा प्रशिक्षकहरूले मुख्य खेलाडीलाई विश्राम दिन्छन् वा पूर्ण टोली उतार्छन् भन्ने कुराले पनि गोल्डेन बुटको प्रतिस्पर्धामा प्रभाव पार्न सक्छ।

विश्वकप इतिहासले पनि तेस्रो स्थानको खेल गोल्डेन बुटको निर्णयमा निर्णायक बन्न सक्ने देखाएको छ। सन् २०१० मा जर्मनीका थोमस मुलर, १९९८ मा क्रोएसियाका डाभोर सुकेर, १९९० मा इटालीका साल्भाटोरे स्किलाची र १९३८ मा ब्राजिलका लियोनिडासले तेस्रो स्थानको खेलमा गरेको प्रदर्शनकै आधारमा गोल्डेन बुट जितेका थिए।

यस्तै १९६६ मा पोर्चुगलका युसेबियो, १९५८ मा फ्रान्सका जस्ट फन्टेन र १९७४ मा पोल्यान्डका ग्रेजगोर्ज लाटोले पनि गोल्डेन बुट जितेका थिए, यद्यपि उनीहरूलाई प्लेअफको गोल निर्णायक बन्न आवश्यक परेको थिएन।

अब शनिबार हुने तेस्रो स्थानको खेल र त्यसपछि हुने अर्जेन्टिना–स्पेन फाइनलले विश्वकप २०२६ को गोल्डेन बुट कसले जित्ने भन्ने अन्तिम टुंगो लगाउनेछ।

सम्बन्धित समाचार