नेपालगन्ज। खाना पकाउने ग्यास लुकाएर राखेको भेटिएपछि नेपालगन्जको एक किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो।
ग्यास लुकाएर राखेको सूचना पाएपछि अनुगमन टोली पसलमा पुगेको थियो। अनुगमनका क्रममा पसलमा बिक्री नगरी लुकाएर राखिएका १३ वटा ग्यास सिलिन्डर फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले जानकारी दिए।
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार पसल सञ्चालकलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ।
अनुगमनका क्रममा उक्त पसलबाट उपभोगका लागि अनुपयुक्त केही सामग्रीसमेत फेला परेको बताइएको छ।
पछिल्लो समय नेपालगन्जमा खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य वस्तुको अभाव तथा अनियमितताबारे गुनासो बढेपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्रता दिएको छ।
केही दिनयता बजारमा खाना पकाउने ग्यासको अभाव देखिएसँगै उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो गर्दै आएका छन्। प्रशासनले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने तथा उपभोक्तालाई समस्या पर्ने गरी सामग्री लुकाउने व्यवसायीमाथि कारबाही गर्ने जनाएको छ।